नेपाल कै सबै भन्दा ठूलो र पुरानो दल नेपाली कांग्रेस यति बेला अधिबेशनको रापले तातेको छ । कुनै एउटा लोकतान्त्रिक पार्टीको लागि अधिबेशन आफैमा निक्कै महत्वपूर्ण थुम्को हो । जहाँ पार्टीले बिगतको समीक्षा गर्दै आगामी पाँच बर्षका लागि लिनु पर्ने नीति र कार्य दिशा स्पष्ट गर्दछ । केहि अपबाद बाहेक नेपाली कांग्रेस पार्टीमा न त अधिबेशन न त अरु कुनै बेला नीति केन्द्रित छलफल । यी कमै हुने गर्दछ भन्ने आरोप नौलो होइन । जुन १३ औ अधिबेशनसम्म पनि उत्तिकै छ, के नीति लिने भन्दा को नेता बन्ने भन्ने रोगले गाँजेको यो पार्टी नेता कै जुंगे लडाईले बिभाजनको समेत शिकार हुन पुग्यो । पार्टी पुन: जुटे पनि भाबनात्मक रुपमा यो अझै जुटेन त्यसैको उपज हो संस्थापन पक्ष र विपक्षको नाममा अझैसम्म चल्ने भागबन्डा र ताना तान ।
कुनै बेला राणा शासन बिरुद्द सशस्त्र आन्दोलन गरेको नेपाली कांग्रेस पार्टी नेपालको इतिहासको सबै काल खण्डको सिपाही हो । नेपाली कांग्रेस बिनाको नेपालको कुनै पनि परिबर्तन कल्पनासम्म गर्न सकिदैन । त्यति हुदाँ हुदै पनि यो पार्टी परिवारबाद, भारतीय रअमेरिकी समिप्यताबाद कै वरपर घुमिरह्यो ।
राणा शासनबाट गणतन्त्रसम्म आउँदाको एउटा युगलाई युगाकर गर्ने इतिहास बोकेको पार्टीका कार्यकर्ता त के कयांै नेतासम्मलाई पनि थाहा छैन पार्टी कहिले गणतन्त्रात्मक बन्यो भन्ने । न त्यो कहिल्यै बहसको बिषय बन्यो न पार्टी नेतृत्वले आबश्यक ठान्यो । त्यसैले त गगन थापा र नरहरीहरू गणतन्त्रको उताको कुनामा पुग्दा समेत खुम बहादुर र कुल बहादुरहरू अझै त्यति बेला कै राजतन्त्रको न्यानोमा रम्न चाहन्छन् ।
लगभग स्थापना कालदेखि नै कोइराला परिवारको वरपर घुमेको यो पार्टी सम्भबत: पहिलो पटक कोइराला परिवार बाहिरको नेतृत्व सहितको कांग्रेस बन्ने सम्भाबनाको नजिक देखिन्छ । त्यही नै ठूलो उपलब्धि मान्ने कांग्रेसीहरू पनि छन् तर त्यो समाधान होइन किनकि अबको सबाल नीतिमा अडिनु पर्दछ नेतामा होइन । अबको क्रान्ति भनेको आर्थिक र प्राबिधिक रुपमा सम्पन्न नेपाल हो । त्यसैले इतिहासका विविध कालखण्डमा देशको लागि योगदान गरेका नेता र कार्यकर्ताको सम्मान गर्दै अबको नेतृत्व युवा बर्गमा जानु पहिलो आबश्यक्ता हो । युवा वर्गबीच उसले प्रतिनिधित्व गर्ने नीतिको आधारमा नेतृत्व चयन हुन सके मात्र नेपाली कांग्रेसको अलमलिएको साखमा पुन: निखारता आउन सक्ला ।
अहिलेको मिडियाका कांग्रेससँग सम्बन्धित खबरहरू पछ्याउने हो भने कुनै एउटा नेताको नाम या फलानो पक्षको बाट शुरु भएर कुनै नेता कै नामबाट अन्त्य हुन्छ । अर्को तिर केन्द्रदेखिको त्यो विभाजित मानसिकता देशका जिल्ला र गाउँ हुदै विदेशमा रहेका संघ संगठनसम्म देखिन्छन् । एउटा नेताको नाम जोडेर आफुलाई बिकाउने प्रवृतिको अन्त्य यहि महाधिबेशबाटै होस् । पद र भोलिको सत्ताको लागि आजैबाट बाँडफाँडका लागि मात्र महाधिबेशन कुर्नु के जरुरी त्यस्ता परिपाटीको अन्त्य यहि महाधिबेशनबाट होस् । बिगतमा कांग्रेस भित्रको यस्तै अलमलले देशले उग्र र हतियारको दबदबा सहितको एउटा कालखण्डको ठूलो मूल्य चुकाइ सकेको छ ।
त्यसैले, समय बदलिदो परिस्थित सुहाउदो नीति र कार्यक्रमको लागि अनि सागठनिक ढाँचाको लागि बहस गर्ने, उपयुक्त नीति कार्यक्रम र नेतृत्व चयन गर्ने अवसरको रुपमा अहिलेको महाधिबेशनलाई उपयोग गरिएन भने फेरि पनि कांग्रेसले मात्र होइन देशले नै ठूलो मूल्य चुकाउनु पर्ने कुरा निश्चित छ । अन्त्यमा देशमा ब्याप्त भ्रष्टचार, बेरोजगारी, मनपरीतन्त्र, भनसुन र कमिशन खोरीजस्ता अनेकौ कु–संस्कारलाई चिरेर कानुनी शासन बहाली गर्न सक्ने नीति अबको कांग्रेसको एजेन्डा होस् । बंशज र पालो कुरेर होइन यहि नीतिलाई सशक्त स्थापना गर्न सक्ने इमान्दार र जुझारु पुस्तामा अबको नेतृत्व जाओस् । कांग्रेस र कांग्रेसीजनलाई १३ औ महाधिबेसनको हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार