ऊ  चुपचाप उठेर हिडि । बढुवाको लागि कत्रो लुछाचुढि चलिरहेको थियो यो कार्यलयमा, कत्ति राजनीति अनि कति जिउजकार, पुकार गरिरहेकाथिए सबैजना आ–आफ्नो तौरतरिकाले, बुताले भ्याएसम्म । केहि महिनादेखि काम सकिएको घन्टौं यहि बसेर थप काम गरि–गरि देखाउनेहरूको पनि लाम लागेको थियो यहाँ । के उसलाई पत्तो छैन यति कुरा कि यै बढुवाको लागि यहाँ मान्छेले मरिमेटेका छन् ? अल्माले जब उसको नाम बढुवामा घोषणा गरिन् । स्वच्छ मन भएकाले मात्र बुझेकि यो जायज हो, एकदम सहि हो, ऊ नै लाईक थिइ । बिषय ज्ञान उचाइमा छ, बिचार उचाइमा छ ।

ऊ अर्थात पारु आफ्नो काममा बहुत खटिने तर कुनै बढुवाको लोभमा हैन । सबै कुरा काट्न र एकअर्कामा धारे हात लगाउन ब्यस्त रहदा ऊ आफ्नो कामसँगै मित लगाइरहेकि हुन्थी । तब त उसलाई नै माथि पुग्ने मौका दिनुपर्छ तर के उसले यत्रो घोषणा सभामा एक शब्द नबोली मानिसले बनाएको रोबोटजस्तो सरक्क उठेर थपक्क हिड्नुपर्छ र? अल्मा पनि चित खाएकी थिइ कि यत्रो बढुवा घोषणा गरिदिदापनि उसको मुहारमा कुनै प्रतिकृया नै छैन । हुन त बिहानदेखि नै पारुको मुखबाट एक शब्दपनि सुनेकि थिइन अल्माले तर प्राय: मौन रहेर काममा खट्ने पारुको त्यो कुनै अनौठो ब्यबहार थिएन । अल्मा सारा दिन उसकै अगाडि बोलि सुन्न नि बस्न भ्याउदिन नी । बोलिहोला नी । भन्नेले भन्न थाले “कुकुरलाई घिउ नपचेको ” एकथरिले भन्न लागे, “जसलाई केहि चाहिएकै छैन उसलाई पोसेर के गर्नु, हामीलाई दिएपो, हामीले पनि यतिका काम गरिदिएकै थियौं ।” थरिथरिका कर्मचारी थरिथरिका गाइगुइ सुनिइरहें, छटपटि सुनिइरहें । “अल्मा नै उस्ति नी किन चै गर्नु परेको थियो त बढुवा नकचरी पारुलाई ? मलाई गरेकोभए हुन्थ्यो । आर्हिस गर्नेहरू, आफ्नो पदोन्नति नपाएर खिस्रिएकाहरू खस्याकखुसुक गरिनैरहे ।

कुरा थियो आज बिहानको जब पारुले आफ्नो पुरानो मोबाइल जुन उसले १० बर्ष अगाडि चलाउँथी । यो कम्पनीमा घुसेदेखि उसलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेन । थोत्रा सामान थन्क्याउने यो कोठामा कहाँबाट आज उसको दिमाग पुगेर पुरानो एउटा डिब्बा खोतलिछ । थोत्रो मोबाइल भेटेर पुरानो साथीसँग अचानक जम्काभेट भएजस्तो लागेर उसको मुखबाट एक्कासी निस्केको थियो । “ओ माइ गुडनेस ” चार्जरपनि संगै रहेछ । खुल्न त खुल्छ यो मोबाइल ? एकछिन तार जोडेपछि त ट्याङ– ट्याङ्ग वाउ खुल्यो । उसलाई त बर्षौदेखि छुट्टिएको साथीसँग भेट भइ उहि पुरानो मित्रतामा रमाएको भान भयो । उफ्रिम– ऊफ्रिम लाग्यो । अङ्गमाल गर्दै सोध्न मन लाग्यो यत्तिका दिनसम्म कहाँ गायब भएको थिइस हँ ? तर यो खुसि, यो चमक तबसम्म रह्यो जबसम्म उसले मोबाइलमा भरिएका गीतहरू सुनिन । ‘पानी मीठो मेरो हजुर इलाम बजारको, माया मिठो मेरो हजुर त्यो मन भित्रको । सुन्नासाथ पारु एकोहोरो भएर थचक्क मोबाइलको तारको छेउमा बसि । जति गीत बज्दै गयो, शब्द–शब्दले उसलाई प्रहार गर्दै गयो, लयले उसलाई तानेर लग्यो अनि अनुहार फुस्रिदै गयो । त्यो हिउदका दिनहरू, झरनामा रुझ्ने ति दुई शरिरहरू, बताशसँगै फुरफुर उड्ने उसको मन, त्यो मेरो मान्छे भन्दै टास्सिने छाति, मेरो आत्मा खै? मेरो हजुर खै? त्यो मन भित्रको माया खै? यो गीत त हरदम राजले गाउँथ्यो । म उसको आत्मा बोकेर बर्षौदेखि हिडिरहेको छु? उसलाई उकुसमुकुस भयो, श्वासै बन्द होलाजस्तो ।

पुराना दिनहरूमा फर्केर पुगि । हो, त्यो माइ खोलाको किनारमा बसेर तिमी र मैले एकअर्कामा हराउदै कसम खाएकाथियौं नी । तिमीले मेरो हातको एउटा औला छुदापनि मेरो शरिरमा उमङ्गको लहर चलेर छपक्क ढाक्थ्यो । तिम्रा नजरहरूले मलाई हेरेरै तिमी काउकुति लगाउँथ्यौ, मेरो नशामा भरिएको यो रातो रगत नशामा अट्न नसकि फुटेर निस्किन्थ्यो होला राज, तिमीले त्यो हिउदको न्यानो दिनमा मेरा ओठहरू चुसि–चुसि माया नपिएको भए । मैले हालेको अङ्गालोलाई अझ नकसिदिएको भए अनि त्यो बालुवाका कणहरूमा तिम्रो र मेरो शरिरको बाफले नभिजाइदिएको भए । ती हातहरू खै? जसले मलाई हरेक पाइला–पाइलामा साथ दिन्थे ? हाम्रा सपनाहरू खै? जहाँ हामी दुई मादल बजाउदै घुमि–घुमि नाच्थ्यौं अनि फेरि अब आधुनिक बाजाको पालो भन्दै गितारको छाति छामि–छामि ठूलो मिठास भरिएको हाँसो हाँस्दै गीतले लय मिलाई–मिलाई त्यो कन्याम डाडै थर्काउथ्यौं । तिम्रो कसम खाँदै सुम्पेको मेरो आत्मा खै राज? भनन खै? कहाँ लग्यौ? अनि मेरो कसम खादै तिमीले सुम्पेको आफ्नो आत्मा मसँग छोडेर तिमी किन कहिल्यै आएनौ? राजस्व पारुको मुटु एकदमै जोडले धड्किन थाल्यो । राजस्व अचानक घर थर्किनेगरि पारु चिच्याइ, आँशुको मूल फुटेका आँखाहरू राता भैसकेका थिए । मैले तिम्रो लागि हरेक दिन, हरेक साँझ मन्त्र जप्दै बसेको थिए राज । तिम्रो निमित्त मात्र तिम्रो निमित्त दीप जलाउँदै हात जोडेको थिएँ । तिमी भन्थ्यौ भगवानले तिम्रो र मेरो जोडि बनाएको हो । भगवानले हामीलाई एक बनाउछन् । खै तिम्रो भगवान जसलाई मैले पनि बर्षौ पुजिरहे । खै राज, तिमी कहाँ छौ? ऊ बरबराइ बरबराइ अतीतमा एक–एक डुलिरहि । हात पकड्दै उफ्रेका कान्ला–कान्ला फेरि नाग्दै । उ हाँसि खुब हाँसि तर हाँस्नेहरूको माझमा बसेर सार मिलाई दिनको लागि । हरेक खुसिका दिनहरूमा उसको आत्मा चैं हराइरहेको हुन्थ्यो, छटपटाइरहेको हुन्थ्यो । अन्तरकुन्तरमा लुकेको उ भित्रको राजको आत्मा छटपटाइरहेको रहेछ तब त साँचो हाँसो कहिल्यै हाँस्न सकिन । हरेक सफलतामा किन मन खोलेर रमाउन सकिन? धिक्कार छ मेरो जीबन । पारु हराइ अतितमा, राजमा अनि पूरा हुन नसकेका हरेक इच्छा आकंक्षा अनि कुँडिएका आफन्नै अङ्गहरूमा ।

मन, मुटु, आत्मा अनि शरिरले कंपाइरह्यो पारुलाई । यन्त्रवत् रुप धारण गरेकी पारु कतिबेला कार्यालय प्रबेश गरि, कतिबेला पदोन्नतिको त्यो कार्यक्रममा पुगि अनि कतिबेला चुपचाप उठेर हिँडी । बिहान उठेर नित्य कर्म गरेजस्तो लाग्ने उसको यो एकनाशको एकोहोरो दिनचर्या ऊ भित्रको यन्त्रले पूरा गरिरहेकोथियो, उसले हैन । केहि मतलब छैन राज तिमीबिना यो मैले आर्जेको घर, पेशा, मेरो पद, मेरो पदोन्नति, मेरो बैंकमा थुप्रिएको त्यो भण्डारको मेरो खोक्रो कैल्यै खुलेर नबाचेको शरिर र आत्माको अगाडि । यति लेखेर पारु सरासर झ्यालमा चढ्छे अनि एकटकले तल हेर्छे । बढो आकर्षक लाग्छ उसलाई त्यो सडक अनि चुच्चो परेर बसेको त्यहि सडकमा पल्टेको ढुङ्गा अनि त्यो सडक र यो झ्यालको दुरि । आखाँ चिम्लिन्छे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

“खुकुरीको कथा”

/शुक्र, असार २, २०७४