ntaसर्वविदित नै छ नैराश्यता मान्छेको ठूलो शत्रु हो, यसैबाट शारिरीक र मानसिक रोगको सुरुवात हुन्छ । सकारात्मक सोचले संधै अगाडि बढ्ने प्रेरणा दिन्छ भने नैराश्यताले संधै पीडा, दु:ख र मानसिक बिचलन । सकारात्मक सोच परिवर्तनको सबैभन्दा बलियो आधार पनि हो । यो आधार व्यक्ति, संघ, संस्था हुँदै देशसम्म लागु हुन्छ । अझ योग, ध्यान र आध्यात्ममा लीन हुनेहरू त सकारात्मक सोच सामुहिक रुपमा एकतृत हुदाँ एउटा छुट्टै खाले उर्जा दिने तर्क गर्छन् । यस्तो उर्जा जसले आफु मात्र नभई आफु वरपरकालाई समेत सकारात्मक मार्गमा समाहित गर्दछ ।

यि हरफहरू पढ्दै गर्ने युवा पुस्ता, एउटा यस्तो पुस्ता हो जसले नेपालमा बन्द, हड्ताल, अस्थिरता र अराजकता मात्र देख्यो । विकास निर्माण र प्रविधिलाई पछ्याउने वा अबको देश विकास एबं आर्थिक निकास प्रबिधिले मात्र सम्भब देख्ने नेतृत्व न सरकार न कुनै राजनीतिक पार्टीमा देख्यो । परिणाम नेपालमा पनि केहि होला र ? खोइ यहाँ केहि हुदैन जस्ता नकरात्मक सोचले यो पुस्तालाई नराम्रोसँग गाँज्यो जसको पछिल्लो उदाहरण हामी सबै विदेशिने पुस्ता हौं । १२ कक्षा समाप्ति संगै विदेश जान कन्सल्टेन्सी धाउने हुन या २/४  लाख खर्चेर मासिक १०/१५ हजारमा खाडीका उखरमाउलो गर्मीमा पसिना बगाउने उर्जाशिल युवा समुह, सबै यहि नकारात्मक सोचको उपजको एक हिस्सा हौं । हामी सबैको मन मस्तिष्कमा यस्ता नकारात्मक सोचले जरा गाडी रह्यो र देशको राजनीतिक अस्थितरताले त्यसमा मलजलको काम गरिरह्यो ।

हुन पनि चाहे नियम कानुनहरू हुन् या सामाजिक मुल्य मान्यता नकारात्मक सोचका अगाडि ति निष्प्रभावी भएर जाने रहेछन्, नतिजा सिंगो राष्ट्र थाहै नपाई व्यक्तिगत स्वार्थ र सामाजिक विसंगतिको चंगुलमा फस्दै जान्छ । यस्तै नकरात्मक सोच र विसंगतिले समाजमा नराम्रो जरा गाडेको बखत आशाको सानो किरण स्वरुप अलिकती प्रबिधि, अलिकति बिकास र अलिकति सकारात्मक सोचको कुरा लिएर निवर्तमान प्रधानमन्त्री के पी ओली आएका थिए । यति बेला नेपाली समाजमा त्यस्तो चमत्कारिक केहि गर्नु पर्दैन मात्र सम्भावनाहरू देखाई दिएर हामी पनि केहि गर्न सक्छौं भन्ने आत्मबिश्वास मुखाकृत मात्र गरे पुग्छ । सायद त्यही गरे क्यारे ओलीले पनि । उनले हामी नेपाली र हाम्रो नेपालको अबको यात्रा समृदि तिर उन्मुख छ भन्ने देखाउन बिज्ञान र प्रबिधिको कारण सम्भब भएको मार्गचित्रको सानो झल्को देखाए ।

सत्य पनि यहि हो संसारका सबै प्रकारका रूपान्तरण प्रविधिको विकासले मात्र सम्भब छ, प्रविधिको विकासलाई पनि सकारात्मक सोचले मात्र निर्दिष्ट गर्दछ । स्वभाबैले उत्सुक र जिज्ञासु मनिसको जीवन हरपल यिनै खोजका करणले प्रगति उन्मुख बनेको हुन्छ । सत्ता गठबन्धन जोड घटाउ मै बितेका बिगतका ६ दशकको समीक्षा गर्दै विगतका असफलताका कारणहरूको खोजीदिएको भए र समृद्ध नेपालको एउटा मात्र सोचमा  केन्द्रित भइदिएको भए अहिलेको नेपाल गफमा मात्र होइन साच्चैको दक्षिण कोरिया, सिंगापुरसरह भइसक्थ्यो । अफसोच हामीले कहिल्यै अब्दुल रहमान, लि कुवान यु र पार्क चुङ्ग पाएनौ ।

देशलाई समृिद्धको बाटोमा हिडाउने हो भने कत्ति पनि ढिलो नगरीकन सकारात्मक सोच सहित आफ्नो ठाउँबाट सबैले आफुलाई रुपानान्तरण गर्नु जरुरि छ । हामी अल्झिएको जातीय, क्षेत्रीय, भौगोलिक जस्ता विवादहरूबाट माथि उठेर प्रबिधि बिकाश, र देशको औधोगिकरणको मुद्दामा हाम्रा बहस जरुरि छ । स्मरणिय रहोस जब देशले प्रबिधिमा छलांग मार्छ, औधोगिकरणले देश चलायमान हुन्छ, अहिले हामी अल्झिएका धेरै बिषयहरू आफै गौण हुन्छन । किनकि आहिलेको पुस्ता यो कुरामा अल्झन चाहान्न, उ त उन्नतिको होडमा आफुलाई दौडाउन आतुर छ । अन्त्यमा, समुन्नत समाजको परिकल्पना कानुनले मात्र सम्भब रहेनछ, यिनमा हाम्रो जिबिकोपार्जनको सबाल, आचरण र सोच जस्ता कुराहरूको बिशेष भूमिका रहन्छ । त्यसैले अबको नेतृत्वले पनि हिजोको दिनमा निबर्तमान प्रम ओलीले देखाएको समृद्द नेपालको सपनाले जसरी युवा पुस्ता माझ नयाँ आशाको संचार गरेको थियो त्यसलाई अझै ब्यापक बनाउदै सकारात्मक सोच सहित राष्ट्र रूपान्तरणको भिजन दिन पछि नपरोस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार