अष्ट्रेलियास्थित औषधी कम्पनी मल्टिगेटले नेपाललाई करिब ३० हजार डलर बराबरको स्वास्थ्य सम्बन्धी उपकरणहरू र औषधी उपलब्ध गराएको छ । उक्त सहयोग सामाग्री एनआरएनको पहलमा नेपाल पठाइदैछ । एनआरएनले दिएको जानकारी अनुसार स्वास्थ मन्त्रालयका प्रमुख डा. बालकृष्ण खकुरेल र डा. भगवान कोईरालासंगको छलफल र परामर्शपछि पठाउन लागिएको हो । एनआरएन प्रवक्ता रञ्जु वाग्ले थापाका अनुसार लामो समयादेखिको पहलमा उक्त मेडिकल सामाग्री नेपाल पठाउन लागिएको हो । उनले प्राप्त औषधी तथा उपकरण स्वास्थ्य मन्त्रालय अन्तरगत आवश्यक स्थानमा वितरण गरिने समेत बताईन् । मल्टिगेटबाट औषधी उपलब्ध गराउन रेखा गुरुङ र दीपा राईले संयोजन गरेको समेत उनले जानकारी दिईन् । करिब २ टन तौल रहेको उक्त सहयोग सामाग्रीमा नेपाल सरकारले १ प्रतिशत भन्सार शुल्क लगाउने भएपछि उक्त रकमसमेत एनआरएनले भुक्तानी गर्ने एनआरएन ओसिनिया संयोजक महेन्द्रकुमार लम्सालले बताए । एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले सामान पठाउन करिब ६ हजार डलर ढुवानी शुल्क लाग्ने भएकाले उक्त रकम एनआरएन भिक्टोरियाले ५ हजार डलर र समाजसेवी धर्मराज अधिकारीले १ हजार डलर तिरिदिने भएको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार