संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, ७ नं. प्रदेश (साविक सुदुरपश्चिमाञ्चल) इतिहासको नयाँ मूलुक स्थित “बेलौरी” भौगोलिक, सांस्कृतिक, सामाजिक, राजनैतिक, कुट्नैतिक, उद्योग–व्यवसाय एवं वाणिज्य तथा व्यापारका दृष्टिले महत्वपूर्ण चर्चित स्थल हो । यतिखेरको अवस्थामा त्यो सान्र्दभिक पनि देखिन्छ । वि.स. १९१६ देखि २०१९ (१०३ वर्ष) सम्म प्रशासनिक केन्द्र रहेको बेलौरीलाई नै नेपाल सरकारले तत्कालीन बृटिस भारत सरकारसित महाकाली (शारदा) नदिमा पुल (व्यारेज) शारदा नहर, महाकाली नहर (नेपालतर्फ) सहितको “SARDA GANGES IRRIGATION AND HIDRO PROJECT 1920 AD” का लागि आवश्यक जमिन नेपाल– भारतबीच सट्टा भर्ना कार्यको सर्वेक्षण एलाइनमेन्ट र जो आवश्यक मनिटरीङ गर्न जिम्मेवारी दिएको थियो ।

२००७ सालको क्रान्ति, २००९ साल भिमदत्त पन्त विद्रोह, २०१८ भदौ १४ को बेलौरी घट्ना, २०३६ को विद्यार्थी आन्दोलन, २०३७ जनमत संग्रह २०४६ को जनआन्दोलन २०६२/०६३ को जनआन्दोलन तथा राष्ट्रिय राजनीतिका विभिन्न घट्ना परिघट्नामा बेलौरीको महत्वपूर्ण भूमिका रहेको ईतिहास छ । कैलाली कञ्चनपुरको सर्वाधिक निकासी पैठारी हुने १ सय ५५ वर्ष पुरानो बेलौरी” भन्सार नाका भन्सारको बैधता पाउने प्रतिक्षामा छ । “बेलौरी” नाका भन्सार किन ? भन्ने सन्दर्भमा ७ नं. प्रदेशका धनगढि र महेन्द्रनगर दुवै नाका भन्सारको अवस्था र बेलौरीको सम्भाव्यता एवं तथ्यसम्बन्धी बुँदाहरू अगाडी सारिएका छन् ।
धनगढी/गौरिफाँटा नाका भन्सारको कमजोर अवस्थाहरू हेर्दा गौरिफाँटा दुदुवा नेशनल पार्कको जंगलभित्र छ । नेपाल सीमादेखि १ कि.मि. दुरिमा रेलवे सेवा थियो जो विगतमा निकासी पैठारीको लागि निकै सुविधाजनक थियो । जंगली जीवजन्तुलाई हानी हुन्छ भनेर आदालती आदेशअनुसार दुदुवा गौरिफाँटा रेलसेवा बन्द हुनुका साथै रेलका पट्री पनि हटाइएको अवस्था छ । गौरिफाँटा – पलिया, यातायात सेवा जोखिमपुर्ण पनि छ । सूर्योदय र सूर्यास्तका बीच (दिनमा) मात्र यातायातका साधन चल्छन् । खुल्ला साधनहरू हिंस्रक जीवजन्तुबाट खतरा मुक्त छैन । बेला– बेलामा प्रहरी स्कटिङ गरेर मात्र बस सेवा चलाइन्छ । गौरिफाँटाबाट ३५ कि.मि.टाढा पलिया बजारमा कष्टम आफिस रहन गएको छ जो व्यावहारिक पनि छैन ।

महेन्द्रनगर/बनवर्षा नाका भन्सारको कमजोर अवस्थाहरू पनि रहेका छन । जसमा महाकाली (शारदा) नदिमा बनेको व्यारेज (पुल) ९५ वर्ष पुरानो जिर्ण अवस्थाको छ । २० औँ शताब्दीको पुर्वाधा (सन् १९२० मा शिलन्यास र १९२८ मा उद्घाटित पुल एकसरो छ । हल्का साधन जिप/कार र रिक्सा टांगासमेत दोहोरो पास हुँदैन । भारवहन गाडी, ट्रक, ट्याङकर आदि एकतर्फी पनि चल्न सक्ने अवस्था छैन । दिनमा (विहान, दिउँसो र बेलुका) गरि ६–७ घण्टाका लागि मात्र पुृल खुला रहन्छ ।

समयलाई व्यावहारिक नजरले हेरेमा एक वर्षमा ९ महिना समयावधी बन्द रहन्छ, भने ३ महिना मात्र खुला रहन्छ । बनवे भएकोले हिसाब गर्दा १ महिना १५ दिन मात्र खुला रहन्छ ।
बर्षायाममा बढि पानी भएमा पूल बन्द रहन्छ, १५ दिनसम्म पनि बन्द भएमा त १२ महिनामा ११ महिना समय अवधी बन्द रहन्छ र १ महिना समय अवधी मात्र ख्ुला रहन्छ ।
प्रस्तावित बेलौरी – खजुरिया नाका भन्सारका सकारात्मक बुँदाहरूमा कैलाली कञ्चनपुरका प्रमुख शहर धनगढि बाट २२ कि.मि. पश्चिम र महेन्द्रनगरबाट ४० कि.मि. दक्षिणपूर्वमा छ । नबोदीत शहरोन्मुख बजार अत्तरियाबाट पनि ४० कि.मि. दक्षिण पश्चिममा रहेको छ । बेलौरी लामो समयसम्म कैलाली कञ्चनपुरको प्रशासनिक केन्द्र रहि आएको हो । बेलौरी कञ्चनपु्र जिल्लाको १०३ वर्ष (सन् १८६० देखि १९६२ सम्म) सदरमुकाम रहेको हो । बेलौरी बजार नवघोषित बेलौरी नगरपालिका केन्द्र तोकिएको छ । बेलौरी विगतमा कैलाली कञ्चनपुरकै सर्वाधिक निकासि पैठारी हुने भन्सार पनि हो । यो भन्सार १५५ वर्ष पुरानो भन्सार हो । बेलौरीक्षेत्र भन्नाले कञ्चनपुर जिल्लाको आधा भन्दा बढि भाग जनाउँछ । यस क्षेत्रमा घना बस्ती छ र उर्वर जमिन छ, २ ओटा ठुला चिनी मिल, १ डिस्टलरी, ८० ओटा गुँड उत्पादन गर्ने कोलु, दर्जन बढि राइस तथा आइल मिलहरू, ईटा भट्टा, टायल भट्टा, फर्निचर उद्योग आदि छन् ।

नवोदित बेलौरी बजारमा इतिहासको चन्द्रगढी– बेलौरी हुलाकी मार्ग (झापा– कञ्चनपुर) हुलाकी सडकको मिलान भएको छ । निकट भविष्यमा नै बेलौरी बृहत्तर औद्यौगिक र वाणिज्य व्यापारको शहर बन्ने प्रचुर सम्भावना छ । बेलौरी खजुरिया नाँका भन्सार दुुदुवा नेशनलपार्क र शुक्लाफाँटा बन्यजन्तु आरक्षणमा भ्रमण गर्ने पर्यटकको लागि उपयुक्त अध्यागमन विन्दु बन्ने छ । बेलौरी खजुरिया (भारतीय सिमा क्षेत्रको बजार) बीचमा कुनै नदीनाला छैनन् । १० गजा सीमा स्तम्भहरूले सीमाना छुट्याएको छ । दुवै तर्फको सिमा इलाकासम्म खुला आवादि क्षेत्र छ । नेपाल भारत सीमा विन्दुमा नेपालतर्फको ३० कि.मि. लामो बेलौरी– कलुवापुर (मदन आश्रित) सहायक राजमार्ग र भारत तर्फको २७ कि.मि. लामो खजुरिया – पुरनपुर सवहाईवे राजमार्गको मिलान भएको क्षेत्र पनि हो ।

खजुरिया बजारमा २ ओटा मुुख्य राजमार्गहरूको मिलान भएको छ । खजुरियाबाट भारतको केन्द्रिय राजधानी नयाँ दिल्ली प्रान्तिय राजधानी लखनउ, उद्यौगीक व्यापारिक शहरहरू, बरेली, कानपुर, रुद्रपुर, हल्द्वानी, मुरादावाद, काँसीपुर, हरिद्वार, सितापुर, लगायत गोरखपुर, गोण्डा, लखिनपुर पलियाकला, पुरनपुर आदि दर्जन बढि सहरसम्म यातायात सञ्जाल सूलभ छ । निकटतम् रेलवे हेड पुरनपुर रहेको छ भने मैलानी, पलियाकर्ला, रेल स्टेशन पनि समिपमानै छन् ।

प्रस्तावित बेलौरी– खजुरिया नाका भन्सारका लागि सीमावर्ती भारतीय बजारका उद्योगी व्यापारीहरूको माग अनुसार जनप्रतिनिधी (संसद) समेतबाट केन्द्रिय सरकारसमक्ष माग गरेकोमा केन्द्र सरकारले समेत माग सम्बोधन गर्ने समाचार भारतीय प्रसिद्ध दैनिक अखबार दैनिक जागरण फरवरी २२ सन् २०१५ को अंक पृष्ठ २ मा प्रकाशित समाचारबाट पनि अवगत भएको छ । नेपाल तथा भारत सरकारले सीमा क्षेत्रका चालु नाका भन्सारहरूको नयाँ परिपेक्षमा समयको माग अनुसारको सन्तुलित व्यवस्थापन गर्न आवश्यक छ । “बेलौरी” नाका भन्सारको बैद्धताबाट संघीय गणतन्त्र नेपालको ७ नं. प्रदेश र संघीय गणतन्त्र भारतको उत्तरप्रदेश विचको नयाँ आर्थिक मित्रता, पारस्परिक बन्धुत्वको नमूना सावित हुनेछ र नेपाल भारतको वाणिज्य व्यापारलगायत, आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय, आदि क्षेत्रमा युगान्तकारी परिवर्तन र विकास ल्याउने छ ।
(लेखक जोशी महाकाली उमाविका पूर्वप्राचार्य हुन् ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार