यो चुवाको फूलको बोटपनि मलाई नै जिस्क्याउन आएजस्तो लाग्छ, काउकुति लगाउन आएजस्तो लाग्छ अनि मलाई सपनाको, कल्पनाको दुनियामा नचाउन आएजस्तो लाग्छ । तीन तलामाथि म काममा खटेको छु, झ्यालबाट हरपल पलपल यहि चुवाको फूलले सुटुक्क चियाइरहन्छ, बासना छपक्कै छरिदिन्छ अनि म खुट्टाहरू फतक्क गल्दापनि रोमाञ्चित भैरहेको हुन्छु, दिमाखको बोझ आफैं बिलाइदिन्छ । अरुले टाउको समातेर सबै समस्याहरूको बारेमा गनगन अनि छलफल गरिरहदा, स्याना ठूला कुराहरूमा दिमाख खियाइरहेको बखतमा नि म चैं रोमाञ्चित हुदै आफैभित्र पुलंकित हुँदै आँखामा नशा लिएर हराइरहेको हुन्छु । न मलाई सानातिना करकरले छुन्छ न मलाई सानातिना बचन घोचाइले छुन्छ । ठूलो त के नै हुन सक्छ र मेरो मनको मायालु दुनिया, मेरो मनको खुसि अनि मेरो मनको मायाको महल भन्दा?

मैले यो महलको यो कोठा अनि यो परिबेशमा काम गरेको पाँच बर्ष भयो । न कैलै मलाई यो चुवाको बोट याद रह्यो न यसको बासना न यसले चिहाएर यसरी साउती मार्न खोजेको कैलै चाल पाए । झ्यालहरू बन्दै हुन्थे । गर्मिमा चिसो हावा फाल्ने बटन खोलिदेउ, जाडोमा तातो हावा फाल्ने बटन खोलिदेउ, यहाँ आऊ, जे काम फत्ते गर्नु छ गर, हड्डि खियाउ फर्केर जाउ, एबंक्रम चलिरहन्छ । यसको कुरा सुन, त्यसको कुरा सुन, यो छलफलमा जाउ, केहि सुन अनि केहि फलाक, तालिममा जाउ, कैलेकाहि चाप्लुसी गर, कैलेकाहि परिस्थितिदेखि रुष्ट बन अनि कैलेकाहि अलि पदोन्नति हुन्छ र खुसी मनाउ, त्यो खुसीले पोल्छ जब तिमी संगै काम गर्ने हिजोसम्म मित्र हुनेहरूले आज डाह गरेर खुट्टा तान्न खोज्छन् । जीबन कस्तो भएको रहेछ त? श्वास लिइरहेको थिए नी त्यसैले मुटु पनि चलिरहेको थियो, नशा–नशामा रगत पनि बगिरहेको थियो, हो म जिउँदै थिए । तर के जिउनु भनेको त्यति मात्र हो त?जीवन बाँच्नु, यो एकमुठी श्वास राख्नु , दुईचार डलर कमाएर बिल तिर्नु मात्र हो त? कदापि हुन सक्दैन । जीवन थाहै नपाइ एउटा यन्त्र बनेछ ।

तिम्रो कसम मेरो हजुर, यो तिम्रो जादु हो । म मेरो जीवन जुन नमिठो उराठलाग्दो र अत्याशलाग्दो सपनि जस्तो भएको थियो, ब्युझिएको छु । तिम्रो मायाले मलाई झक्झक्याएर ब्युझाइदिएको छ, जिउनुको अर्थ दिएको छ, श्वाश लिनुको मतलब सिकाएको छ । ब्युझिएपछि मैले लरक्क परेर हुर्किएको चुवाको बोट देखे, हाँगा–हाँगाबाट फुटेर निस्किएका कोपिला अनि फक्रिएका बैशालु फूलहरू देखे । ओहो ∕ के भनौं हजुर मेरो मन चोर्छ यस्को पात पातले, डाठ–डाठले, कलकलाउँदा कलिला चोखा पलाएका पालुवा अनि मगमगाउने यो बासनाले । मेरो कल्पानामा: तिमीले कैयौ पटक मेरो शीरमा यो फूल शिउरिएका छौ । शिउरिंदा शिउरिदै मलाई लठ्याएका छौ, आफुतिर तानेको छौ अनि अंगालोमा बाँधेको छौ । मेरो पेटमा, मेरो छातिमा, के ले मीठोगरी चिमोटेजस्तो हलचल भएर म तिमीमा हराएकोछु । अनन्त: उचाइमा पुगेको मेरो छातिलाई तिम्रो मजबुत छातिमा कस्सेर टाँसेको छु अनि फुत्किएर भाग्लाजस्तो ढुकढुक गरेर उफ्रिएको मुटुलाई शान्त पार्दै अझ जोडले थिचेका छौ तिमीले । कसेका छौ मलाई हो एकदमै सार्हो कसेका छौ आफ्नो सारा अङ्गहरूको स्पर्शले मेरा अङ्ग अङ्गमा मात चढ्नेगरी । तिम्रा बैशालु मातले भरिएका गुलाबी ओठहरूले मेरो नशा–नशामा उमङ्ग र उन्मात भरेको छ । शरिरभरिको एक–एक नशाको रगत सबै सोहोरिएर मेरो ओठबाट तपक्क चुहिन लागेकोबेला चुमेर आफूभित्र लिएका छौं । तिम्रा ओठहरूले मलाई अर्कै संसारमा खिचेको छ अनि म बिलाएको छु तिमीभित्र । म जब कल्पनाबाट ब्युझिन्छु नि जिस्क्याउँछ मलाई यो आफु नग्न बनि एकअर्कासँग टासिएर छिल्लिएर फूलेको फूलले पनि, यसकै वरपर मन्द मन्द हावाले हल्लिइरहेका अरु सबै बृक्षहरूले अनि बासना लिदै हुर्किरहेको गुलाबि घण्टीफूलले ।

तिमीलाई थाहा छ, मेरो हजुर? यो फूलले मेरो चोखो पबित्र मायाको कल्पनाहरू, सपनाहरूअनि बैशालु उमङ्गहरू मात्र बोकेको छैन । मेरो बालापन पनि बोकेको छ । म त चुवाको फूलहरू खेलाउँदै यसको पत्र पत्र मिलाउँदै माला गाँस्दै मेरो सपनाको राजकुमारलाई लगाइदिंदै ढुङ्गामाटोसँग खेल्दै हुर्किएको हुँ । गाउँको उकालो बाटो, अनि बाटोमा मध्यम शितल छाहारी बनाउँदै ढकमक्क फूलेका चुवा र करबिरका जोडि । म निश्चल सफेत रङको अङ्गालो फैलाएजस्तो लाग्ने चुवालाई फरिया गुतेकि झैं देखिने जिउडाल सुलुक्क मिलेकि पहेली करबिरसँग जोड्दै घण्टौ खेलिरहन्थें ।

निश्फिक्रीसँग उफ्रिदै डाँडाकाँडामा झरना खोलासँग गीत गाउँदै हुर्किएको मेरो गाउँमा तिमीले एकपटक के जान्छु भनिदिएका थियौ, मेरो कल्पनाले तिमीलाई उहीँ पुर्यायो । हामी हात समात्दै उकाली चढ्यौं, गुटुटु दगुरेर त्यो ओराली झर्यौं । हो त्यहि झ्याम्म परेको अध्यारे बरको भुइभन्दा १० फिट माथि रहेको हाङ्गा भुइसम्म नुहायौ अनि दुवैजना त्यसमा चढ्यौं । हाङ्गा भुइबाट छुट्यो हामी माथि पुग्याैं, वाउ ∕ सरररर बतास चल्यो, ढुकुरको जोडी गुडमा एक भएर मीठो निन्द्रामा झुलेका थिए, डाडामा रहेको त्यो बरबाट हाम्रो पुरानो घरको धुरीमा परेवा पंक्षीहरू चुचो जोड्दै घाम तापेका देखिए । अलि पर अरु हागाहरूमा बर खाँदै पिरती गाँसिरहेका चरीहरू देखिए, छेउमै रहेको कमेरोको गन्धले प्रकृतिले आफ्नो पौरखले बनाएको अत्तरको आभाश दियो । लठ्ठ पर्यौ हामी प्रकृतिको फेदमा, हाँगामा, काखमा । हो म तिमीसँग डाँडाकाँडा डुलिरहे, तल–तल बेसीमा झरेर हामीले त्यहि कल्लेरी खोलामा आत भिज्नेगरी पानी पियाैं, झुक्याएर पानी छ्याप्यौं छ्याप्–छ्याप् । जब भिजेर अङ्ग–अङ्गमा काउकुति लाग्न थाल्यो कपडा निचोर्दै एकअर्कालाई पुलुक्क हेर्यौं । हाम्रो आँखा जुध्यो । निथ्रुक्क लुगाहरूमा चियाइरहेका बैंशबाट मायाको न्यानो बाफ निस्क्यो अनि एकैछिनमा हामी मायामा निथ्रुक्क भयौं । हरेक चौतारीमा पहाडबाट गुटमुटिदै बहेको यसै यसै मात लगाउने हावामा हामीले एकअर्कालाई अङ्गालोमा बाँध्दै सुस्तायौं । होचा–अग्ला कान्ला–कान्लामा मायाले मलाई तिमीले खिचिरह्यौ, खुल्ला यो आकाशमुनि कुनै बन्धनबिना ।

हामी एकदिन त्यहि गाउँको उकालोमा त्यहि चुवा र करबिरको फेदमा भुईँभरी छरिएका फूलहरूलाई सुम्सुम्याउँदै बसिदियौं, संसारभरीको हिरामोति जुहार मैले काखमा पाएको आभास भयो जब तिमीले मलाई आफ्नो काखमा राख्यौ अनि भन्यौ,तिम्रो राजकुमार यहि आएको छ । भन सपनाको देश यहि हैन त ?

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार