Egyptair crashभूमध्यसागरमा दुर्घटनाग्रस्त भएको इजिप्ट एयर विमानको खोजी गरिरहेको टोलिले मानव अवशेषहरू फेला पारेको छ । इजिप्टको उद्दार समूहले ती अवशेषहरू भेटेको हो । उनीहरूले सिट र लगेजका सामानहरू पनि फेला पारेका छन् । इजिप्टको सेनाले फेला परेका ती सबै बस्तुका तस्वीर समेत सार्वजनिक गरेका छन् । यात्रु र चालकदलका गरी ६६ जना सवार विमान पेरिसबाट कायरोका लागि उडिरहेको बेला मे १९ का दिन समुद्रमा खसेको थियो । विमान दुर्घटनामा पर्न‘ अघिको महत्वपूर्ण १२ मिनेटमा ककपिटमा के भएको थियो भन्ने विषयमा विभिन्न अनुमानहरू भइरहेका छन् । उक्त समयमा हवाइ ट्राफिक नियन्त्रकहरूले विमानका चालकसग सम्पर्क गर्न सकेका थिएनन् । बेपत्ता भएको इजिप्ट एयरका भग्नावशेषहरू भूमध्यसागरमा तैरिरहेको अवस्थामा फेला परेका हुन् । इजिप्टको सेनाका प्रवक्ताले दुर्घटनाग्रस्त विमानको भग्नावशेष र यात्रुका सामानहरू एलेक्जेण्ड्रियाबाट करिव २ सय ९० किलोमिटर टाढा भेटिएको बताएका छन् । ती सामानहरू राडारबाट विमान बेपत्ता भएको क्षेत्रबाट अलिकति दक्षिणी क्षेत्रमा भेटिएको ग्रीसका रक्षामन्त्री पानोस क्यामेनोसले बताएका छन् । इजिप्टका अधिकारीहरूले विमान त्यसरी खस्नुका पछाडि आतंकवादी क्रियाकलापलाई सम्भावित कारण भनेका छन् । विमान वेपत्ता हुनुअघि क्याबिनका विभिन्न भागमा धुवाँ देखिएको पनि अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार