मनलाई मष्तिष्कले, मष्तिष्कलाई मानव आचरण र व्यवहारले नियन्त्रण गर्दछ । राजनीतिमा नेतृत्वले आफ्नो विचार र नीतिलाई अडानका साथ सन्तुलित तवरले जस्ले राख्न सक्दछ, त्यो नै सफल राजनेता कहलाँउदछ”– महर्षि विदुरले महाराज धृतराष्ट्रलाई सम्झाउदै पाँचगाँउ पाँच पाण्डवलाई दिएर महाभारतको सन्निकट विनास रोक्न अनुनय गरे । महाराज पाण्डवलाई पाँचगाँउ दिन राजि भए । तर, दुर्योधनको अहंकार, सकुनीको खुराफाति कुटनीतिका अगाडि अन्धाराजा धृतराष्ट्रको कुनै जोर चलेन । उनको निर्णय एकपल पनि टिक्न सकेन, अन्तत: महाभारत युद्ध भएरै छाड्यो ।

गत महिना आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गरि संविधान कार्यान्वयन गर्ने भन्दै राजनीतिक निकाशका लागि एमाओवादी अध्यक्ष प्रचण्ड महाभारतका अन्धाराजा धृतराष्ट्रले जस्तै सन्निकट संकट टार्न मधेशमा आन्दोलनरत दलहरू र प्रमुख प्रतिपक्ष दललाई समेत साथमा लिई राष्ट्रिय सरकार बनाउने उनको योजना स्वयं आफैद्वारा असफल हुनपुग्यो । प्रचण्डले आफ्नो प्रयासलाई एकपल पनि टिकाउन सकेनन् । जुन घटनालाई नेपालको राजनीतिमा प्रथम राष्ट्रपतिको निर्वाचनमा भएको राजनीति खेलको दोश्रो संस्करणको रुपमा राजनीतिक विश्लेषकहरूले लिएका छन् । आफ्ना सहयोद्धा मित्र कमरेडहरू तथा प्रतिपक्षदलका नेताहरूलाई नयाँ सरकार निर्माणको न्यूनतम साझा कार्यक्रम बनाउन दिईएको जिम्मेवारी पूरा गर्न लाग्दा अन्तिम अवस्थामा प्रचण्डले लिएको “यु टर्न”ले नेपाली राजनीतिक वृत्तमा प्रचण्डको छेपारे प्रवृत्तिले पुन:एकपटक चर्चा पायो । यद्यपि, कमरेड प्रचण्डले एक टेलिभिजन अन्तर्वाताका क्रममा यो राजनीतिक यु टर्नको खेललाई राजनीतिज्ञमा हुनु पर्ने तिलस्मी गुण भनेर आफ्नो वर्णन स्वयं आफैले गरेका छन् ।

कमरेड प्रचण्डको ढुलमुले अर्थात द्वैध नीतिको यो प्रथम संस्करण भने होइन । २०५२ सालवाट सुरु भएको नेकपा माओवादीको कथित जनयुद्धका सुरुवाति दिनदेखि नै नेपाली जनमानस पुष्पकमल दाहाल (प्रचण्ड)को नामका दोहोरो अर्थ लाग्ने प्रेस–वक्तव्यहरू देखि भित्ते महावाणी मार्फत चीर–परिचित थिए । महान–गौरवशाली पार्टीको चुन्वाङ वैठक पछि सो पार्टीले लिएको अग्रगामी नीति अनुरुप माक्र्सवाद–लेनिनवाद–माओवादलाई प्रचण्ड–पथको नाममा अगाडि वढाएर क.लालध्वज (डा.वावुराम भट्टराई) लगायतलाई वन्धक वनाउनेसम्मका कार्यहरू पनि भएका थिए । राजाको माघ १९ को कदम अघि र पछि माओवादीले लिएको नीति राजनीतिक क्रियाकलाप अवस्था र कदमका वारेमा विभिन्न समयमा स्वदेशी तथा विदेशी विद्धान प्रोफेसर, लेखक, राजनीतिकर्मी, शासक–प्रशासक, तथा उच्च ओहोदामा रहेका व्यक्तिहरूद्वारा व्यक्त विचार र प्रकाशित सन्दर्भ सामाग्रीहरूले पनि यो कुराको पुष्टि गरिसकेको छ ।

विवेक शाहको आत्मवृतान्त “मैले देखेको दरवार”मा तत्कालिन समयमा माओवादीले राजनीतिक दलहरूलाई पाखा लगाउन गोप्य रुपमा दरवारसंग गरेको सहकार्यको वारेमा उल्लेख गर्दै तत्कालिन राजा वीरेन्द्रका भाइ धिरेन्द्र मार्फत दरवारसंग सम्पर्क भएको वताएका छन् । सो समयमा प्रचण्डले एकातिर राजसंस्था नेपालवाटै उन्मुलन गर्नुपर्छ भनेर कार्यकर्तालाई निर्देश दिदैं वक्तव्य वाजि गर्नुहुन्थ्यो भने अर्कोतर्फ दरवारसंग सहकार्य गरि दललाई ठेगान लगाउन प्रचण्ड दोहोरो चालावजिमा रहेको प्रयोगशाला पुस्तकमा सुधिर शर्माले पनि उल्लेख गरेका छन् । त्यसैगरि, २०५९ सालमा भारतमा अटल विहारी वाजपेयीको प्रधानमन्त्रीत्वकालमा भारत सरकारको अहित हुने गरि कुनै क्रियाकलाप नगर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा आफ्नो समेत संलग्नता रहेर प्रचण्डले विन्ती–पत्र हालेको कुरा भारतीय प्रोफेसर एसडी मुनीले नेपाल इन कन्फिल्क्ट पुस्तकमा उल्लेख गरेका छन्, यसैगरि, अर्कोतर्फ माओवादी लडाकुलाई भारतसंग सुरुङ्ग–युद्ध गर्न निर्देशन दिएको कुरा पनि प्रोफेसर मुनिले पुस्तकमा वताएका छन् ।

यसैगरि, द्वन्कालमा पश्चिमीराज्यहरूद्वारा संचालन गरिएका तल्लो तहका जनसमुदायलाई लक्षित कार्यक्रमहरू साम्राज्यवादी, विस्तारवाद भन्दै गाँउ–गाँउबाट निषेध गर्ने तर सोही पश्चिमी मुलुकका राजदूतहरूलाई भूमिगत रुपमा भेटेर क्रिश्चियन धर्म प्रचारकालागि सहयोग पुर्‍याउने हेतुले कार्यक्रम गर्न सहयोग लिएका प्रस∙हरू पनि विभिन्न सन्दर्भ सामाग्रीहरूमा उल्लेखित छन् ।

राजा वीरेन्द्रको वंशनासपछि राजा बनेका ज्ञानेन्द्रसंग सम्पर्क–सुत्र कायम गर्दै ०५८ माघ १९ को समयताका मोहन वैद्य लगाएतका टोलिलाई भारत सरकारले थुनामा राख्दा यता प्रचण्डले वावुराममाथि कारवाहि गरि सफायसम्म गर्न लागेको र दरवारले सो समयमा प्रचण्डलाई दिएको धोका र भारतीयहरूले गरेको खवरदारीका कारण वावुराममाथिको कारवाहि प्रकरण अन्त्य भएको भन्ने सुधिर शर्माको पुस्तक “प्रयोगशाला”मा उल्लेख छ ।

भूमिगतकालमा मात्रै होईन, खुल्ला राजनीतिमा आएपछि पनि प्रचण्डको दोहोरो चरित्र र रुप विभिन्न समयमा स्पष्ट रुपमा देखिएको छ । व्यापारी रामहरी श्रेष्ठको हत्या–प्रकरणदेखि शक्ति खोर र खन्ना गार्मेण्टको चर्चित भिडोयो टेप प्रकरणले पनि उनको द्वैध चरित्र छर्लङ्ग हुन्छ ।

यसैगरि, माओवादी लडाकु शिविर व्यवस्थापनका क्रममा राज्यलाई हतियार वुझाउने क्रममा न्यून मात्र वुझाएर वाँकी खोलाले बगाएको र पहिरोले पुरेको वयानसम्म दिन पछि नपरेका अध्यक्ष प्रचण्डले शिविरमा रहेका लडाकुको नाममा माओवादी हेडक्वार्टरले गरेको अत्याचारका विरुद्ध अन्तराष्ट्रिय समुदायलाई विभिन्न तर्क दिएर गुमराहमा राख्न कोशिस गरे, पछि संयुक्त राष्ट्र संघीय निकायले समेत माओवादी तथा यसका अध्यक्षलाई ध्यानार्कषण गराउन वाध्य भएको थियो ।

कमरेड प्रचण्डले प्रतिस्प्रधी दलका नेताहरूलाई ढाँटेका र छलछामका कुरा गरेको पुलिन्दा नै रहेका पूर्व–प्रधानमन्त्री माधवकुमार नेपालले एक टेलिभिजन अन्तर्वाताको क्रममा वताएका थिए । प्रचण्डको दोधारे चरित्रबाट आँफू आजित भएको भन्दै कमरेड मोहन वैद्यले पार्टी फुटाएर ड्यास माओवादी खोल्न आफूहरू वाध्य भएको वताएका थिए । यसैगरि नयाँ–शक्तिका संयोजक बाबुराम भट्टराईले पनि कमरेड प्रचण्डको छेपारे प्रवृत्तिले आफूहरू आजित भई नेकपा एमाओवादीमा रहन नसकेको बताएका थिए । उनले नयाँ–शक्ति गठनपछि आयोजित पत्रकार सम्मेलनमा प्रचण्डसंग माओवादीका नेता, पूर्वलडाकु, कार्याकर्ताले भर गर्ने आधार नभएको समेत बताएका थिए ।

महर्षि विदुुरले भने झै राजनेता हुन नेतामा विभिन्न गुणहरू आवस्यक पर्दछ । त्यसमध्ये नेताको बोलि व्यवहार र सो बोलिको सफल कार्यान्वयन तथा नेताले लिने अडानले नै उक्त नेताको भविष्य निर्धारण गर्दछ । आम–जनमानसमा नेताको व्यवहारले उसको पार्टीको शाख कायम रहने गर्दछ । नेताले लिएको नीतिका कारण नै उ राजनेता कहलाँउछ । कमरेड प्रचण्डले पनि सिमित वर्गको नेता नभइ राजनेता बन्न आफ्नो छेपारे प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्दै नवजात शिशु संविधानलाई सफल कार्यान्वयन गरे मुलुकले राजनीतिक निकास पाउनुका साथै, प्रचण्ड पनि राजनेताको रुपमा नेपालको इतिहासमा स्थापित हुने थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार