Kiran adhikariआज म एउटा नितान्त नयाँ र अन्तराष्ट्रिय चासोको विषय पस्किँदै छु । नेपाली भाषा कुनै समयसम्म नेपालको राष्ट्रभाषा मात्रै थियो । आज भारतका दार्जिर्िलङ, सिक्किम, देहरादून, आसाम आदि भूगोलका साथै बर्मा, भूटान आदि देश हुँदै अरबी राष्ट्रहरू, जापान, दक्षिण कोरिया, बेलायत, अष्ट्रेलिया तथा युरोप र अमेरिकाका विभिन्न राष्ट्रहरूका साथै लगभग विश्वका सबै देशमा फैलिएको छ । सगौरव भन्नै पर्छ, हाम्रो भाषा आज अन्तर्राष्ट्रिय भाषाका रूपमा विकसित भएको छ । नेपालमा डा. बलदेव शर्मा अधिकारी/गाउँले बलदेवको कुशल तथा विद्वत्तापूर्ण नेतृत्वमा २०७२ श्रावण १५ गते गुरुपूर्णिमाको पावन पर्वदेखि विधिवत् ‘नेपाली भाषा बचाऔँ, अभियान : २०७२’ क्रियाशील छ । लाखौँ समर्थक तथा शुभचिन्तकहरूको सहयोगमा यो अभियान सफलताको शिखरमा आरोहण गर्दै छ । यति बेला नेपालबाहिर रहेका प्रवासी वा आप्रवासी सबै नेपाली भाषीहरूले समेत उक्त अभियानलाई आ–आफ्नो क्षेत्रबाट सहयोग र समर्थन गर्नु नितान्त आवश्यक छ । नेपाली भाषा केवल भाषा मात्रै नभएर हाम्रो भावनाको प्रतिनिधि हो, आत्मीयताको संवाहक हो । यस भाषासँग हाम्रो धर्म र संस्कृति पनि जोडिएको छ । नातिनातिना पुस्तालाई बाजेबज्यै पुस्तासँग जोड्ने नेपाली भाषाले नै हाम्रो वंश परम्परालाई सुरक्षित राख्न सक्छ । यो भाषा समाप्त हुने बित्तिकै हाम्रो परिचय समाप्त हुन्छ । हामी आफूलाई मानव भनेर गौरव गर्छौं, किनभने हामीसँग हाम्रो भाषा छ । हामी विश्वको जुनसुकै भू–भागमा पुग्दा पनि सगौरव आफूलाई नेपाली भन्दछौँ । त्यति बेला हामीलाई नेपाली भाषाले नै नेपालीपन प्रदान गरेको हुन्छ ।

नेपाली भाषाको उच्चारण हजारौँ प्रकारको छ । हजारौँ प्रकारको उच्चारणलाई एकरूपता दिएर त्यसैका आधारमा लेख्य मानक बनाउन सकिन्छ भन्दै १९९८ को पहिलो मानक शब्दकोश ‘बगली कोष’ बाट स्थापित भई परम्परा बनिसकेको नेपाली भाषाको लेख्य परम्परालाई त्रिभुवन विश्वविद्यालय, नेपाली विभागका केही प्राध्यापकहरूले आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि वर्षेनी जस्तै परिवर्तन गरिदिँदै अस्थिर र अराजक बनाइएको रहेछ । नेपाली भाषा देवनागरी लिपिमा लेखिन्छ । देवनागरी लिपिभित्रसबै प्रकारका ध्वनि अटाउन सक्छ । संसारमै यति धेरै वैज्ञानिक लिपि अन्त पाइँदैन । पछिल्लो समयमा देवनागरी लिपिका संयुक्त अक्षरहरू नै हटाउनेसम्मको दुस्साहस गरिएको छ ।

 नेपाली भाषाले नै नेपालभित्र र नेपाल बाहिर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँधेको छ । नेपालबाहिरको जातीय भाषा नै नेपाली भाषा हो । आज नेपालमा सञ्चालित ‘नेपाली भाषा बचाऔँ, अभियान : २०७२’ ले आफ्ना मागहरूसहित राष्ट्रपतिको कार्यालयमा २०७३ आषाढ १२ गते तथा प्रधानमन्त्रीको कार्यालय तथा सभामुखको कार्यालयमा २०७३ आषाढ २२ गते आफ्ना ७ सूत्रीय मागसहित ज्ञापन–पत्र बुझाइसकेको छ । उक्त ज्ञापन–पत्र ‘नागरिक दैनिक’ को अक्षर पृष्ठमा २०७३ श्रावण ८ गते शनिबार हुबहु प्रकाशित गरिएको छ । पछिल्लो समयमा आएर नेपाली भाषाको लेख्य परम्परालाई भाँड्ने कामको पछाडि निजी शब्दकोशको व्यापार गर्ने तथा विभिन्न भाषिक परियोजनाहरूबाट अनुचित किसिमले अर्थ आर्जन गर्ने प्रवृत्ति देखिएको रहेछ । पर्याप्त प्रमाणसहित अभियानका संयोजक तथा सदस्यहरूबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २०७३ श्रावण ६ गते निवेदन दर्ता गरिएको भन्ने समाचार २०७३ श्रावण १० गतेको राजधानी दैनिकबाट प्रकाशित भएको छ । संयोजक डा. बलदेवबाट प्राप्त भयो । उहाँका अनुसार २०७३ श्रावण २३ गतेबाट विभिन्न चरणका सत्याग्रहात्मक आन्दोलन हुने जानकारी प्राप्त भएको छ ।

 राष्ट्रकवि माधव घिमिरे, मोदनाथ प्रश्रित, श्यामदास वैष्णव, रामकुमार पाँडे, खगेन्द्र संग्रौला लगायतका स्थापित तथा प्रतिष्ठित साहित्यकारहरू, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय नेपाली विभागका प्रमुख प्रा.डा. देवीप्रसाद गौतम, प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. रामचन्द्र लम्साललगायतका वरिष्ठ प्राध्यापकहरू, पूर्वराष्ट्रपतिका सल्लाहकार तथा पत्रकार राजेन्द्र दाहाल, प्रेस काउन्सिलका अध्यक्ष कुलचन्द्र वाग्ले आदि वरिष्ठ पत्रकार, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य एवं सर्वोच्च अदालतका पूर्व वरिष्ठ न्यायाधीश प्रकाश वस्ती आदिका साथै कोशकारहरू प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा.गोपीकृष्ण शर्मा, खगेन्द्रप्रसाद लुइटेल आदि, अनुचित वर्णविन्यास तथा लिपिलाई अनिवार्य गर्न बाध्य पारिएका पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमेतका हजारौँ व्यक्तिहरूले हस्ताक्षर गरी संयोजक डा. बलदेव शर्मा अधिकारीको निष्कर्षलाई हार्दिक समर्थन जनाइ सक्नुभएको छ ।

 २०७३ श्रावण २३ गतेदेखि सञ्चालन गरिने सत्याग्रह कार्यक्रममा मौनव्रत, धर्ना, हास्यव्यङ्ग्य, रिले अनसन, आमरण अनसन आदि कार्यक्रम सञ्चालन गरिने जानकारी पनि ‘नेपाली भाषा बचाऔँ, अभियान : २०७२’ का संयोजक तथा सहसंयोजकहरूले दिनुभएको छ । वरिष्ठ कवि रमेश खकुरेलले नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिने कुनै पनि कार्यक्रममा सहभागी नहुने सार्वजनिक घोषणा ‘फेसबुक’ मार्फत गरिसक्नुभएको छ । राष्ट्रिय दैनिक गोरखापत्र, कान्तिपुर, अन्नपूर्ण पोष्ट, राजधानी, नागरिक आदिका साथै रचना, मधुपर्क, शिक्षक आदि मासिक पत्रिकाहरूले समेत लेखरचना एवं समाचार प्रकाशित गरी अभियानलाई सघाएका छन् । नेपाल टेलिभिजन, एभीन्यूज टेलिभिजन, न्यूज २४ आदि टेलिभिजन च्यानलका साथै एमेज एफ.एम., मेट्रो एफ.एम. आदि एफ.एम.हरूबाट प्रसारित अन्तर्वार्ताले अभियानलाई तीव्रता दिइएको छ । नेपाल एफ.एम.बाट बहस कार्यक्रम सञ्चालन गरिएको छ । नेपाली भाषाका सम्पूर्ण प्रयोक्ताहरू यसै अभियानबाट नेपाली भाषालाई सदाका लागि जीवित र सुरक्षित राख्न सकिने विश्वास गर्दै छन् । यस अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपाली भाषाका सम्पूर्ण प्रयोक्ताहरूको सहयोग र समर्थन रहने विश्वास गरिएको छ । यस अभियानले नेपालमा रहेका सबै राष्ट्रभाषाको सुरक्षाका लागि मार्गदर्शन गर्नेछ । यस अभियानमा अहोरात्र सक्रिय रहने व्यक्तिहरूको संख्या र सक्रियता दिनानुदिन बढ्दै जानुले सरकारलाई निकट भविष्यमै माग पूरा गराउन बाध्य पार्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार