तिमी कुनै पनि केटा वा केटीसँग मायामा छौ भने तुरुन्तै विहे गर्नेबारे सोच्न थालिहाल्छौ । तिमी यसको कानुनी कागज पनि बनाउँछौ । किन ? मायाको वीचमा कानुन कहाँबाट आयो ? मायामा कानुन यसकारण आयो किनकि त्यहां माया नै छैन । यो तृष्णा मात्र हो अनि तिमीलाई थाहा छ तृष्णा केही समय पछि आफैं हराएर जानेछ । तिमी चाहन्छौ यो हराउनु भन्दा पहिले नै यसलाई कैद गरिहालौं । हराउनु पहिले नै केही यस्तो गर्न चाहन्छौ जसको कारण यो छुट्नै नसकोस् ।

एउटा सुन्दर संसार जहाँ ध्यान गर्ने, योगी व्यक्तिहरू रहेका हुन्छन् र जहाँ ज्ञानको थोरै मात्र भए पनि प्रकाश रहेको छ त्यहां चारैतिर माया फैलिएको हुन्छ । सबै जना एक अर्कालाई माया त गर्छन् तर त्यो माया सम्बन्धित हुनुमा मात्र सिमित हुन्छ, त्यो सम्बन्ध बन्दैन । तर म यो भनिरहेका छैन कि उनीहरूको माया क्षणिक हुन्छ । त्यहाँ हर संभावना छ कि उनीहरूको माया तिमीहरूको भन्दा पनि गहिरो रुपको होस् । तिमीहरूको मायामा भन्दा अझ बढी आत्मियता होस्, उनीहरूको मायामा तिमीहरूको भन्दा बढी साहित्य र समर्पण पनि हुन सक्छ । अनि हरेक संभावना यो पनि छ कि उनीहरूको माया तिमीहरूको तथाकथित सम्बन्ध भन्दा निकै लामो समयसम्म टिक्नेछ । तर उनीहरूको यो मायालाई कानुनले, अदालतले, पुलिसले पक्का गर्दैनन् । पक्का मनदेखि हुन्छ उनीहरूको माया । सम्बन्धलाई भूल अनि कसरी सम्बन्धित हुने भन्ने तर्फ सोच ।

जसै तिमी सम्बन्धमा हुन्छौ तिमीहरू एकअर्कालाई बोझको रुपमा लिन थाल्छौ । र यही कुराले मायाका सम्पूर्ण भावनालाई तहस नहस पारिदिन्छ । महिला सोच्छे, उसले पुरुषलाई चिनेकी छे र पुरुष सोच्छ कि उसले महिलालाई चिनेको छ । तर कसैले पनि कसैलाई चिनेको हुदैन । कहिले पनि अर्को व्यक्तिलाई चिन्न सजिलो हुदैन । अर्को व्यक्ति सधैंभरी रहस्य नै बनिरहन्छ । अनि अर्को व्यक्तिलाई बोझको रुपमा लिनु भनेको अपमान हो । सम्बन्ध भनेको एउटा पूर्ण कुरा हो, समाप्त, बन्द । माया कहिल्यै पनि सम्बन्ध होइन । माया त सम्बन्धित हुनु हो । यो सधैंभरी एउटा खोला जस्तो हो, निरन्तर, अन्तहीन । मायामा कहिले पनि पूर्ण विराम हुंदैन । सुहागरात सुरु हुन्छ तर कहिल्यै पनि समाप्त हुंदैन । यो कुनै उपन्यास जस्तो होइन जुन कहींबाट सुरु हुन्छ र कहीं अन्त्य हुनै पर्छ । यो त निरन्तर चलिरहने प्रकृया हो । मायालुहरू सकिएलान् तर माया निरन्तर रहन्छ । माया क्रिया हो, संज्ञा होइन ।

हामी किन सम्बन्धित हुनुको सुन्दरतालाई सम्बन्धमा लगेर कुरुप बनाउछौं । किनकि सम्बन्धित मात्र हुनु भनेको जोखिम हुनु हो तर सम्बन्ध राख्नु भनेको ढुक्क हुनु हो । सम्बन्धमा निश्चिन्तता हुन्छ । सम्बन्धित हुनु भनेको दुई अञ्जान व्यक्ति एक आपसमा भेट्नु मात्र हो । हुन सक्छ एक रात संगै गुजार्नु अनि भोलिपल्ट विहान भएपछि अलबिदा भन्दै छुट्नु । कसलाई थाहा छ र भोलि के हुदैछ भन्ने ? हामी यदि धेरै भयभित छौं कि हामी यसलाई पक्का बनाउन चाहन्छौं, हामी यसलाई अनुमान गर्न सकिने कुरा बनाउन चाहन्छौं । हामी चाहन्छौं हामी भोली हामीले चाहे जस्तै होस् । हामी यसलाई जस्तो हुन चाहन्छ त्यस्तै हुन दिदैनौं । तिमीले यो सोच्नु कि तिमीले आफ्नो श्रीमतीलाई चिनेका छौ, एकदम बेमतलबको कुरा हो । कसरी तिमीले त्यो आइमाइलाई चिन्न सक्छौ ? कसरी त्यो आइमाइले पनि तिमीलाई चिन्न सक्छे ? तिनीहरू प्रकृया हुन्, कुनै वस्तु होइनन् । तिमीले हिजो चिनेको आइमाइ आज छैन । गंगामा कति धेरै पानी बगिसकेको छ । आज ऊ हिजोको भन्दा विल्कुल फरक आइमाइ हो । तिमीले पुन: सम्बन्धित हुनुपर्छ ऊसंग, फेरि सुरु गर्नुपर्छ । यसलाई बोझको रुपमा नलिऊ ।

तिमी हिजो राती संगै सुतेको आइमाइको अनुहार आज विहान हेर त । ऊ त्यही व्यक्ति होइन आज, कति धेरै कुरा परिवर्तन भएको छ । गणना गर्नै नसकिने प्रकारले धेरै कुरा परिवर्तन भएका छन् । मान्छे र वस्तुको बीचमा यही नै भिन्नता रहेको हुन्छ । कोठामा रहेको फर्निचर उस्तै छ हिजो पनि र आज पनि तर श्रीमान र श्रीमती परिवर्तन भैसकेका छन् हिजो भन्दा आज । मैले सम्बन्धित हुनु भनेको पनि यही हो । सम्बन्धित हुनु भनेको जहिले पनि सुरुवात गर्नु हो । तिमी जहिले पनि जानकार रहन हरसंभव प्रयास गरिरहन्छौ । हरेक पटक तिमीहरू एक अर्कालाई परिचित गराइरहेका हुन्छौ । तिमी जहिले पनि उसको मनको गहिराईमा प्रवेश गर्ने प्रयास गरिरहेका हुन्छौ, अझ गहिराईमा । झन् गहिराईमा । तिमी त्यस्तो रहस्यको पर्दा उघार्न चाहन्छौ जुन उघारी साध्य छैन । संभव छैन । मायाको यही नै सुन्दरता हो, चेतनाको खोजी गर्ने ।

यदि तिमी सम्बन्धित हुन सक्छौ र यसलाई सम्बन्धमा परिणत गर्दैनौ भने अर्को व्यक्ति पनि तिमी जस्तै हुनेछ । उसलाई खोजी गरिरहदा थाहै नपाई तिमी आफैंलाई खोजिरहेका हुन्छौ । मायालुहरू एक अर्काका निम्ति ऐना हुन्छन् अनि माया ध्यानमा परिणत हुन्छ । सम्बन्ध कुरुप हुन्छ सम्बन्धित हुनु सुन्दर । सम्बन्धमा दुवै जना एक अर्का प्रति अन्धो हुन्छन् । यसो सोच त, तिमीले आफ्नो श्रीमतीको आंखामा आंखा राखेर हेरेको कति भयो ? तिमीले आफ्नो श्रीमानलाई त्यसरी हेरेको कति भयो ? हुन सक्छ बर्षौ । आफ्नै श्रीमतीलाई कसले हेर्ने ? तिमीले यो कुरालाई बोझको रुपमा लिइसकेका छौ कि तिमी उसलाई चिन्छौ । अब चिनिसकेको मान्छेमा अरु के हेर्न बांकी रह्यो र ? तिमी जहिले पनि आफूले चिनेको भन्दा नचिनेको मान्छेको बारेमा जान्न बढी उत्सुक हुन्छौ । तिमीलाई उसको शरीरको अंग, प्रत्यंग सबै थाहा छ । कुनै पनि कुरामा उसले कसरी प्रतिक्रिया जनाउंछ भन्ने पनि थाहा छ । सधैं एउटै कुरा दोहोरिन्छ त्यो व्यक्तिसंग । तिमी यस्तै सोच्छौ । तर कुरा त्यसो होइन । कुनै पनि कुरा दोहोरिदैन । कुनै पनि कुरा सधैंभरी त्यस्तै हुदैन । खाली तिम्रा आंखा बुढा हुन्छन्, तिम्रा धारणा पुराना हुन्छन् अनि तिम्रो ऐनामा धुलो जम्छ यसैकारण तिमी नयां कुरा देख्नै सक्दैनौ । यसैकारण म भन्छु सम्बन्धित बन ।

सम्बन्धित बन भन्नुको अर्थ सधैंभरी सुहागरात मै बसिराख । एक अर्कालाई खोज्ने र पत्ता लगाउने क्रम जारी राख, माया गर्ने नयां नयां तरिकाको खोजी गरिराख, एकअर्कासंग समय विताउने नयां नयां बहाना खोजिराख । हरेक व्यक्ति यति हद सम्म रहस्यमय हुन्छ कि उसलाई चिन्ने प्रयासमा तिमी थकित हुन्छौ तर कहिले पनि भन्न सक्ने छैनौं कि मैले यो मान्छेलाई चिने । बरु यसो चाहीं भन्न सक्छौ कि : मैले हरसंभव प्रयास त गरेको हो तर पनि यो मान्छेलाई चिन्न सकिन ।

अझ वास्तविकता त के हो भने जति धेरै तिमी खोतल्दै जान्छौ त्यो मान्छे उति धेरै रहस्यमयी बन्दै जान्छ । अनि बल्ल मायाको बेग्लै आनन्द प्राप्त हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

बालकथा : जंगल र रूख

/सोम, मंसिर १८, २०७४