nta pic jun‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ चन्द्रमामा मानब पाइला पुग्ने कुरो सुन्नु भन्दा अगावै हाम्रा महाकबिले लेखेका थिए यी हरफ । सुरुवात सधै शून्यबाट अगाडि बढ्छ र पछिल्लो पाइला नछोडिकन अघिल्लो पाइला बढ्दैन । त्यसैले पनि चाहे त्यो बैयक्तिक विकास होस्, चाहे परिवार हुदै समुदाय र देशको विकास होस पहिलो सुरुवात सकारात्मक सोच नै हो, त्यस पछाडि दृढ इच्छा शक्ति । राजनीतिक अस्थिरताले सधै गाँजेको हाम्रो जस्तो देशमा सरकारमा रहेकाले प्रष्ट भिजन अब नराख्ने हो भने निश्चित छ, हाम्रो गन्तब्य उल्टो दिशामा बढ्ने छ । प्रसङ्ग हाल नेपाल सरकारका प्रधानमन्त्री के पी ओली र उनले व्यक्त गरेका धेरै महत्वकाक्षी योजनाहरूका हुन् ।

देश प्रकृति प्रकोप, भारतीय नाकाबन्दी, मधेस लगायतका आन्दोलनले थिलो–थिलो भएको बखत निकै उत्साहित भएर हाम्रा प्रधानमन्त्रीले घर–घरमा पाइपबाट ग्याँस, द्रुत गतिको मार्ग, पूर्व–पश्चिम रेल, धुवाँ रहित सबारी साधनहरू हुँदै आफ्नै पानी जहाजसम्मको सपना देखाएका छन् । सपना उसैले देख्छ, देखाउछ जो परिवर्तनको सम्बाहक हो । परिवर्तन आउँदा जहिले पनि विवाद र बाङ्गाटिङ्ग कुराहरू हुने गर्छन् तर अगुवाले त्यस्ता कुराहरूलाई न्यूनीकरण गर्दै आफ्नो अर्जुन दृष्टिमा अडिग हुन सक्नु पर्दछ । जुन केहि हदसम्म हाम्रा प्रधानमन्त्रीले लक्षण देखाएका छन् । त्यसमा पनि जसरी घरको मूली पीर र चिन्तामा हुने, केहि गर्न सक्दिन कि भन्ने नकरात्मक भावले गाँजिञ्छ भने निश्चय छ उसका परिवारका सदस्यको अनुहारमा चिन्ताको बादलले छोड्दैन । त्यसैले यहाँ निर घरको मुलीले आफना धेरै अभाबहरू हुँदा हुँदै पनि सदस्यहरूको आत्मबल भरेका छन् जुन मनोबैज्ञानिक दृष्टिकोणले पनि सरहानीय छ ।

तर यहाँ हाम्रो परिस्थितिको अर्को पाटो पनि छ । सुरु मै भने जस्तो हाम्रा अभाब र बास्तबिकता हाम्रो आगाडि ऐना बनेर हर घडी, हर सेकेन्ड हामीलाई जिस्काइरहेका छन् । भुकम्पका वर्ष दिन कटि सक्दा पनि भुकम्प पिडितहरू अझै पाल मुनि नै छन्, संबिधान अलपत्र बनेर सहि अभिभाबकत्व खोज्दै चौबाटो तिरै छ, देशको आर्थिक वृद्धिदर १ प्रतिशत भन्दा तल छ । अर्को तिर हाम्रा कर्मचारी र सरकारी संरचना यस्ता छन् कि भएको विकास बजेट आर्थिक वर्षको अन्त्यसम्म पनि हामी खर्च गर्न सक्दैनौं । बिगत ३ दशक प्रत्येक दिन देश अधोगति उन्मुख आभास हुन्छ । एउटा नयाँ कारखाना हामीले खोल्न सकेनौ, यो बीच धेरै कलकारखाना हाम्रै आँखा अगाडि बन्द भए, रहेका पनि कर्मचारी युनियनको दादागिरी र राजनीतिक हस्तक्षेपले थिलो थिलो छन् । आफ्ना जग्गा बाँझो राखेर मरुभूमि पुग्ने नेपाली युवा–युवतीको संख्या बिगत केहि बर्षमा करिब १०० प्रतिशतले बढेको छ, मुलुक रेमिटेन्सले चलेको छ भनेर नीति निर्माताहरू निर्धक्क भन्छन तै पनि बैदेशिक रोजगारीलाई सरकारले अझै कानुनको घेरामा राखेर सम्मानपूर्वक खुलेर धन्यबाद सम्म भन्न सकेको छैन ।

यो परिस्थितिमा हाम्रा प्रधानमन्त्रीले देखाएको सपना र हाँस्यास्पद लाग्ने प्रस्तुति धेरैको लागि हाँस्यस्पद नहुने कुरै भएन । त्यसो भनेर केहि गर्छु भन्ने या छिटो हिड्ने गोरुको पुच्छर निमोठ्ने प्रवृति भने हतोत्साहित हुनै पर्दछ । निश्चय नै हिजो सम्मुनत मलेसियाको सपना देख्ने अब्दुल रहमान हुन वा आजको सिंगापुरको परिकल्पनाकार लि कुआन यु हुन् जति बेला उनीहरूले आफ्नो व्यक्तिगत, पारिबारिक र पार्टीगत स्वार्थलाई तिलान्जली दिएर राष्ट्रिय स्वार्थको सपना देखे त्यति बेला उनीहरूलाई पनि टाकुरे आरोपहरूको ओइरो लागेको हुँदो हो । यदि उनीहरू आफ्नो अठोटबाट अलिकति पनि विचलित भएका हुदाँ हुन् त आजको यो उन्नत मलेसिया वा सिंगापुर सम्भब थिएन । त्यसो भनेर आँखा अगाडिका तमाम समस्याहरूलाई नजर अन्दाज गरेर कल्पनाको रस्योस्वादन गराएर एउटा चटकेले भिड अल्मायाएर आफ्नो टोकरीमा नोट खसाल्न लागे जस्तो कम्तिमा देशको डाडु–पन्यू हातमा भएकाहरूले गर्नु सुहाउँदैन । त्यसो भनेर उन्नत नेपालको सपना नदेख्ने र नदेखाउने हो भने अभाब त छदै छन् त्यसमाथि मनगढन्ते चिन्ताले हामी लाई सधै गाड्ने छ । त्यसैले सकारात्मक सोचको विकास गरौ, उन्नत नेपालको कल्पना मात्रै होइन, आफ्नै जीबनकालमा सम्मुनत नेपाल देख्न पाउने हाम्रो चाहानालाई कसले मार्ग प्रसस्त गर्छ भने सधै शंका मात्र होइन, खबरदारी सहित समर्थन पनि गरौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार