जनवरी ३० अर्थात् माघ १६ का दिन नेपालमा सधै झैँ यस पटक पनि देशको निम्ति जीवन उत्सर्ग गर्ने ज्ञात आज्ञात शहिदहरुको स्मरण गर्दै शहिद दिवस मनाइयो । बिगत ६० बर्षदेखि मनाउँदै आइएको शहिद दिबस यस पटक पनि औपचारिकता भन्दा माथि उठेन । अझ भनांै शहिदको परिभाषा नै बदलिएको आहिलेको परिस्थितिमा यो औपचारिकतालाई पनि धन्य भन्नु पर्ने भएको छ । बिक्रम सम्बत १९९७ माघको कठाङ्ग्रिने जाडोमा दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली ठोकेर मृत्युदण्ड दिइएको थियो भने धर्मभक्तलाई सिफल र शुक्रराज शास्त्रीलाई टेकुमा रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । त्यसै समयमा टंकप्रसाद आचार्य, रामहरि शर्मा, गोविन्दप्रसाद उपाध्याय लगायतका नेपाल प्रजापरिषदका नेताहरूलाई आजीवन कारावासको सजाय तोकेर जेलको कालकोठरीमा हालिएको थियो ।
यी बिर सपुतहरुलाई मृत्युदण्ड दिइएको एक दशक पछि अर्थात २००७ सालमा देशमा एक दलीय राणा शासनको अन्त्य भयो, प्रजातन्त्रको उदय भयो । त्यस पछि देशको लागि हाँसी हाँसी प्राण उत्सर्ग गर्ने अमर यी चार शहिदहरुको स्मरण गर्दै माघको एक हप्ता शहिद सप्ताहको रुपमा मनाउने प्रचलनको निरन्तरता स्वरूप हामीले फेरि पनि यी सपुतहरु लाई सम्झदै गर्दा श्रद्दाले शिर झुक्छ । त्यसो त २००७ को परिबर्तन पछि देशमा ठूला ठूला उथल पुथल र परिबर्तनहरु भइ सके, २०४६ हुँदै २०६२÷६३ को परिबर्तन संगै देश गणतन्त्रमा प्रवेश गरिसकेको छ । शहिदहरुको अझ भनांै हिजोको एक दलीय राणा शासनको बिरुद्दमा संगै लडेका शक्तिहरु यो बीचमा परिबर्तन भई सकेका छन् । राणा शासनको अन्याय र अत्याचारको विरुद्धमा आफ्नो ज्यान देश र जनताको लागि सुम्पेका चार शहिदहरुको योगदानले वि.स. २००७ सालमा १०४ वर्षे राणा शासन को अन्त्य भएको कुरा इतिहासमा पढ्दा पनि हामीमा शहिद प्रति एक किसिमको सम्मान स्वतःस्फूर्त रुपमा आउँछ । अहिले यो शहिद भन्ने शब्द यति सस्तो बनाइदै गएको छ कि जसरी मरे पनि शहिद घोषणा गर्नुपर्ने भएको छ । अहिले शहिदहरुको शब्द लाई अत्यन्त हल्का बानाइएको आभास हुन थालेको छ । देश परिवर्तनकालागि हाँसी हाँसी आफ्नो ज्यान सुम्पेका शहिदहरुको तुलना घुलमुलमा ज्यान गुमाएकाहरुलाई पनि त्यही श्रेणीमा राख्दा कतै शहिदहरुकै अपमान भएको त होइन भन्ने आभास हुन थालेको छ । वास्तविक शहिद हुनको लागि कुन कुन कुराहरु अबलम्बन हुन पर्छ, कस्तो मृत्युलाई शहिद घोषणा गर्ने भन्ने कुराको राम्रो सँग सोचिनु आवस्यक छ । अन्यथा यो शहिद शब्दले हाँसी हाँसी आफ्नो छातिमा गोली थापेका दशरथ र गंगालाल अनि र कुनै आत्मग्लानी विना भुण्डिन तयार भएका धर्मभक्त र शुक्रराज जस्ता शहिदहरुलाई नै अपमान गरे सरह हुने छ । त्यसैले शत्रु मित्रुको परिभाषा बदलिनु पनि स्वाभाबिक हो, यो बीचमा शहिदका परिभाषा फेरियो, शहिदका संख्या कति कति हो थपियो । माथि उल्लेखित गरिएका चार सपुतहरु भन्दा अगाडि लखन थापालाई नेपालको प्रथम शहिद भनेर भनिन्छ । चार जनाभन्दा अरुलाई शहिद भनिनु हुँदैन भन्ने पनि होइन तर शहिदको घोषणा गरिँदा उसले देश र जनताप्रति गरिएको योगदानलाई हेरियोस र उसले गरेको बलिदानको कदर गरियोस् ताकि राजनीतिक भागबन्डाको आधारमा शहिद घोषणा गर्ने परिपार्टीको बन्द होस र बास्तविक शहिदप्रति साँच्चिकै श्रद्धा र सम्मान होस् । त्यीनै शहिदको योगदानले हामी जनताहरुले पाएको स्वतन्त्रतताको मूल्याङ्कन होस । शहिद कुनै पार्टी विशेषको नहोस् सबै जनताहरुमा संधैभरी शहिदहरुप्रतिको विश्वास रहिराखोस् भन्दै शहिद दिवसको शुभकामना साथै सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुमा हार्दिक श्रद्धाञ्जली !

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

चुनाबी संग्राममा देश

/शुक्र, मंसिर २९, २०७४