समय बलवान् हुन्छ भनेर त्यसै भनिएको हैन । २०७० सालदेखिको रेसुंगाको पवित्रस्थल टेक्ने मेरो चाहनाले २०७२ मा मात्रै मूर्तरुप लिन पायो । बहाना बन्यो चौरासी पूजाको । गुल्मीमा नजन्मेकी मेरी धर्मपत्नीको माइती गुल्मी । गुल्मीमै नबस्ने मेरा ससुराली तर मेरो ससुराली जिल्ला गुल्मी । गुल्मी जानै नरुचाउने मेरी धर्मपत्नी तर गुल्मी जान आतुर म । कस्तो विरोधाभास ? मलाई समयले साथ दियो । खल्तीले साथ दियो । मेरो मनले आँट्यो । यी तीन कुराले एकै पटक साथ दियो मने मान्छेले विश्वकै भ्रमण गर्न सक्छ, जाबो गुल्मी कति टाढा हो र ? आमाले दिएको सय रुपैयाँ गोजीमा हालेर साइकलबाट विश्व यात्रा गरेका पुष्कर शाहले यो नियात्रा पढे भने पेट मिचीमिची नहाँस्लान् भन्न सकिन्न । उनको सिंगो पुस्तक मैले नदोहोर्‍याएर पढेको छु तर उनका आँखा यसमा नपरुन् भन्ने चाहन्छु । किनकि उनले खिसी गर्नेछन् । उनी जहाँ–जहाँ पुगे, ती सबै ठाउँका महिलाको योनी मुस्कानसँग रमाएका शाहले यहाँ त्यो प्रसङ्ग भेट्टाएनन् भने खिसी अवश्य गर्नेछन् । म परें विशुद्ध धार्मिक यात्रामा निस्केको यात्री, मेरो दिमागले त्यस्ता कुरा त कुनै पनि दिन सोच्दै सोचेन । सोच्ने कुरा पनि भएन । फेरि त्यस्तो चरित्रको पनि आफू परिएन । २०७२ सालको दसैंको घटस्थापनाको भोलिपल्ट सम्पन्न हुन गइरहेको चौरासी पूजाका लागि एक थान निमन्त्रणा कार्ड एक हप्ता अगाडि नै हात पर्‍यो । निमन्त्रणा कार्ड लिएर आउनुहुने माया भाउजु (मायाँ पन्थी) कै अगाडि भनिदिएँ म अवश्य आउनेछु । बरु म नआउँदै रेसुंगा नजानुहोला । संगै जाउँला । रेसुंगाको तपोभूमि दर्शन गर्नकै लागि भए पनि जाने विचार गरेको मलाई चौरासी पूजा एक अवसर समेत बन्यो । पक्का आउँछु । अवश्य आउँछु । समय, खल्ती र मनले साथ दिएको मलाई दुई दिनपछि यात्रासाथी पनि मिल्यो । तब त के चाहियो । हामीले दुई दिनअघि काठमाडौं–तम्घास रुटमा चल्ने माइक्रोबसको टिकट लियौं । टिकटसँगै एउटा समस्या पनि आइलाग्यो । त्यो समस्या थियो पाँचै बजे सुन्धारा पुग्नुपर्ने । बौद्ध रामहिटिबाट सुन्धारा पाँचै बजे पुग्नका लागि साढे तीन बजे नै हिँडिसक्नुपर्ने भयो । मेरा यात्रासाथी नाजुक । त्यो सम्भव देखिएन । उहाँले नै एउटा प्रस्ताव राख्नुभयो । कलंकीस्थित भाइ प्रेम अर्यालका घरमा अघिल्लै दिनमा गएर बस्ने । भोलिपल्ट त्यहींबाट बस चढ्ने । प्लान त्यही फिक्स भयो । समयअगावै र भाग्यमा लेखेभन्दा बढी पाइँदैन भन्ने भनाइ कति सत्य रहेछ । प्रेमले कलंकीमा घर बनाएको पनि ७/८ वर्ष भयो होला । देख्ने अवसर जुरेको थिएन । तम्घासको चौरासी पूजाले नै त्यो पनि जुराइदियो । डा. भेषराज अर्याल र म ७ गते राति नै कलंकी गई त्यहीं बास बस्यौं । भोलिपल्ट त्यहींबाट बस चढी तम्घासका लागि प्रस्थान गर्‍यौं । कलंकीबाट छुट्ने समय ५:३० बजे भनेर टिकटमै लेखिएको थियो । ठीक समयमै माइक्रोबस कलंकी आइपुग्यो र ठीक समयमा छुट्यो पनि । नेपालका बसहरू त्यसरी तोकेकै समयमा छुट्न भनेको आश्चर्यको कुरा त हुँदै हो । तोकेकै समयमा पुग्नु त झनै आश्चर्यको कुरो भइहाल्यो । त्यो बसले भनेकै समयमा पुर्‍यायो पनि । चार बजेतिर हामी तम्घास पुग्यौं । निकै आरामका साथ । कुनै बाधा–व्यवधानरहित तरिकाबाट पुग्यौं । तम्घासकै एक उच्च मा.विका पूर्वप्राचार्य ज्ञानबहादुर कार्कीजीसँग त्यही बसमै परिचय भयो । उहाँ पनि सपरिवार आफ्नी आमाकै चौरासी पूजाका लागि घर जाँदै हुनुहुँदोरहेछ । तम्घास पुगेर फर्किँदासम्म रिँडी स्नान गर्न नपाएकोमा चाहिं कता–कता यात्रा अपूरै रह्यो कि भन्ने पनि लागिरहेको छ तर पनि पाल्पाकै अर्गली फाँटले भने मनै लोभ्यायो । अझ भनौं त्यसको क्षतिपूर्ति नै दिलायो । यात्रा गर्नु ठूलो कुरा हैन तर यात्रा कति सुखद बन्यो त्यो नै ठूलो कुरा हो । चौरासी पूजाको निम्तो मान्न गइरहेका हामी, कस्तो ठाउँमा बसाइ हुने हो । कष्टपूर्ण हुने होला नि । निम्तालु सबैलाई आरामदायी बास त केको सम्भव होला र ? यस्तै–यस्तै मनमा सोच्दै गएका थियौं हामी । जति रात छिप्पिँदै जान्थ्यो, त्यो मानसिकता प्रबल हुँदै गएको थियो । भाइ विष्णुकान्त पन्थीले भेषराज अर्याल, म र अर्का विष्णु शर्मा पन्थीलाई करिव ८ बजे बासस्थानतिर लगे । उनले आफ्नो घर नजिकैको सानो घर, सानो परिवार, ठूलो विचारका धनी, सभ्य, सौम्य, शिक्षित व्यक्ति रामप्रसाद खनालका घरमा लगेर परिचय गराए र तीन दिनका लागि हाम्रो सेल्टर निर्धारण गरिदिए । ती दम्पतीको व्यवहार सम्झिँदा लाग्छ बारम्बार तम्घास जाऊँ र झनै सघन मित्रता गासौं । मेरो तम्घास यात्राको मूल उद्देश्य चौरासी पूजामा सहभागिता भए पनि रेसुंगा दर्शन, किरण पुस्तकालय अवलोकन, रेसुंगा बहुमुखी क्याम्पसका वर्तमान तथा पूर्वक्याम्पस प्रमुखहरू क्रमश: शशि पन्थी, प्रेमनाथ अर्याल, दिन पन्थी, चन्द्रकान्त पन्थीसँगको भेटघाट नेपाली काँग्रेस गुल्मीका सभापति शालिक पन्थीसँग अन्तक्र्रिया नै थियो । सौभाग्यले सबै धोका पूरा भयो । वाल्मीकि क्याम्पसका पूर्व स्ववियू सभापति तथा उपप्राध्यापक विष्णु पन्थीसँग तम्घासमा भेट होला भन्ने कल्पनासम्म नगरेको अवस्थामा उनीसँग पनि भेट हुँदा थप खुसी लाग्यो । निकै साइत जुराएर यात्रा गर्दा मात्रै यसरी यात्राले पूर्णता प्राप्त गर्दछ । त्यस हिसाबले साइतै जुरेको रहेछ भन्नुपर्‍यो । ऋष्यशृङ्ग ऋषिको तपस्या स्थल रेसुङ्गा गुल्मीकै श्रीपेच हो । गुल्मीको सदरमुकाम तम्घासतर्फ ढल्किएकाले साँच्चिकै सोह्रश्रृंगार गरेकी दुलही जस्ती भान हुने, जब लालीगुराँस फुल्छन् सिउँदोभरि रातै देखिने अनि रेसुङ्गाको शिरमा जब पुगिन्छ हिउँको टीका लगाएकी जस्ती देखिने, पूर्णिमाका दिनमा रातै बस्ने गरी गयो भने पूर्णचन्द्रको उदय र भोलिपल्ट सूर्योदयको मजा लिन सकिने, रेसुङ्गाको के बखान गरुँ म खै ? श्रृङ्गी ऋषिका बारेमा भन्नुपर्दा आख्यानकै सहारा लिनुपर्ने भनिन्छ । उनले अङ्ग देशमा पानी पारेर देखाएका थिए । उनैले अयोध्यामा पुत्रेष्टि यज्ञ गराएका थिए । त्यही यज्ञको चरु निलेका कारण दशरथ राजाका रानीहरूमा गर्भ रहन गई राम, लक्ष्मण, भारत र शत्रुघ्नको जन्म भएको थियो । यस्ता चामत्कारिक ऋषिको जन्म कपिलवस्तुमा भएको थियो । यिनी ऋषि विमाण्डकका पुत्र थिए । विमाण्डकको तपोबलले इन्द्रको आसन समेत डगमगाएको थियो भनिन्छ । त्यसपछि उनको तपभंग गर्नका लागि इन्द्रले उर्वशी नामकी अप्सरालाई पठाए । उर्वशीलाई देख्दा उनी काम वेदनामा पुगे र त्यसबाट शान्त हुनका लागि पोखरीमा स्नान गर्न गए । उर्वशी पनि त्यही पोखरी हाम फालिन् र पानीमा डुब्न लागेको वहाना गरिन् । त्यो देखेर विमाण्डकले उर्वशीलाई पानीबाट बाहिर ल्याउने प्रयास गर्दागर्दै ऋषिको वीर्य पतन पानीमै भयो । त्यतिबेलै एउटी तिर्खाएकी हरिणी त्यसै तलाउमा आएर पानी पिउने क्रममा उसले वीर्य समेत खाई र गर्भिणी भई । त्यो कुरा ऋषि विमाण्डकले थाहा पाइहाले र त्यो हरिणीको स्याहार सुसार राम्रोसँग गरे । समय पुगेपछि हरिणीबाट बच्चा जन्म्यो । त्यो बच्चाको सबै शरीर मान्छेको जस्तै भएपनि तालुमा चाहिं एक वित्ताको सिंग थियो । त्यसै कारण उनको नाम ऋष्यश्रृंग राखियो । आफ्नो तपोभंग भएका कारण विमाण्डकले ऋष्यश्रृंगलाई आजीवन ब्रह्मचर्यमा राखेर सिद्धि प्राप्तिका लागि रुरुक्षेत्रतिर पठाए । उनै ऋषि श्रृंगीले तपस्या गरेको स्थल भएकाले रेसुंगा नाम रहन गयो । त्यही पवित्र तपोभूमि ६२ वर्षको उमेरमा खुट्टा टेक्न पाइयो । धन्य रेसुंगा । रेसुंगाको डाँडोबाटै मैले स्वर्गद्वारीका लेक हेरें । दक्षिणको मधेश हेरें । अग्ला चुचुरादेखि गहिरा गल्छी हेरें । रेसुंगा बहुमुखी क्याम्पसको आँगनबाट हेर्दा फणा उठाएको जस्तो देखिने रेसुंगाले, सदरमुकाम तम्घासलाई ओथारो बनाएर बसेको जस्तो लाग्यो । त्यहाँको हवनकुण्ड तथा खानेबस्ने बन्दोबस्त देख्दा स्वर्गद्वारीको याद आयो । भ्यूटावरले इलामको अन्तुडाँडोको सम्झना गरायो । तम्घास बजारबाट पैदलै भए पनि नगई नछाड्ने अठोटका साथ गएको मान्छेलाई गाडीको व्यवस्था हुँदा कति खुसी लाग्यो होला, एकछिन कल्पना गरौँ त । कत्ति पनि कष्ट नपुग्ने गरी हामी त्यो गाडीमा म, डा. भेषराज अर्याल, विष्णु शर्मा पन्थी, कमला पन्थी अधिकारी, टुकुमाया पन्थी, विमला पन्थी र नगिना पन्थी सवार थियौं । भोलिपल्ट चौरासी पूजा थियो । दिनभरि चौरासी पूजामा समावेश भएर ४ बजेतिर किरण पुस्तकालय अवलोकनका लागि शशी पन्थीजी चौरासी पूजा स्थलमै लिन आइपुग्नुभयो । शशी पन्थी, विष्णु पन्थी र मैले किरण पुस्तकालय अवलोकन गर्‍यौं । शशीजीको मिहिनेत र त्यागको दर्शन गर्नका लागि किरण पुस्तकालय एक मन्दिरै हो । त्यहाँ गए देख्न सकिन्छ । चौरासी पूजाको भोलिपल्ट बिहानै मैले तम्घासलाई वाइवाइ गरें । ढिलै गरेर भए पनि गुरुजीले सकुशल काठमाडौं अवतरण गराएकोमा उनलाई धन्यवाद दिँदै घरतर्फ लागें । गुल्मी घुम्ने धोको पुर्‍याइदिएकोमा डा. लक्ष्मीकान्त पन्थी, सूर्यकान्त पन्थी, चन्द्रकान्त पन्थी, विष्णुकान्त पन्थी तथा सम्पूर्ण पन्थी परिवार जनलाई हार्दिक धन्यवाद टक्र्याउँछु । चौरासी पूजाकी नायक सासुआमाको शतवार्षिकी पनि मनाउन पाइयोस् भन्ने कामना समेत गर्दछु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार