कर्म गर्दै योगबाट महायोगमा, महायोगबाट पंरम योगको यात्रा गर्ने हो की ?

-- / प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७३

yoga-novemberसत्य असत्य हुन सक्दछ भने असत्य सत्य हुन पनि सक्दछ । कहिलेकाहीँ सत्य बोल्नको लागि असत्यको सहारा लिनै पर्दछ र त्यो असत्य सत्य भन्दापनि ज्यादा सत्य देखिन्छ । यस्तै कतिपय सत्यहरू भविष्यमा गएर असत्य सावित भएका छन् भने कतिपय असत्यहरू अहिले आएर सत्य साबित भएका छन् । जस्तै केही समय पहिला पृथ्वी गोलो छ भन्ने मान्यता थियो र त्यही अनुरुप विविध विज्ञानको जन्म भयो । त्यही कुरा सत्य थियो पछि गएर पृथ्वी गोलो होइन सुन्तला आकारको छ भन्न थालियो । पहिलो सत्य अहिले आएर असत्य बन्न पुग्यो । त्यस्तै केही समय पहिला सुरजले पृथ्वीलाई परिक्रमा गर्दछ भन्ने मानिन्थ्यो । यही बचन सत्य थियो । पछि गएर पृथ्वीले सुरजलाई परिक्रमा गर्दछ भन्ने आयो । पहिलाको सत्य अहिले आएर असत्य बन्न पुग्यो । केही समय पहिलासम्म बनस्पतिहरूमा चेतना छ भन्ने कुरा असत्य थियो । यस बचनलाई अस्वीकार गरिएको थियो । पछि गएर बनस्पतिहरूमा पनि चेतना हुन्छ भन्ने कुरा प्रमाणित गरियो र पहिलाको असत्य बचन सत्य बचन हुन पुग्यो । यसरी नै हजारौं उदाहरणहरूको साथमा भन्न सकिन्छ कि सत्य बचन र असत्य बचनमा परिवर्तन भै नै रहन्छ यसमा कुनै विबाद नै छैन किनकी जीवमात्र होइन प्रकृति नै बिनासकारी छ अथवा प्रकृतिको समेत जन्म र मृत्यु हुने गर्दछ । पृथ्वी, सुरज, विविध ग्रह, उप–ग्रहहरू समेत जन्मने, जवान हुने, बुढो हुने र मर्ने अथवा विलिन हुने र फेरी नयाँ जन्म लिने कार्य यस ब्रहमाण्डमा भै नै रहन्छ । यतिमात्र हो समयको मात्र अन्तराल छ । जहाँ सृष्टि र विनासको कार्य भइरहन्छ त्यहाँ असत्य सत्य र सत्य असत्य हुने खेल चलि नै रहन्छ ।

हाइड्रोजन र अक्सिजन मिलाउँदामा मात्र पानी बन्दैन । विद्युतको उपस्थितिमा मात्र हाइड्रोजन र अक्सिजन मिलाउँदा पानी बन्दछ ।

पंरम बचन न त सत्य हुन्छ न त असत्य नै । पंरम बचन सदा एउटै हुन्छ जसको कुनै खण्डन नै हुँदैन । पंरम बचन त अखण्ड हुन्छ । पंरम बचनलाई समय र कालले छुनै सक्दैन । यसैको उपस्थितिमा नै समय र कालको जन्म भएको छ जुन भित्र यो सारा ब्रह्माण्डमा देखिने प्रकृतिको सृष्टि र बिनास भैरहेको हुन्छ तर ऊ सदा उस्तै रहन्छ जसलाई कुनै शब्दबाट बोल्नासाथ त्यो पंरम बचन सत्य वा असत्य बन्न पुग्दछ । पंरम बचन त शून्य छ, निराकार छ । शब्द भित्रको निशब्दमा, आवाज भित्रको बेआवाजमा, मन भित्रको बेमनमा घनाघोर बादल भित्रको सुरज भै चम्की रहेको छ । यस पंरम बचनलाई जान्नको लागि निरन्तर साधना गर्नु पर्दछ । मनबाट सारा विचार, कुविचार, इच्छा, कुइच्छाहरूलाई हटाउने कला जान्नु पर्दछ । चौविसै घण्टा होसमा बसिरहनु पर्दछ तव नै त्यस पंरम बचनको अनुभव गर्न सकिन्छ । पंरम बचन त केवल अनुभवमा छ । यही पंरम बचनको उपस्थितिमा मात्र बच्चाहरू स्वत: अनुशासित हुन पुग्दछन् त्यस समयमा उनीहरूलाई अनुशासनको कुनै कुरा सिकाउनु पर्दैन । पुलिसको उपस्थितिमा मात्र बदमासहरू स्वत: शान्त हुन पुग्दछन् । हाइड्रोजन र अक्सिजन मिलाउँदामा मात्र पानी बन्दैन । विद्युतको उपस्थितिमा मात्र हाइड्रोजन र अक्सिजन मिलाउँदा पानी बन्दछ । यसरी नै पंरमबचनको उपस्थितिमा नै यी सारा सत्य असत्यका बादबिबादहरूलाई चटक्क विर्सेर पंरम बचन अथवा पंरम सत्य के हो त ? यसको खोजीमा लागि राखौं जसले हामीहरूलाई सारा सांसारिक झंझटहरू, रीस रागहरू, कूविचारहरू, तछाड र मछाडको दौडधुपहरूबाट सहज रुपमा मुक्ति दिलाउँदछ । रोजी रोटीको लागि, शिक्षा–दीक्षाको लागि, औषधी उपचारको लागि काम गर्दै त्यही पंरमसत्यको एकाकार भइरहने महाशक्ति प्राप्तको लागि शारिरीक, मानसिक एवं मृत्युको साधनाका विधिहरू जीवनमा उतारीरहनु पर्दछ । यही शारिरीक, मानसिक मृत्यु एवं पूर्नजन्मको साधनाबाट नै हामी यस पंरमसत्यमा अथवा पंरमबचनमा एकाकार हुन सक्दर्छौं । यसैको लागि मानव शरीर र मानव मनको जन्म भएको हो । यो मौकालाई नगुमाऔं किनकी मानव जन्म बढो मुस्किलले मात्र प्राप्त हुन्छ ।

वर्तमानमा मोज गर्नेहरू अथवा विचार र वुद्धिलाई लठ्ठ बनाउनेहरू जवानीदेखि नै शरीरलाई स्वस्थ, मनलाई प्रसन्न बनाउने साधना र नमर्ने उर्जाको खोज नगर्नेहरूको अन्तिम अवस्था रुवावासी एवं हाहाकार हुन पुग्दछ ।

आत्मा सुझाब

बारम्बार दोहोऱ्याउने सकरात्मक कुराले आत्मालाई अथवा मनलाई जगाइदिन्छ र मन खुसि हुन थाल्दछ अनि त्यो दोहोऱ्याइएको कुरा साँच्चै संसारमा प्रकट हुन थाल्दछ । मनलाई बारम्बार झुकाब दिइरहन सक्नु त्यो शक्ति हो जसले मान्छेलाई मानबबाट महामानव बनाउँछ । हाम्रो मन अथवा आत्म सदा ताजा रहन्छ । मन ताजा हुनासाथ हामीले आँटेका सकरात्मक कुराहरू तु पूर्ति हुन थाल्दछन् । यसरी मन प्रति मन केन्द्रित गरिरहनु, मनको आँखा स्मरण गरिरहनु, मनलाई स्वयंमा कैद गरिरहनु, मनको यात्रा बन्द गर्नु लाई नै आत्मा सुझाब भनिन्छ । आत्मा सुझाबले नै हाम्रो मन आत्मा र परमात्मा बन्न पुग्दछ । मनबाट कुविचारहरू समाप्त हुनासाथ त्यही मन परमात्मा बन्न पुग्दछ । यसरी आत्मा सुझाब गर्दै जाने हो भने सांसारिक सफलताको त कुरै छाडौं हामी परमात्मा समेत बन्न सक्दछौं । किनकी परमात्मा बन्न सक्ने बीऊ हामी सबैमा छ त्यस बीऊलाई आत्मा सुझाब मार्फत हुर्काउन, फुलाउन र फलाउन सकिन्छ जसको लागि निरन्तर चौविसै घण्टा अभ्यास गरिरहनु पर्दछ । यसरी हामी भित्र भएको परमात्माको निराकार बीऊलाई आकारमा ल्याउन आत्मा सुझाबले ठूलो एवं महत्वपूर्ण भूमिका खेल्दछ । त्यसैले कंश बन्ने कि कृष्ण बन्ने, राम बन्ने कि रावण बन्ने, परशुराम बन्ने कि सहस्रार अर्जुन बन्ने, ध्रुब बन्ने कि हिरण्यकस्युप बन्ने, अमीर बन्ने कि गरिव बन्ने …….आदि कुराहरू आँफूले आँफूलाई दिएको आत्मा सुझाब र नियमित साधना अथवा कर्ममा नै भर पर्दछ । के बन्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा छ । यति मात्र हो कि यसका तरिकाहरू जान्नु पऱ्यो । त्यही तरिका जान्ने कुराहरूलाई नै सतसंग, साधना, अभ्यास, आत्मा–सुझाब, ध्यान, योग आदि भनिन्छ ।

विराट लक्ष्य के हो के होइन ?

कुरा महाभारतको युद्ध हुनुभन्दा पूर्व कृष्णलाई आ–आफ्नो पक्षमा पार्न अर्जुन र दूर्योधन दुवै कृष्णको घरमा पुग्दछन् । कृष्णले शर्त राख्दै भन्दछन् । “म अथवा मेरा लाखौं नारायणी सेना मध्ये एक रोज र म जुन पक्षमा गए पनि युद्धभरी हतियार उठाउँदिन्न ।” हतियार सहितका लाखौं सेनाहरूलाई छाडेर अर्जुन निहत्या कृष्णलाई रोज्दछन् भने दूर्योधन लाखौं सेना पाएर भख्ख भइ फर्कन्छन् । परिणाम यो हुन पुग्दछ कि हातहतियारबाट सुसज्जित विशाल नारायणी सेना पाएका दूर्योधन हार्दछन् भने हतियारै नउठाउने कृष्णले लिएको पक्षको जीत हुन्छ । यस कथामा कृष्ण क्वालिटीका प्रतीक हुन भने नारायणी सेना क्वान्टिटीका प्रतीक हुन् ।

अर्जुन र दूर्योधन दुवैको मूल उद्देश्य युद्ध जित्नु नै थियो । आ–आफ्नो उद्देश्य प्राप्तिका लागि अर्जुनले क्वालिटी र दूर्योधनले क्वान्टिटीको बाटो रोजे । यो कुरा याद गर्नै पर्दछ क्वालिटीको अगाडि क्वान्टिटी जहिलेपनि हार्दछ । यस्तै असफल हुने ९९ प्रतिशत भन्दा बढी मान्छेले पैसा र प्रज्ञाबीच रोज्नुपर्दा पैसालाई र ऊ अन्तमा असफल हुन्छ किनकी पैसाको आविस्कार पनि प्रज्ञा वा ज्ञानले नै गरेको हुन्छ ।

त्यस्तै पाण्डबले अत्यन्त कठोर १३ वर्ष निर्वासित जीवन विताइरहँदा उनीहरू दिब्यशास्त्र खोज्दै, तीर्थब्रत, दान, तप, ध्यान, योग गर्दै थिए भने कौरवहरू महलमा यश आरामका साथ विना ध्यान, विना तप, विचार र वुद्धिलाई लठ्ठ बनाउने आहारहरू प्रयोग गर्दै दिनहरू विताइरहेका थिए । यसरी वर्तमानमा मोज गर्नेहरू अथवा विचार र वुद्धिलाई लठ्ठ बनाउनेहरू जवानीदेखि नै शरीरलाई स्वस्थ, मनलाई प्रसन्न बनाउने साधना र नमर्ने उर्जाको खोज नगर्नेहरूको अन्तिम अवस्था रुवावासी एवं हाहाकार हुन पुग्दछ । त्यसैले जवानी अवस्थादेखि नै शारीरिक, मानसिक एवं मृत्युको साधनाको अभ्यासमा लागिहालौं तव नै हाम्रो अन्तिम समय र मृत्यु पछिको नयाँ जीवन ज्ञातमय एवं ध्यानमय बन्न पुग्दछ । शारीरिक वासनाहरू होइन आवश्यकताहरू पूरा गर्दै जवानी अवस्थाबाट नै अन्तिम अवस्थाको तयारी गर्नु पर्दछ । ५ वर्षको उमेरदेखि ३० वर्षको उमेरसम्म हामी रोजीरोटीको तयारीमा लाग्दछौं ३० देखि ६० वर्षसम्मको समयमा रोजीरोटीको आवश्यकता पूरा गर्दै शरीरलाई स्वस्थ, मनलाई प्रसन्न बनाउने साधनाहरू गर्दै नमर्ने उर्जाको खोजमा लाग्नु पर्दछ तव नै ६० पछिको जीवन आनन्दमय बन्दछ ।

 भोको शरीरले ध्यानको अनुभुति गर्न सक्ने सम्भावना अति नै कम हुन्छ । अरुसँग भिख मागेर ध्यान प्राप्त गर्न प्राय: कठिन छ त्यसैले शारीरिक भोक मेटाउन स्वयंले कर्म गरिरहनु पर्दछ । साधारणतय शरीरलाई स्वस्थ बनाउने विविध आशनहरूलाई योग भनिन्छ । मनलाई प्रशन्न बनाउने विविध विधिहरूलाई महायोग भनिन्छ । जस्तै : पूजा, पाठ, प्राथना, भक्ति, ज्ञान, त्राटक, एकाग्र आदि । यी सबै जानेर पनि नजान्नुलाई पंरमयोग भनिन्छ ।