यो धर्तिमा थोरै मात्र व्यक्तिहरूले जन्म लिन्छन् जो वहुप्रतिभाका धनी हुन्छन् । केही आफ्नो प्रतिभा आँफैमा सीमित राख्दछन् त केही आफ्नो समाज अनि समुदायमा छोड्दछन् । जसले अन्यमा पनि ज्ञानरुपी ज्योति प्रदान गर्दछ । त्यस्ता बहु प्रतिभाका धनी एक व्यक्ति हुन यासेली योङ्गहाङ्ग । नेपालको पूर्वी भाग पाँचथरमा हुर्किएका यासेलीले नेपाली भाषाको अध्ययनमा निकै समय विताएका छन् । विशेषत: लिम्बूहरूको मुन्धुम सम्बन्धिको खोज अध्ययन जो कोहीसँग पनि अतुलनिय छ । देश फूलवारी हो, सबै फूलहरूले समाजमा फूल्ने अवसर पाउनु पर्छ भन्ने यासेली नेपाली कला साहित्यका एक खम्बानै हुन भन्दा सायदै फरक नपर्ला अझ विशेषत: अन्य भाषाभाषी झैं लिम्बु भाषाका एक प्रखर व्यक्तिमा पर्दछन् ।

यासेलीले भाषा, मुन्धुमको मात्र अध्ययन गरेनन् उनले गीत रचना, संगीत गर्नेदेखि गायनमा पनि उत्तिकै योगदान दिएका छन् । दर्जनौं गीतहरू रेकर्ड भएका छन् कुनै एकल रहेको छ त कुनै अन्यसँग पनि गाएका छन् । नाटक लेखन पनि उनको अर्को विधा हो । त्यसदेखि बाहेक स्टेज सोहरूमा विभिन्न चर्चित गीत तथा लयलाई आफ्नै शैलीमा प्रस्तुत गरेर मनोरञ्जन दिन पनि उत्तिनै महिर छन् । उनको भोगाइमा जीवन एक सुख र दु:खहरूको संगालो भने झैं केही वर्ष अघि शारिरीक अस्वस्थताले गर्दा धेरैको ध्यान उनको स्वास्थ्य प्रति निकै नै थियो । त्यसको कारण थियो, उनमा किड्नीको समस्या । नेपालमा केही डाक्टरहरूको लापर्वाहीले गर्दा अरु स्थिति विग्रन गएको थियो । तथापि पछि गएर सही उपचारको कारण धेरै नै परिवर्तन आएको यासेली बताउँछन् । त्यस्तो घडीमा सहयोग गर्नु हुने सम्पूर्ण प्रति अति नै आभार पनि प्रकट गर्दछन् । उनै यासेली केही वर्ष अघि आफ्नो जीवनको दोसाँधमा रहेतापनि कला, संस्कृति, खोज अनुसन्धानलाई निरन्तरता दिने व्यक्ति अहिले उनैद्धारा अभिनित नेपाली चलचित्र ‘चेसुङ्ग’ लिएर अष्ट्रेलिया आउनु भएको अवसरमा ‘द नेपाली टाइम्स’को तर्फबाट प्रकाश निङ्गलेकूले गर्नु भएको कुराकानीको केही अंश ।

सर्वप्रथम कुराकानीको थालनी गरौं तपाईँको स्वास्थ्य स्थितिबाट, केही वर्ष अघि विभिन्न मिडिया साथै नेपाली संस्थाहरूमा निकै मात्रामा तपाईँको स्वास्थ्यबारे चर्चा थियो । अहिलेको पछिल्लो स्थिति कस्तो छ ?

अहिलेपनि तपाईँ सँग कुराकानी गर्नु अघि मात्र औषधि लिएको थिएँ । पहिले भन्दा केही मात्रामा राम्रै छ । रोगको रोकथाम गर्ने काम हुँदैछ ।

वास्तवमा के रोग थियो भन्न मिल्छ ?

किन नमिल्नु । मलाई दुवै किड्नीको समस्या थियो । एउटामा अप्रेसन गरेर ढुङ्गा निकाल्दा लापरवाहीको कारण आधामात्र निस्किएछ र आधा भित्र नै बाँकी रहेछ । पुन: दोस्रो पटक अप्रेसन गर्नु पऱ्यो । अहिले एउटा किड्नीले मात्रै काम गर्दैछ जुन इण्डियामा एस्थेटिक गरिएको क्रममा हो ।

हाम्रो तर्फबाट पनि तपाईँलाई अरु स्वास्थ्य लाभको कामना छ । अब लागौं मुन्धुम तर्फ, सर्वसाधारणले बुझ्ने भाषामा भन्नु पर्दा मुन्धुम भनेको के हो ?

छोटो शब्दमा सबैले बुझ्ने गरी भन्नुपर्दा ‘मुन्धुम’ भनेको मानव जातिकै सर्वोकृष्ट कृति हो । अर्को शब्दमा भन्नुपर्दा ‘मौखिक विशाल शास्त्र हो ∕ भनेर हामी भन्न सक्छौं तर त्यति मात्रले चाहीँ मुन्धुमको शाब्दिक व्याख्याले पुग्दैन ।

भाषा, साहित्य, कला अनि मुन्धुमको अध्ययन गरिरहेको अवस्थामा जव डाक्टरहरूबाट तपाईँको आयु तोकियो त्यस अवस्थालाई फर्केर हेर्दा त्यस समयसम्म कला, साहित्य, भाषालाई सम्पूर्ण जीवन समर्पण गरिएको क्षणप्रति कुनै आत्मग्लानी वा सहानुभूति कस्तो रह्यो ?

त्यो दिन त अरुपनि सम्झदा आङ्ग नै जिरिङ्ग भएर आउँछ । ममा त्यस्तो प्रकारको कुनै नकरात्मक भावना उत्पन्न भएन तथापि एक चिन्ता मनमा थियो । यो मेरो खोज अनुसन्धानलाई कसले अगाडि बढाउला भनेर ।

अहिले त्यो यात्रा कहाँसम्म पुग्यो त ?

स्वास्थ्य स्थिति ठीक भएपछि पुन: खोज अनुसन्धानको लागि पूर्वी नेपालको विभिन्न स्थानमा पुग्ने र खोज गर्ने क्रम जारी नै छ । यासेलीका लिम्बू गीतहरूको संगालो र मेरा रेडियो नाटकहरूको संगालो पनि निस्कने तयारीमा छ । त्यस्तै गरेर मुन्धुमको पाण्डुलिपीको पनि तयारीमा छ ।

तपाईँ मानिस एक तर कला अनेक भनेझैं विभिन्न विधामा हात हालिसक्नु भएको छ जुन सफल पनि रहे तथापि आँफूलाई कुन विधाबाट चिनिन रुचाउनु हुन्छ ?

जुन समयमा विभिन्न विधाहरूमा कोही पनि अगाडि आउनुभएको थिएन त्यस समयमा एक समयको माग बनेर अगाडि देखा पर्नु पर्ने स्थिति रह्यो । कहिले गीत, साहित्य त कहिले नाटक अनि अभिनय । ती सबै समय अनुसार आएका हुन् । आज नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने भने झैं भएको हो । तर आँफूलाई एक लिम्बू भाषाको कला, संस्कृति, लिपीको जगेर्नाको निम्ति अथक लडिरहने र लडन मन पराउने एक योद्धा मात्रै ठान्छु ।

अन्त्यमा केही भन्नुपर्दा ?

अहिले यो पत्रिका पढिरहनु हुने, अध्ययन गर्नुहुने सम्पूर्णमा तपाईँहरू जहाँ रहेपनि जुनसुकै अवस्थामा रहेपनि आफ्नो संस्कार संस्कृति प्रति चिन्तन गरिदिनुहुन अनुरोध गर्दछु । र मेरो आफ्नो भावनालाई तपाईँहरूको पत्रिका मार्फत पाठकबीच ल्याइदिनुभएकोमा तपाईँहरू प्रतिपनि धेरै धेरै धन्यबाद छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार