हाम्रो पुरातन संस्कृतिमा खुकुरीको स्थान सर्वमान्य र पुज्य छ । नेपालका विभिन्न संस्कृतिमा खुकुरीको भौतिक स्वरुपबारे चाखलाग्दा धारणाहरू पनि पाइन्छन् र खुकुरीलाई एउटा पूज्य बस्तुका रुपमा पनि लिन्छ ।

खाँडो जगाउने मन्त्रमा समेत खुकुरीको प्रसंग पाइन्छ । यो धारणाहरू हिमवत्खण्डका अरु जातिय संस्कृतिमा पाइने धारणाहरूसँग कुनै न कुनै रुपले मिल्दा जुल्दा पनि छन् । सुनुवार, राई, लिम्वु, गुरुङ, मगरलगायतका जातजातिमात्र हैन ब्राह्मण–क्षेत्रीले समेत खुकुरीको प्रयोग गर्दै आएको इतिहास छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघिदेखि नै खुकुरीको प्रचलन शुरु भएको कुरा इतिहासकारहरू बताउँछन् । शाहवंशका द्रव्य शाहलाई गोरखाको राजगद्दीमा बसाल्न सहयोग पुर्‍याएका गणेश पाण्डेको कम्मरमा राखिएको खुकुरीले पनि त्यसको पुष्टि गर्छ । हाम्रा वीर पुर्खाहरूले टिष्टादेखि सतलजसम्म नेपालको सिमाना विस्तार गर्दा खुकुरीकै प्रयोग गरेको इतिहासमा उल्लेख छ । त्यसैले नेपालको इतिहास र संस्कृतिसंग खुकुरीको महत्व भावनात्मक रुपले जोडिएको छ ।

नेपालीहरूको मान्यता छ कि खुकुरीमा कुल देवताको बास हुन्छ । यसको पवित्रता रहेसम्म मात्र ती देवताको बास हुन्छ भन्ने पनि किम्बदन्ती छ । त्यसैकारण नेपालीहरू खुकुरीको कहिल्यै पनि दुरुपयोग गर्नु हुँदैन भन्ने मान्यता राख्छन् । नयाँ खुकुरी किनेर चलनमा ल्याउनुभन्दा अगाडि कुलदेवताका नाममा समर्पण गरी पूजा तथा भोग चढाउनुपर्छ भन्ने पनि मान्यता छ । त्यसैगरी आफ्नो खुकुरी आफ्नो जातभन्दा बाहिरकालाई छुन दिनु हुन्न भन्ने पनि बूढापाकाहरूको भनाइ छ । छुन दिंदा कुलदेवता रिसाउँछन् भनिन्छ । त्यसैगरी खुकुरीलाई दापबाट विनाकाम झिक्न र झिकेर उज्याउन पनि हुन्न भनिन्छ । यस्तै अनजानमानै खुकुरीले भोग खाएर छाड्छ भन्ने विश्वास समेत नेपाली जनमानसमा छ । केही गरी अनजानबस दापबाट खुकुरी निकालियो भने खुकुरीलाई काठ वा भूँई वा जेमा भए पनि हानेर दोष मेट्नु पर्छ भनी वुढापाकाहरू भन्ने गर्छन् ।

नेपाली मान्यता : नेपालीहरू भन्छन्– खुकुरीलाई कदापि लत्याउनु हुँदैन । यदि अनजानवस खुकुरीमा खुट्टा लागेछ भने पुस्तकलाई खुट्टा लाग्दा ढोगे झैं ढोग्नु पर्छ । त्यसैगरी खुकुरीलाई फोहर ठाउँमा पनि राख्नु हुँदैन । खुकुरीलाई दापबाट झिकेर साधारण काममा लगाउनुपूर्व ढोग्नुपर्छ र ठूलठूला काममा लगाउँदा पूजा वा भोग पनि दिनुपर्छ भन्ने मान्यता छ । देवी देवताको मन्दिरमा प्रयोग गर्नुपूर्व खुकुरीलाई छालाको दापमा राख्नु हुँदैन भनिन्छ । छालाको कारणले मन्दिर वा अन्य पवित्र स्थानमा जानुपर्दा यसलाई वाहिरै राख्नु पर्दछ यात पस्नु हुँदैन ।

खुकरीको भौतिक स्वरुप : खुकुरीको भौतिक स्वरुप सधैं एउटै हुन्छ । सानो अथवा ठूलो, बाक्लो अथवा पातलो, कम चौडा अथवा बढि चौडा जे जस्तो होस् हेर्दा चाहिँ एउटै देखिन्छ । खुकुरीमा बिंड, ताल, धर्सो, धार र कौडी हुन्छ । बिंड खेपिल्टे हुनुपर्छ । बिँड काठ, हस्तिहाड अथवा सिंगको एउटै टुक्राबाट बनेको हुनुपर्छ । वारपार दुलो छेडिएको हुनु हुँदैन । बलियो पार्ने हेतुले बिँडलाई वारपार छेडि खुकुरीको तल्लो भागको टुप्पोमा पेंच लगाउने चलन भनेको गलत तथा परम्पराविरुद्ध भएको खुकुरी विज्ञहरूको भनाइ छ । खुकुरीको ताल चौडा र केही खोपिल्टे हुनुपर्छ । खुकुरीको डडाल्नोमा दुई वा तीनवटा धर्सोहरू पनि अनिवार्य रुपमा हुनैपर्छ र तलदेखि बिँडको छेउँसम्म ति धर्सोहरू खिचिएको हुनुपर्छ । खुकुरीको टुप्पादेखि कौडीसम्म धार अनिवार्य रुपमा राखिएकै हुनुपर्छ र धार र बिँडको बीचमा तीनचोसे कौडी पनि हुनैपर्छ ।

परम्परागत मान्यता : नेपालको पूर्वी भागमा बस्ने सुनुवार समुदायमा खुकुरीलाई गोरखनाथको गुफा अगाडि राखिने हतियार मानिन्छ । गोरखनाथको प्रसंगसँग जोडिएर आएको हुनाले यसको इतिहास गोरखाको जस्तै पुरानो भएको मानिन्छ । द्रव्य शाहलाई गोरखाको राजा बनाउन अह्म भूमिका निर्वाह गरेका गणेश पाण्डे नेपाल एकिकरणका नायक पृथ्वीनारायण शाह, काजी कालु पाँडे, काजी तुलाराम पाँडे, कपरदार भोटुँ पाँडे लगायतको कम्मरमा दापसहितको खुकुरी रहेबाट पनि यसका प्राचीनताको पुष्टि हुन्छ ।

देश रक्षक सिपाही र शान्ति सुरक्षाका लागि खटिएका प्रहरी तथा सर्वसाधारण जनताका कम्मरमा पनि वीरत्वको प्रतीक स्वरुप औपचारिक रुपमा शोभायमान छ । त्यतिमात्र होइन सिपाही र प्रहरीका निशानी, ब्याच र तक्माहरूमा समेत यसले सम्मानित स्थान पाएको छ । त्यसैगरी हतियार पूजनमा पनि खुकुरीले नै प्राथमिकता पाउने गरेको छ । ठूला साना सबै पर्वहरूमा समेत बलि दिँदा खुकुरीकै प्रयोग गरिन्छ र बलि दिँदा पनि यसको रीतपूर्वक पूजा गरिन्छ । दसैंको घटस्थापनामा पनि दापबाट खुकुरीलाई निकालेर विधिपूर्वक स्थापना गरिन्छ ।

विश्वसामु चिनिएको खुकुरी : खुकुरीकै बलमा आफ्ना वीरत्वलाई विश्वसामु चिनाएका छन् । भारतका प्रसिद्ध सुरक्षाविद फिल्डमार्सल राम मानेकसाले एकपटक भनेका थिए– कोही व्यक्ति मृत्युसँग डराउँदैन भने कित उसले ढाँटेको हुनुपर्छ, कि त उ गोर्खाली हुनुपर्छ ।

वास्तवमा गोर्खाली र खुकुरी एक अर्काका परिपूरक जस्ता छन् । खुकुरीको कथा र गौरव विश्व प्रसिद्ध छ । श्री ३ पद्मशमशेरले भनेझैं खुकुरी नेपालको राष्ट्रिय चिह्न मात्रै नभई धार्मिक हतियार पनि हो । त्यसैले यसको महत्व धेरै ठूलो छ । सन् १९१४ मा भएको नेपाल अंग्रेज युद्धभन्दा पहिलेदेखि नै नेपालीहरूले खुकुरीको प्रयोग गरेको पाइन्छ । काठमाडौंको छाउनीमा रहेको राष्ट्रिय सङ्ग्रहालयमा ५०० वर्षभन्दा पुराना खुकुरीहरू राखिएका छन् । गोरखाका प्रथम राजा द्रव्य शाहले प्रयोग गरेको खुकुरीसमेत त्यहाँ राखिएको छ जो सन् १६२७ भन्दा अघि प्रयोगमा आएको थियो । अमेरिका स्वतन्त्र हुनु भन्दा सयौं वर्ष अघिदेखि हाम्रा पुर्खाले खुकुरी प्रयोग गर्थे भन्ने कुरा खुकुरीको इतिहासले देखाउँछ तापनि यसको प्रयोग कहिलेदेखि शुरु भयो भन्ने एकिन थिति चाहिँ फेला परेको छैन । यसको प्राचीनताको अध्ययनगर्दा किराँती राजाहरूले पहिलो पटक खुकुरीको प्रयोग गरेको पाइन्छ । सातौं शताब्दीमा लिच्छवीहरूको शासन थियो भने त्यसपछि २९ पुस्तासम्म नेपालमा किराँतीहरूले राज्य गरेका थिए । महाभारतकालमा नेपालमा किराँती राजाहरूले शासन गरेको कुरा इतिहासकारहरू बताउँछन् । त्यसैलाई आधार मान्दा खुकुरीको इतिहास महाभारतको इतिहास जत्तिकै पुरानो छ ।

जहाँ गोर्खाली त्यहाँ खुकुरी : जहाँ गोर्खाली त्यहाँ खुकुरी, जहाँ खुकुरी त्यहाँ गोर्खाली भन्ने त उखानै छ । ऋषिकुमार पाण्डेले पनि विद्यालय पढ्दा देखिनै खुकुरीलाई आफ्नो साथी वनाएको सगर्व बताउने गर्नुहुन्छ । विभिन्न ठाउँमा अध्ययन र तालिममा जाँदा उहाँले खुकुरीलाई अभिन्न अंग बनाउनुहुन्थ्यो । दार्जिलिङ, देहरादुन, पुना, म्हाओ लगायतका ठाउँमा र युनियममा खटिँदा समेत खुकुरी लैजान बिर्सनुभएन ।

पाण्डे भन्नुहुन्छ : ‘भारत–पाक सिमानामा खटिएको शान्ति सेनाको जिम्मेवाी निकै महत्वपूर्ण थियो । त्यहाँ रहँदा हरहमेसा सतर्क अवस्थामा रहनुपर्ने हुन्थ्यो । फरवार्ड एरियामा निरीक्षणमा गइरहनु पथ्र्यो । एक दिन मलाई स्ट्याण्डवाई बस्नु भन्ने आदेश आयो । मेरो अफिसमा कहिले काहीँ ५ वटा टेलिफोन एकैचोटी बज्थ्यो । दिल्लीबाट आदेश आएपछि म बिहान ३ बजेसम्म सुतिनँ । मिलब्सका रुपमा खटिएको एक जना अधिकृतलाई टेलिफोन रिसिभ गर्ने आदेश दिएर ३ बजे पछि म सुत्न गएँ । म सुत्दा पनि सिरानीमुनी खुकुरी राखेर सुत्ने गर्थे । टेलिफोन आएछ तर पनि उसले मलाई उठाएनछ ।

भोलिपल्ट बिहान ब्रेकफास्ट लिने समयमा उसले रातिको घटनाबारे सबै कुरा विस्तारपूर्वक बतायो । बिहान ५ बजेतिर दिल्लीबाट म्यासेज आएछ र ऊ मलाई उठाउन गएछ । मेरो सिरानीमुनि खुकुरी र खुकुरीकै छेउमा मेरो हात देखेपछि ऊ डराएछ । उसले मलाई भन्यो– ‘तपाईं मस्त निदाउन भएको थियो । खुकुरीको छेउमा हात भएकाले मैले तपाईंलाई घचघच्याएर व्यूँझाउने आँट गरिनँ । अलि टाढैबाट गिट्टिले हानेर व्यूँझाउन खोजें तर तपाईं व्युँझिनु भएन । बिहान माफी मागेर सबै कुरा बताउनुपर्ला भन्ने सोचिरहेको थिएँ । मबाट भएको गल्तीका लागि क्षमा गर्नुहोला । मैले अर्जेन्ट म्यासेज आउँदा पनि तपाईंलाई उठाउने आँट गरिनँ ।’

नेपालीहरूले बोक्ने खुकुरीप्रति विदेशीहरूले कस्तो धारणा राख्छन् भन्ने कुरा यसैबाट छर्लंग हुन्छ । नेपालीका साथमा हुने खुकुरीका बारेमा विदेशीहरूले धेरै किम्बदन्तीहरू सुनेकाले पनि उनीहरू खुकुरीप्रति बढी संवेदनशील भएका हुन सक्छन् ।

 

पाण्डे भन्नुहुन्छ : बाल्यकालदेखि नै खुकुरी मेरो साथी जस्तै थियो । म जहाँ जाँदा पनि खुकुरी साथमा लिएर जान्थें । छात्रावासमा बस्दा होस् वा रेलको यात्रामा, अथवा भारत–पाक सिमान्त क्षेत्रमा जहाँ पनि मेरो साथमा खुकुरी छुटनैथ्यो ।

जैसलमेरमा रहँदा पनि मैले खुकुरी लगेरै गएको थिएँ । त्यहाँ मैले युनियनका कमान्डर जनरल भ्याकडोनाल्डलाई खुकुरी उपहार दिएको थिएँ । उपहार पाएको केही दिनपछि उनले मलाई एउटा पत्र लेखेर त्यसका लागि धन्यवाद दिएका थिए । पत्रमा भनिएको थियो– तपाईंले मलाई म मरुभूमिमा गएको बेला एउटा सुन्दर खुकुरी उपहार दिनु भएकोमा हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु । यो मेरो जीवनमा एउटा अत्यन्त चाखलाग्दो चिनोका रुपमा रहनेछ । नेपाल र नेपालका सैनिक अधिकृतहरूलाई सम्झिन यसले मद्दत गर्नेछ । मैले यसलाई चाँदिको फ्रेममा सजाएर राख्ने विचार गरेको छु । खुकुरीलाई धेरै वर्षसम्म कसरी जोगाएर राख्ने भन्ने कुराबारे तपाईंले मलाई सुझाव दिनुभयो भने म त्यसको पालना पनि गर्नेछु ।

युनियनमा काम गर्दा मलाई धेरै साथीहरूले नेपालको राष्ट्रिय हतियार खुकुरीका बारेमा सोधिरहन्थे । दार्जिलिङमा पढ्दा पनि साथीहरूले खुकुरीका बारेमा सोध्थे । त्यसैले मैले खुकुरीका बारेमा धेरै अध्ययन गरें । त्यसैक्रममा धेरै रोचक कुराहरू जान्न पाएँ । साथीहरूले खुकुरीका बारेमा सोद्धा म भन्ने गर्थें– ∙मा पढ्दा पनि साथीहरूले खुकुरीका बारेमा सोध्थे । त्यसैले मैले खुकुरीका बारेमा धेरै अध्ययन गरें । त्यसैक्रममा धेरै रोचक कुराहरू जान्न पाएँ । साथीहरूले खुकुरीका बारेमा सोद्धा म भन्ने गर्थें– विश्वले पनि नेपाली र गोरखाली मार्फत् खुकुरीलाई चिनेको छ । यसको सांस्कृतिक इतिहास हेर्ने हो भने यो हतियार विश्व प्रसिद्ध भएको पाइन्छ । यस प्रतिष्ठत हतियारलाई नेपाली हतियार भन्न पाउँदा हामी नेपालीहरू अवश्य नै धन्य भएका छौं ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

उसको आत्मा

/आइत, असार ४, २०७४