Narayan Khadkaअष्ट्रेलियामा रहेर नेपाली साहित्यमा कलम चलाइरहेका युवा निष्प्रभ सजीले हालै प्रकाशन गरेको पुस्तक ‘डालिङ हार्बर’ ले विश्वब्यापी चर्चा मात्र कमाएन कि उल्लेख्य रुपमा ब्यापार समेत गर्न सफल भयो । नेपालबाट सार्वजनिक भएको पुस्तकले अष्ट्रेलियामा त ख्याती कमायो नै नेपालमा पनि मुलधारको साहित्यलाई मलजल गर्ने एक सक्षम कृति बनेर उभियो ।

सजीको यो पुस्तक सफलताले अष्ट्रेलियामा समेत लेखन खुसी भएका नेपाली साहित्यकारहरू अघि आउँदै गरेको प्रष्ट गरेको छ । हुनत यहाँ नेपाली साहित्यलाई मलजल गर्ने किसिमले कृतिहरू प्रकाशित नभएका हैनन् तर सजीको यो एउटा कृतिले नेपाली साहित्यलाई माया गर्ने र नेपाली साहित्यमा कलम चलाउनेहरूको लागि प्रेरणाको स्रोत बनिदियो ।

हेर्ने हो भने नेपाली कला संस्कृती र परम्पराको जर्गेनामा अष्ट्रेलियाका नेपालीहरू विश्वका अन्य नेपालीहरूभन्दा केही कम छैनन् नै अहिले विस्तारै नेपाली साहित्यमा समेत महत्वपूर्ण स्थान बनाउँदै गएका छन् । यहाँ आफ्नो दैनिक कर्म बाहेक नेपाली साहित्यको श्रीबृद्धिमा लागिपरेका सजीसँगै भीमसेन सापकोटा, सानु घिमिरे, प्रदीप चापागाई, निर्मल ज्ञवाली लगायतका ब्यक्तिहरू कृत्ति प्रकाशन गरेर नै अघि आइसकेका छन भने मेलबर्नकी पार्वती पहारी (तुफान), जितेन्द्र मल्ल, सुरेन्द्र दवाडी, बिज्ञान कंडेल, आलोक कोइराला, सजल नयन, सुरजदेव श्रेष्ठ लगायतका युवा तथा उदयिमान साहित्यकारहरू अघि बढिरहेका छन् ।

नेपाली साहित्य मुलधारमा आउन थालेको करिब आधा दशक मात्र भएको छ । त्यसअघि पनि नेपाली साहित्यका रचनाहरू आउने गरेपनि अहिलेको जस्तो सक्रिय नभएको स्वयं साहित्यमा लागिपरेकाहरू नै जानकारी दिन्छन् । पछिल्लो समयमा नेपाली पाठकहरूको उपस्थिती बाक्लिएका कारण पनि नेपाली साहित्यलाई मलजल पुगेको हो । ‘हामीले साहित्य लेख्ने नै पाठकहरूको लागि भएकाले समेत जति पाठकको संख्या बढ्छ त्यति साहित्यलाई मलजल पुग्ने हो । केही साताअघि ‘प्रश्नमा इश्वर’ नामक कृत्ति सार्वजनिक गरेका भीमसेन सापकोटाले भने– ‘त्यसैले पनि नेपाली साहित्यलाई सृजना गर्ने ब्यक्तिहरूको बृद्धि हुँदै गएको हो ।’

अहिले सामाजिक सञ्जालहरूका कारण समेत प्रवासको साहित्य फस्टाएको हो । केही दिनअघि मात्र अन्तराष्ट्रिय नेपाली साहित्य समाजले त आफ्नो बार्षिक कार्यक्रम नै भब्य रुपमा आयोजना गरेको थियो । जसले समेत अष्ट्रेलियामा नेपाली साहित्य फस्टाउँदै गएको पुष्टि गरेको छ । त्यसबाहेक समय समयमा बिभिन्न संघसंस्थाहरूले साहित्यिक कार्यक्रम गरिरहने भएकाले पनि यहाँ साहित्यलाई फस्टाउन मलजल पुगिरहेको छ ।

अर्काेतिर, यहाँ साहित्यलाई प्रोत्साहन गर्ने संघसंस्थाहरू अनेसास, अष्ट्रेलिया कला, संस्कृती तथा साहित्य प्रतिष्ठान, साताको साहित्य लगायतका संस्थाहरू समेत क्रियाशिल रहेका छन् । जसले समय समयमा नेपाली साहित्य सृजनामा लागिपरेका युवाहरूलाई कार्यक्रम मार्फत अवसरहरू उपलब्द्ध गराउँदै आएका छन् । साताको साहित्यले त अनलाईन मार्फत सातापिच्छे नयाँ नयाँ रचनाहरूलाई स्थान दिदै आएको छ ।

समग्रमा प्रवासको साहित्यलाई डायस्पोराको साहित्यको रुपमा चिनिएपनि अहिले भने मुलधारको साहित्यकै बराबरमा डायस्पोराको साहित्य अघि बढिसकेको छ । सानो रुपमा होस वा कृति प्रकाशित गरेर होस नेपाली साहित्यलाई मलजल गर्ने युवा जमात बढिरहेको छ र यसले यहाँको नेपाली साहित्यलाई द्रुत गतीमा अघि बढाइरहेको छ । द नेपाली टाइम्सले यो अंकमा अष्ट्रेलियामा रहेर नेपाली साहित्य सृजना गरेर केही न केही योगदान दिने साहित्यकारहरूसँग अन्तरक्रिया गरेको छ । यो अन्तरक्रियामा साहित्यमा लागिरहनुभएका सबैलाई समेट्न नसकिएपनि मुलधारमा रहेर कृति प्रकाशन गरेर अष्ट्रेलियाको साहित्यमा अग्रणी भूमिकामा रहेकाहरूलाई समेट्ने प्रयास गरेका हौं ।

Nisprav Sajiनिष्प्रभ सजी

साँच्चै भन्ने हो भने यहाँको साहित्यको बिकास प्रशंसनिय छ । अरुभन्दा अन्य देशहरूको तुलनामा युवा लेखकहरू लागिपर्नुभएको छ जुन अत्यन्तै राम्रो मात्र नभएर नेपाली साहित्यको लागि सुखद सन्देश हो । तर साहित्यको नाममा केही संस्था र ब्यक्तिहरू एउटा अचम्मको दौडमा भाग लिएझैँ देखिन्छन् ।

खुसीको कुरा चाहिं हामीले किताब किनेर पढ्ने सभ्यताको विकास गरिरहेका छौँ । पाठकले मन पराए भने चार—पाँचसय किताव बेच्न पनि अप्ठ्यारो रहेनछ । प्रकाशननै यताबाट गर्न अझै पनि कठिन छ । नेपाल वा भारतबाट छापेर यता ल्याउँदा नै सहज छ । संगसँगै यताबाट संयोजन गर्ने कुनै संस्था भयो भने यो कार्य अझै सहज हुने थियो । नेपालमा र परदेशमा पनि बढ्दै गइरहेको सिन्डीकेट सिन्ड्रोमले प्रकाशन देखि वितरण सम्म निकै प्रश्नहरू उब्जाएको छ । प्रचार प्रसारकै भरमा नराम्रा पुस्तकहरू के के न हुन् कि भनेर पाठकहरूलाई झुक्याइएको छ । तर यसको भविष्य भने हुँदैन । विक्रि प्रचार प्रसारमा मात्र आधारित हुनु नपर्ने हो । अथवा प्रचार प्रसारको मापदण्ड पुस्तकको स्तरियता हुनु पर्ने हो ।

नेपाली भाषामा कलम चलाउनेलाई परदेशमा फुलटाइम राइटर हुन्छु भन्न चाहिं झनै चुनौतिपूर्ण छ ।

 

Sanu ghimireसानु घिमिरे

प्रवासमा रहेर निरन्तर कलम चलाउन सहज अवश्यै छैन तरपनि कोशिष न हो जारी छ । विशेष गरेर महिलाहरूले साहित्यमा निरन्तर कलम चलाउन त झन असहज छ । घरायसी कामकाजमा पनि ध्यान दिनुपर्ने भएकाले समेत महिलाहरूलाई गाह्रो हुन्छ । उदाहरणका लागि अहिले साहित्यमा नाम कमाएका ब्यक्तिहरूका श्रीमतीहरू नै पनि पहिला लेख्ने गरेको तर अहिले लेख्न छोडेका उदाहरणहरू धेरै छन् ।

साहित्य सँधै सन्तुष्टि मात्र हुदैन यो त सृजनशीलता पनि हो भन्ने मलाई लाग्छ । अर्काेतिर आफ्नो मनका बहहरू समेत सहजै शब्दहरू मार्फत पोख्न सकिने भएकाले समेत साहित्य फस्टाउँदै गएको हो । अष्ट्रेलियाको कुरा गर्ने हो भने इजरायल, अमेरिकापछि अष्ट्रेलिया नेपाली साहित्यमा अग्रणी स्थानमा आउँछ । फेरि अनेसासले यही मार्चको पहिलो सातामा आयोजना गरेको अन्तराष्ट्रिय महिला साहित्य सम्मेलनले त विश्व नेपाली साहित्यको ध्यान नै यता तान्न सफल भएको छ ।

पुस्तक सृजना गरेर मात्रपनि यहाँ केही हुँदैन् । यसका लागि बजार पनि आवश्यक पर्छ । तरपनि म विशेष गरेर महिला साहित्यकार तथा नेपाली साहित्यलाई माया गर्नेहरूलाई लेख्न नछोड्न नै आग्रह गर्छु किनकी हाम्रो लागि हामी नै अघि बढ्ने हो ।

 

Bhimsen Sapkotaभीमसेन सापकोटा

नेपाली साहित्य वास्तवमा अष्ट्रेलियामा फस्टाउँदै गएको छ । यहाँबाट राम्रा राम्रा कृतिहरू लिएर युवा साथीहरू आइरहनुभएको छ जसले विश्वको नेपाली साहित्यमा अवश्य नै मलजल पुरयाएको छ । साहित्य लेखन रहर मात्र नभएर यो एउटा कला समेत भएकाले कला भएका साथीहरू हामीले बिभिन्न कार्यक्रम या साहित्यिक गोष्ठीहरूमा देखिरहेका छौं । जसले नै हो, यहाँको नेपाली साहित्यलाई अझ अघि बढ्न मद्दत पुरयाएको ।

अर्काेतिर पुस्तक प्रकाशनका लागि समेत अहिले पहिलेको जस्तो असहज छ जस्तो मलाई लाग्दैन् । मेरै दुईवटा कृतिहरू समेत प्रकाशकहरूले नै जिम्मा लिएर प्रकाशन गरिदिनुभएको हो । त्यसैले पनि मुख्यत: साहित्य सबैले बुझ्ने र पढ्न सक्ने किसिमको भयो भने प्रकाशनमा समेत समस्या हुन्छ जस्तो मलाई लाग्दैन् । झन् पछिल्लो समयमा त महिलाहरू समेत साहित्यमा अघि बढिरहनुभएको छ । जुन अत्यन्तै सकारात्मक कुरा हो । मार्चको पहिलो साता अनेसासले आयोजना गरेको बृहत साहित्यिक सम्मेलनले समेत यो कुरालाई पुष्टि गरिसकेको छ ।

अर्काे कुरा अष्ट्रेलियाली नेपाली साहित्य त झनै सुन्दर बनेर गएको छ । धेरै युवा साथीहरू अघि आइरहनुभएको छ । सबैले कृति निकाल्नु भएको छैन होला तर भविष्यमा नेपाली साहित्यमा धेरै राम्रो योगदान पुरयाउने क्षमता लिएर आउनुभएको छ । जुन हामी विदेशमा नेपाली साहित्यलाई माया गर्नेहरूका लागि अत्यन्तै खुसीको कुरा हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

बालकथा : जंगल र रूख

/सोम, मंसिर १८, २०७४