sankhuWIN_20160406_09_32_43_Proनेपाल आँफैमा एउटा प्राकृतिक, साँस्कृतिक र धार्मिक धरोहरको देश हो । हरेक ठाउँको प्रकृति जति मनमोहक छ त्यस्तै हरेक ठाउँको संस्कृतिले पनि एउटा न एउटा विशेषता बोकेको पाइन्छ । कुरा काठमाडौंबाट नजिक रहेर सबै कुरामा एउटा छुट्टै पहिचान बोकेको साँखु क्षेत्रको हो । शंखरापुर नगरपालिका अन्र्तगत रहेको साँखु प्राकृतिक रुपमा त सुन्दर छ नै साँस्कृतिक र धार्मिक रुपमा पनि अत्यन्तै महत्वपूर्ण रहेको छ । त्यहाँको बस्ती, भूकम्पको प्रभाव, पुननिर्माणको काम र त्यहाँका भूकम्प पिडितले भोगेका कानुनी समस्याहरूको बारेमा बुझ्नको लागि हामी नेपाल ल क्यामपसबाट केही गुरुहरूका साथ १२५ जनाको टोली जरसिंङ्ग पौवाको लागि गएका थियौं ।

साँखुको भाग्योदय क्याम्पसमा एउटा कार्यक्रम राखिएको थियो । जुन कार्यक्रम अत्यन्तै फलदायी रह्यो । ‘साँखु शंखरापुरा भूकम्प र हालको अवस्था’ भन्ने विषयमा गरिएको सो कार्यक्रममा एल पी माली जीले दिनु भएको प्रस्तुतिले साँखुको बारेमा धेरै कुरा जान्ने मौका पायौं । त्यस प्रस्तुतिमा देखाइएका ठाउँहरू हामीले प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउँदा धेरै कुराहरू जीवन्त लाग्ने रहेछ । गत वर्ष गएको विनाकारी भूकम्पले साँखुलाई साँच्चिकै क्षत विक्षत बनाएको थियो । त्याहाँको अवस्था र त्यस अवस्थामा भूकम्प पिडितहरूले पाउने सहयोगको कानुनी प्रकृयाहरू साँच्चिकै बाझिएको हामीले पायौं । साँखुमा अधिकांश परिवार बाजेबराजुका पालादेखि बस्दै आएका तर आफ्नो जग्गाको कुनै लालपूर्जा नभएका जसलाई स्वाबासी दर्तावाला भनिदो रहेछ । त्यस्तो परिवारको लागि सरकारबाट पाउने सहयोग पाउन झमेला हामीले देख्यौं । सरकार भन्छ भूकम्प पिडितले सहयोग पाउनको लागि घर भएको ठाउँको अनिवार्य लालपूर्जा चाहिने तर त्यहाँका स्वबासीहरू सित कुनै लालपूर्जा थिएन अब यस्तो अवस्थामा कुन प्रकृया अप्नाउने त यसमा सरकारले पनि कुनै उचित समाधान निकाल्न सकेको छैन ।

sankhu1

साँखु नेवारी परम्परा, रिति रिवाज, भएको एउटा नमूना बस्ती हो । त्यहाँका प्राय: ठाउँहरूको नामाकरण पनि नेवारी भाषा मै गरिएको छ । त्यस ठाउँमा नेवारी संस्कृतिको संरक्षण र सम्वद्धन भएको देख्न पाइन्छ । श्री स्वास्थानी किताबमा बर्णित लावण्य देश नै अहिलेको साँखु हो । लावाण्य देश भएकाले त्यहाँ लडिबुडी गर्दै सहर परिक्रमा गर्ने अनौठो चलन पनि रहेछ । परम्परागत संस्कृतिको जगेर्ना भनौ वा मान्छेमा हुने अन्धभक्ति भावना अहिले पनि धर्मको नाममा त्यहाँ लडिबुडी खेल्दै खेल्दै शहर घुम्ने चलन कायमै छ । त्यस्तै गोमाले श्री स्वास्थानीको व्रत गरेको शाली नदी र हात्तिले नवराजलाई राजा बनाएको चौतारी पनि त्यहाँ

 

देख्न पाइन्छ । धार्मिक मान्यताले पनि साँखु साच्चिकै महत्वपूर्ण रहेको छ ।

ऐतिहासिक पुरानो बस्तीका रुपमा रहेको साँखु बजारमा धार्मिक महत्वका चार ढोकाहरू रहेछन् । नेवारी भाषामा राखिएका ती ढोकाहरूको आ–आफ्नै विशेषता रहेका छन् । साँखुमा नयाँ दुदही भित्राउन भौ ढोकाको प्रयोग हुन्छ भने चेलीबेटीलाई विवाह गरेर पठाउँदा साँगल ढोकाको प्रयोग गरिन्छ । त्यस्तै बज्रयोगिनी माइको जात्रामा (धुँल्ला) द्यँ ढोकाबाट ल्याइन्छ भने साँखुमा मृत्यु भएकाहरूलाई अन्तिम संस्कारका लागि सि ढोकाबाट लगिन्छ । यसरी साँखुका चार ढोकाहरूले त्यहाँको संस्कृतिलाई जीवन्त राखेको छ । मूर्तिकला र काष्ठकलाको राम्रो कला साँखुका मन्दिरलगायत घरका झ्याल ढोकाहरूमा पनि देख्न सकिन्छ ।

sankhu

साँखुलाई पर्यटकीय रुपमा पनि विकास गर्न सकिने क्षेत्र हो । यस ठाउँ वरिपरि पर्यटकहरूलाई आकर्षित गर्न सक्ने विभिन्न महत्वपूर्ण स्थानहरू रहेका छन् । धार्मिक रुपमा प्रशिद्ध शाली नदी साँखु मै छ जहाँ पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा एक महिनासम्म ठूलो मेलापनि लाग्दछ । साँखुबाट १ किलोमिटरको दूरीमा पञ्चलक्ष्मी मन्दिर, ३ किलोमिटरको दुरीमा बज्रयोगिनी, ४ किलोमिटरको दूरीमा चाँगुनारायण, ८ किलोमिटरको दूरीमा नगरकोट र २८ किलाृमिटरको दूरीमा मेलञ्ची रहेको छ । यी स्थानहरू पर्यटकहरूका लागि आकर्षक स्थान हुन् । यी लगायत जहरसिंह पौवा, शिवपुरी राष्ट्रिय निकुञ्ज, देउराली प्याराग्लाइडि∙, कात्तिके हिल स्टेशन, शाँखु विसम्भरा, नगरकोट पैदल यात्रा, सलम्बुदेवी मन्दिर लगायत हिले पोखरी, महादेव पोखरी, कलश पोखरी, मणिचुड पोखरी, बैर महादेव पोखरी जस्ता तालहरू पनि साँखुमा रहेको छ यी सम्पूर्ण ठाउँहरूलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नको लागि साँखुलाई ट्रान्जिट प्वाइन्ट बनाएर काम गर्न सकिन्छ । पर्यटकीय क्षेत्रको रुपमा साँखु अत्यन्तै राम्रो सम्भावना बोकेको क्षेत्र हो ।

sankhu 3साँखुका यी विभिन्न कुराहरूको सौन्दर्यता र साँस्कृतिक महत्वका ठाउँहरूको अवलोकन पश्चात हामी साँखुबाट करिव ४ किलोमिटरको दुरीमा रहेका लप्सेफेदी स्थित जहरसिह पौवामा गयौं । त्याहाँको सौन्दर्यता संगै हामी सम्पूर्ण साथीहरू खानपान र रमाइलो गरि साँखुको अवस्थिति र सम्भावनहरूको बारेमा गुरुहरू सित पनि छलफल गऱ्यौं । अध्ययन भ्रमण भएकाले पनि हामी विशेष रुपमा त्यहाँको बस्तुस्थितीको अध्ययन गर्नु आवस्यक थियो । स्थानीयहरूबाट पनि राम्रो व्यवहार महशूस गर्न पायौं । त्यहाको प्रकृतिले हामीलाई अत्यन्तै आकर्षित गऱ्यो उत्तरमा चम्किलो हिमाल हामीलाई नै हेरेर हाँसेका भान हुन्थ्यो भने दक्षिण पश्चिममा काठमाडौं लमतन्न परेर सुतेको देखिन्थ्यो । जहरसिहं पौवाबाट देखिने प्राकृतिक दृश्यले पर्यटकहरूलाई साँच्चिकै आनन्द दिलाउँथ्यो । आन्तरिक र बाह्य पर्यटनको सम्भाबना बोकेको साँखुलाई राम्रो रुपमा सदुपयोग गर्न सकिएमा देशको आर्थिक क्षेत्रमा पनि राम्रो टेवा पुऱ्याउने कुरामा कुनै दुईमत छैन । राजधानीबाट नजिक रहेर पर्यटकीय सम्भावना हुँदाहुँदै पनि उचित योजनाको अभावमा साँखु पछि परेको देखियो सम्बन्धित पक्षले यसकालागि तुरुन्त कदम चाल्नु आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार