श्वेता खड्का नेपाली फिल्मका दर्शकहरूको लागि प्यारो नाम हो । दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी पनि हुन् श्वेता खड्का । विडम्बना के रह्यो भने विवाह भएको ३१ औं दिनमै श्वेतालाई श्रीकृष्णले एक्लै छाडेर यो संसारबाट विदा भए । नव दुलहीकै रुपमा श्रीमान्लाई गुमाउन बाध्य भएकी श्वेताले करिव एक वर्ष शोकमै बिताइन् । श्रीकृष्णको निधन भएको करिव डेढ वर्षपछि मात्र श्वेता घरबाट बाहिर निस्कन थालेकी छिन् । यतिबेला उनी काठमाडौंको दरबारमार्गमा आफैंले सञ्चालन गरेको क्याफेमा समय दिन थालेकी छिन् भने समाजसेवामा पनि उत्तिकै सक्रिय छिन् । निकट भविष्यमै आफ्नै लगानीमा ‘कान्छी’ शीर्षकको फिल्म निर्माण गर्ने घोषणा समेत गरेकी छिन् । काभ्रेका भूकम्प पीडितहरूका लागि एकीकृत वस्ती निर्माण गर्ने अन्तिम चरणमा रहेकी श्वेतासंग द नेपाली टाइम्स अष्ट्रेलियाका कृष्ण भट्टराईको सेलिब्रेटी टक :

सामान्य जीवनमा फर्किँदै हुनुहुन्छ, कस्तो अनुभव गरिरहनु भएको छ ?

सामान्य जीवनमा फर्किनु मेरो बाध्यता हो । रमाइलो लागिरहेको छ त भन्दिन तर जीवनभरी शोकमा डुबेर बस्नु पनि ठिक होइन भन्ने लागेर वास्तविक जीवनमा फर्किएकी हुँ ।

दुई वर्षपछि रातो रंगको पहिरनमा फोटो सूट गर्दाको अनुभव चाहिं कस्तो रह्यो ?

यो पनि एउटा बाध्यता नै हो । म फिल्म क्षेत्रसंग सम्बन्धित भएको कलाकार भएकाले कुनै न कुनै दिन घरबाट बाहिर आएर फिल्ममा सक्रिय हुनै पथ्र्यो । त्यसैको थालनीका लागि रातो पहिरनमा फोटोसेसन गरेकी हुँ । फोटोसेसनका क्रममा खासै उत्साहित हुन भने सकिन ।

ती तस्बिरहरू फेसबुकमा अपलोड गर्दा कस्ता प्रतिक्रिया पाउनु भयो ?

अधिकांश प्रतिक्रियाहरूले मलाई शुभकामना दिइरहेका थिए । नयाँ जीवन थालनी गर्न आग्रह गरिएका प्रतिक्रियाले ममा आत्मविश्वास बढाएको छ ।

फिल्म नै निर्माण गर्ने घोषणा गर्नु भएछ नि ?

हजुर । मैले जानेको एउटा मुख्य काम भनेको फिल्म नै हो । अघिल्ला केही फिल्ममा अभिनय गरेपछि तथा केही फिल्ममा श्रीकृष्ण श्रेष्ठलाई फिल्म निर्माण सहयोग गरेको आधारमा मैले फिल्म निर्माण गर्ने घोषणा गरेकी हुँ ।

कस्तो हुनेछ यो फिल्म ?

फिल्मको शीर्षक ‘कान्छी’ राखिएको छ । म आफैं यो फिल्मको मुख्य भूमिकामा प्रस्तुत हुनेछु । अभिनेता दयाहाङ राईले मलाई साथ दिनु हुनेछ ।

शोकको एक वर्ष कसरी बिताउनु भयो, छोटकरीमा भनिदिनु्स् न ?

म ६ महिनासम्म गहिरो शोकमा परें । मेरो शरीरले खाना पचाउन छाडेको थियो । औषधिले काम गरिरहेको थिएन । म सानैदेखि ढाडको बिरामी थिएँ । अस्पतालको बसाइ र त्यसपछिका घटनाले लामो समय खान सकिन । डिप्रेसनमा त थिएँ नै, यी सबै कारणले मेरो शरीरका अंगहरूले पनि काम गर्न छाडे । मलाई ट्वाइलेट पनि समातेर पुर्‍याइदिनु पथ्र्यो । ६ महिनासम्म निद्राको औषधिले पनि काम नगरेर जाग्राम बस्नु पर्थ्यो । ६ महिनापछि विस्तारै आत्मबल बढ्दै आयो । विदेशमा गएर मानसिक उपचारसंगै अन्य उपचार गरेपछि म ठीक हुन थालें । मलाई म ठीक छु भन्न एक वर्ष लाग्यो ।

तपाईंलाई यो अवस्थामा फर्काउने श्रेय कसलाई दिनुहुन्छ ?

अमेरिकाका मानसिक रोग विशेषज्ञ डा. मुन तथा नेपाली चिकित्सक डा. व्यापक पौडेललाई । पछिल्लो समय जब मैले हिलारी क्लिन्टनको बायोग्राफी ‘हार्ड च्वाइस’ पढें, लाग्यो, मेरो जस्ता दु:ख धेरै महिलाले भोगेका छन् । विशेषगरी डा. मुनले मलाई जीवनका सकारात्मक पाटाहरूका बारेमा धेरै कुराहरू देखाए, बुझाए । मैले पनि म के गर्न सक्छु भन्ने सोच्न थालें । सोच्दा मलाई कुरेर मेरो बिजनेस बसिरहेको छ । मेरा दर्शक बसिरहनु भएको छ । मेरा शुभचिन्तकहरू छन् भन्ने लाग्यो ।

अब तपाईंलाई कुन रूपमा देख्न पाइन्छ ?

कान्छी फिल्म निर्माण गर्दैछु । दयाह्याङ राई मेरो अपोजिटमा हुनुहुन्छ । यो फिल्मलाई मैले विशेष समय छुट्याउन थालेकी छु । यसबाहेक म नायिकाभन्दा बढी बिजनेस वुमन हँु । मेरा सबै व्यवसाय सफलताका साथ चलिरहेका छन् । यसलाई अझ फैलाउन चाहन्छु ।

भविष्यमा तपाईं कसैको प्रेममा पर्ने सम्भावना कत्तिको छ ?

जीवनमा मलाई धेरैले फलो गरे । धेरैले प्रेम प्रस्ताव राखे । १७ वर्षको उमेरदेखि श्रीदादासंग विवाह हुने बेला २६ वर्षको उमेरसम्म सयौं युवकमध्ये मैले कसैलाई प्रेम गर्न सकिनँ । सायद म श्रीदादा जस्तै परिपक्व पुरुषलाई मात्र माया गर्न सक्थें । अहिले पनि म आफूलाई नवविवाहित नारी नै अनुभव गर्छु र सम्भवत: कुनै विवाहित नारीले पुन: अरू कसैसँग विवाहको कल्पना गर्दिनँ । जीवनको नयाँ अध्याय प्रारम्भ भएको छ तर पुरानो च्याप्टर सकिएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार