दिन भरि जंगल जंगल भौतारिने पन्छी साँझ पर्नै लाग्दा आफ्नै गुँडमा पुग्छ, पेट भरिए पछि गोठ सम्झन्छन् जनाबारहरु पनि ।  हामी त मान्छे हौं, चेतनशिल प्राणी, हामीलाई पनि आफ्नै घर, गोठ र धुलौटे बाटो प्यारो छ । जीन्दगी जिउने यो वा त्यो बाहानामा संसार भरि पुगेका हामी नेपालीहरु आफ्ना अनेक इच्छा आंकाक्षाहरुसंग हरपल सम्झौता गर्दै तत्–तत् ठाउँमा रमाउने प्रयासरत छौं । यी  प्रयासहरु हाम्रा क्षणिक आबश्यकता सहज आपूर्तिका लागि मात्र हुन् ।

नत्र भने हिमालदेखि पहाड हुँदै तराईसम्म लमतन्न हाम्रो देशमा प्राकृतिक रुपमा सबथोक छ । हो, आफैसंग भएका कुराहरू लाई हामीले अलिकति चिथोर्न, अलिकति अनुकुलतामा ढाल्न, अलिकति काट्छाट गर्न समय लागेको हो । समय लाग्छ पनि, अरु केहि समय लाग्ला तर संसार कै सम्पन्न मुलुक बन्नाका लागि नेपालसंग स्रोतहरू भने नभएका होइनन् । बिगतका केहि दशकमा बिश्वले जसरि प्रबिधिको बायुपंखी घोडामा चढेर उन्नती र प्रगतिको शिखर चढे, चढीरहे, हामी भने घरेलु राजनीति ब्यबस्था मिलाउन र बिकासको लागि स्थायित्व खोज्न नै लागि रहयौं । अब बुझ्नु पर्ने कुरा हो राजनीतिक अधिकारको अन्त्य र पूर्ण प्राप्ति कहिल्यै नहुने रहेछ । देश शैक्षिक, प्राबिधिक र औधोगिक रुपमा सबल हुँदै गर्दा स्वत: राजनीतिक अधिकारका मोडेलहरू फेरिदै जानेछन्, फरक हुँदै जानेछन् । हामीले यदि कुनै राजनीतिक अधिकारको कल्पना गरेका छाैं भने यो पक्का छ बदलिदो दुनियामा ति अमिल्दा हुन्छन् र नबिर्सौ हर चिज परिबर्तनशिल छन् ।

शैक्षिक उन्नति देश परिबर्तनको सबैभन्दा ठूलो कडी रहेछ, हामी यदि कतै पछि परेका छाैं भने त्यही नेर पछि पर्यौं । शैक्षिक फड्कोले सोच बदलिन्छ, सोचले नै हाम्रो संस्कार र रिति रिवाजमा बदलाव आउँछ । अन्तत: हामी कर्मयोगी बन्छौं, कर्मयोगीले कर्ममा बिश्वास गर्छ र कर्मको कुनै सम्प्रदाय हुँदैन, कुनै बाद र बर्ग हुँदैन । अनि बन्छ देश, अनि देखिन्छ परिबर्तन । उदाहरणको लागि टाढा जानु पर्दैन, हामीले आफुलाई सम्पन्न मान्दै गर्दा हामीभन्दा निक्कै तल रहेको दक्षिण कोरिया आहिले बिश्वका सम्पन्न मुलुकमा गनिन्छ, त्यो कुनै बादले भएको होइन यदि कुनै बाद नै हो भने पनि कर्मबाद मात्र हो ।

हामीले २/४ मुलक हेर्यौं, देख्यौं यहाँका कर्मयोगीहरू, हामीले दक्षिण कोरिया पढयाैं, जर्मनी पढयाैं, हिरोसिमा–नागासाकी पछिको जापान पढ्याैं, बिश्वको बजारलाई अगोट्दै गरेका उदयमान भारत र चीनलाई नजिकबाट जान्यौं । अनि त भन्न सक्छाैं हामी भित्र पनि सम्भावाना छन्, त्यसैले बिदेशिएका हामीहरू, ग्रहुङ्गाे मन लिएर यतै बस्न लालायित हामी सबै एक दिन फर्कने जन्मभूमि नै हो । अस्थाई रुपमा परिश्रम बेच्दै गरेका हामीहरूलाई यतैको रहन सहन र दिनचार्यले कतै मन भड्किएको हुन् सक्छ, त्यसैले त यहाँको स्थाई बसोबासको नियम या नागरिकताका नियम परिबर्तन हुँदै गर्दा हाम्रो मन पनि अलमलिन्छ, अमिलिन्छ । यदि हामी कसैले पनि यो नियमका करण मेरो यताको बसाइ लम्बिदैन कि, मेरो योजना बन्दैन कि भन्ने सोचेका छौं भने त्यस्तो कुरामा चिन्ता नगरौं । किनकि हामी फर्कने त एक दिन उतै हो, फर्कने घर मै हो । आफुलाई शीप शिक्षा र ज्ञानले अझ निखार्दै लगौं ता कि संसारको जुन सुक्कै कुनामा आफु बिक्न सकुँ वा अन्त्यमा त्यो शीप र ज्ञान आफ्नै जन्मभूमिका लागि खर्चन सकौं । त्यसैले झिना मसिना आप्रबास सम्बन्धी नियममा हाम्रो मन नअल्झाऔं, न पिरोलियाैं, यो हाम्रो अन्तिम गन्तब्य हुँदै होइन यो त हाम्रो ट्रान्जिट मात्र हो । एक दिन हामी फर्कने नै हो, निस्फिक्री हिमाल, पहाड र तराइ विचरण गर्दै सगरमाथाको सुगन्ध लिएर अहिंसा र शान्तिको प्रत्याभूति संसारलाई दिने हो त्यति बेलासम्म पनि हाम्रो परिचय नेपाली नै हो, नेपाली नै हुनु पर्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार