२०३५ सालमा जन्मेका कर्णप्रिय स्वरका धनी यशकुमारले बि.सं २०५२ बाट आफ्नो सांगितिक यात्रा सुरु गरेका हुन् । म कैले हाँसेको थिएँ……., जानी जानी आइन……., हिजो अर्कैसँग देखे……, म आफ्नै आँगनमा इनार बनाउछु……., मैले छोएको पानी चल्दैन…….. लगायत उनका दर्जनौ गीत अहिले पनि दर्शक श्रोताको मुखमा गुन्जिने गर्छ । उनका गीत मनोरञ्जन दिने मात्र होइन नेपाली समाजलाई चित्रण गर्दै जनचेतना जगाउने खालका हुन्छन् । पछिल्लो समय उनको परिचयको दायरा अलि फराकिलो भएको छ । म्युजिक भिडियो निर्देशनदेखि लिएर चलचित्र क्षेत्रमा समेत उदाएका छन यश । बाटोमुनिको फूल, आधि बाटो, वीर र बाटोमुनिको फूल २ उनले अभिनय गरेका चलचित्र हुन् । अहिले उनी आफ्नो चलचित्र बाटोमुनिको फूल २ को प्रदर्शनका दौरानमा अष्ट्रेलिया यात्रामा छन् । उनै यश कुमारसंग द नेपाली टाइम्स अष्ट्रेलियाका लागि बिष्णु सापकोटाले गरेको संक्षिप्त कुराकानी :

यश जी, आरामै हुनुहुन्छ ? स्वागत छ तपाईँलाई अष्ट्रेलियामा ।
धन्यबाद, आरामै छु ।

पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?
मेरो चलचित्र बाटोमुनिको फूल २ तयार पारेर प्रदर्शनकै दौरानमा अहिले अष्ट्रेलियाका बिभिन्न शहरमा डुल्दै छु । यस लगत्तै म सांगितिक कार्यक्रमकालागि जापान जाँदै छु ।

तपाईँले आफ्नो सांगितिक यात्रा कहांबाट सुरु गर्नुभयो ?
२०५१ सालमा मैले काठमांडौ सितापाइलामा रहेको कला मण्डपमा भोकल कक्षा लिएं । लगत्तै २०५२ मा मैलै आफ्नो पहिलो ३ वटा एल्बम आस्था, यो संसार र उमेर निकालें । त्यहि समयदेखि निरन्तर सिर्जना गरिरहेको छु ।

सांगितिक क्षेत्रमा लाग्ने प्रेरणा कसरि मिल्यो तपांइलाई ?
सानो छँदा गाउँघरतिर रेडियोमा मीठामीठा गीतहरू बज्ने गर्थे । ति गीत सुन्दा मलाईपनि गीत गाउन मन लाग्थ्यो, त्यही रेडियोबाट आफ्नो गीत बजाउन पाए हुन्थ्यो, कलाकार बन्न पाए हुन्थ्यो जस्ता कुराहरू मनमा आउँथे । तिनै रहरले मलाई सांगितिक क्षेत्रमा आउने प्रेरणा मिल्यो ।

आफ्नो करियरकै उत्कृष्ट रचना कुन गीतलाई मान्नुहुन्छ ?
बाबुआमालाई सबै सन्तान बराबर लागेजस्तै मेरा सबै सिर्जना मलाई उस्तै लाग्छन् । मैले छोएको पानि चल्दैन गीतले मलाई नयाँ उचाइ दियो र धेरै बर्षपछि झरि पर्यो भन्ने गीतको शब्द उत्कृष्ट लाग्छ । तरपनि नेपाली सांगितिक क्षेत्रलाई मैले अझै उत्कृष्ट दिन सक्छु जस्तो लाग्छ ।
तंपांइ सांगितिक क्षेत्रमा स्थापित मान्छे किन चलचित्र क्षेत्रमा लाग्नुभयो ?
सांगितिक क्षेत्रमा पाएको दर्शकको मायाँले म हौसिएँ, त्यहि मायांको लोभ बढ्यो अनि चलचित्र क्षेत्रमा पनि लागे । पहिले मेरा स्रोता मात्र थिए अहिले दर्शकपनि छन् । चलचित्रको पर्दामा देखिएर समाजलाई केहि योगदान गर्नुपनि मेरो यो क्षेत्रमा आउने अर्को उद्देश्य थियो ।

अभिनय र गीत गाउनुमा कत्तिको भिन्नता पाउनुभयो त ?
हेर्दा उस्तै उस्तै लागेपनि धेरै भिन्नता छ यि दुईमा । गीत गाउँदा त्यसको सर्जक, गायक निर्माता सबै म हुन्थेँ तर अभिनय अर्कैले लेखेको कथामा एक्सन कट अनुसार चल्नुपर्छ । बन्द कोठामा एकसुरे भएर गीत गाउनुभन्दा सबैको सामु अभिनय गर्दै चरित्रलाई न्याय दिनु अलि गार्हो कुरा रहेछ ।

आफ्नो भबिष्य कुन क्षेत्रमा देख्नुहुन्छ, गीतसंगीतमा वा चलचित्रमा ?
म हिजो संगीतकार थिएं, गायक हुंदै नायक भएं । मुख्यत म एउटा कलाकार हुं जसको एउटा रुप नभएर धेरै हुन्छ् । भोलि म कलाकारिता घेराभित्र रहेर जुनै क्षेत्रमा पनि भेटिन सक्छु र जुन क्षेत्रमा जान्छु त्यसमा आफ्नो भबिष्य भेट्नेछु ।

दुबै क्षेत्रमा गुणात्मक भन्दा संख्यात्मक बृद्दि हुनुलाई के भन्नुहुन्छ, कसलाई दोषी ठान्नुहुन्छ ?
संख्यात्मक बृद्दि पक्कैपनि राम्रो होइन । यो क्षेत्रमा रहर गरेर धेरै आउंछन । क्षमता भएकाहरू टिक्छन तर सस्तो लोकप्रियताको लागि आउनेहरूलाई त दर्शक स्रोताले फिल्टर गरिहाल्छन् नि । संख्यात्मक बृद्दिको एउटा फाइदा चाहिं प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्राबिधिकहरूले रोजगार भने पाएका हुन्छन् ।

आफ्नो करियरको कुनै अबिष्मरणिय क्षण आफ्ना दर्शक श्रोतासंग साट्न चाहानु हुन्छ ?
म मेरो जिन्दगीको दुखद अबिष्मरणिय क्षण यहांहरूमाझ साट्न चाहान्छु । आर्थिक लाभमात्र नभएर यो समाजलाई पनि केहि योगदान र परिवर्तन गर्ने सोचका साथ म गायनबाट चलचित्रमा होमिएं । आफ्नै लगानी र कथामा बाटोमुनिको फूल चलचित्र बनाएं । चलचित्रले राम्रो ब्यापार र दर्शक प्रतिक्रिया पाइरहेकै बेला केहि बिचौलियाहरूले पैसाको लोभमा मेरो चलचित्र कपि गरेर भिसिडि तथा युटुबमा निकाले । त्यतिबेला म चुर्लुम्मै डुबें । लामो समय केही सोच्नै सकिन । यो क्षेत्रमा आएर गल्ति पो गरें कि भन्ने पनि लाग्यो । त्यतिबेला नेपालमा साइबर कानुन फितलो भएको हुनाले मैलै कुनै क्षतिपूर्ति पनि पाइन । मेरो अबस्था निकै नाजुक भयो । तरपनि हिम्मत हारिन । दर्शकहरूले मोबाइल, युटुबमै भएपनि चलचित्र हेरेर मन पराइदिनु भयो र त्यहि दर्शकको मायांले मेरो घाउमा मल्हम लगायो ।

अन्त्यमा, अष्ट्रेलियामा रहेको तमाम दर्शकहरूलाई के भन्न चाहानुहुन्छ ?
सिर्जना बचाउने काम सर्जकको मात्र होइन दर्शकको पनि हो त्यसैले अष्ट्रेलियामा मात्र नभएर संसारभर छरिएर रहेका नेपाली मनहरूलाई नेपाली चलचित्र र गीतसंगीतलाई संधै माया गरिदिनुहुन आग्रह गर्छु । म जहां जे छु यहांहरूकै मायांको कारण छु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार