फेरि एकपटक जिन्दगीमा कालो बादल मडारियो जे साचेको थिईन त्यही भयो । हुन त सोचे जस्तो जीवन कसको पो हुन्छ र ? तर पनि आफूले सोचेजस्तो नहुदा सबै तितरवितर हुदो रहेछ । आज विगतको पाना पल्टाएर हेर्दा कहाली लाग्छ । जीवनमा कस्तो कस्तो दुःख र पीडाको सामना गरेर आए ।

म घरकी जेठी छोरी, परम्परा अनुसार विवाह गर्ने पालो मेरै थियो । मैले जति प्रतिकार गरेपनि मेरो केही लागेन । लगन जुराए सबै मिलेर, म बाध्य भएर विवाहकोलागि राजी भएँ ।

जीन्दगीले भर्खर २० औं बसन्तपार गरेर २१ मा पाइला टेक्दैथ्यो । १२ को परीक्षा दिएपछि युद्ध जितेको सिपाही झै भएकी थिए । सुन्दर भविष्यको कल्पना गर्दै दिनहरू बित्दै थिए मेरा । घरमा विवाहको कुरा चल्यो । यसैपनि नेपाली समाजमा छोरीले २० काट्ने बित्तिकै विवाह गरिदिन पर्छ भन्ने मानसिकता अधिकाशं नेपालीहरूको हुन्छ । मेरो आमा बुवा शिक्षित भए पनि मेरो विवाह गरिदिन लागि परेका थिए । घर नजिकैको हजुरबुवा फलाक्दै थिए केटो सज्जन छ अहिलेसम्म सुपारीपनि मुखमा हालेको छैन । विवाहको लमीहरूले बोल्ने चर्चित वाक्य हो यो । म प्रतिकार गर्दै थिए किनकी मलाई अहिले विवाह गर्नुथिएन । तर म घरकी जेठी छोरी, परम्परा अनुसार विवाह गर्ने पालो मेरै थियो । मैले जति प्रतिकार गरेपनि मेरो केही लागेन । लगन जुराए सबै मिलेर, म बाध्य भएर विवाहकोलागि राजी भएँ । कुल घरानको केटा हो भनेर हल्ला मच्चिरहेको थियो । मेरो मस्तिष्कले त्यसबेलासम्म पनि बुझेको थिएन के हो कुल अनि के हो घरान । अ मलाई यति थाहा थियो कि केटा ईन्जिनियर हो । नाम असिम ढकाल । बाहुनको छोरो अनि म पनि बाहुनकी छोरी । विवाहपछि पढाईदिने सर्तमा विवाह गरेका थिए ।

विवाहको दिन घरभरी मान्छे जम्मा भएर नाच्दै थिए । तर मेरो मनमा ज्वाला दन्किरहेको थियो । आफूले कहिले नदेखेको नभेटेको मान्छेसंग जिन्दगी कसरी बिताउनु ? कसरी सम्बन्ध गासिन्छ त्यसै ? मलाई बाजा बजाउदै लिएर गए उनीहरूकै ढकाल निवासमा । मेरो नाम, थर, गोत्र, घर सबै परिवर्तन भयो । नया जीवनको सुरुवात भयो । अब जुन घरमा म बसेको थिए त्यो मेरो माईती कहलियो अनि जहा म प्रस्थान गरें त्यो मेरो घर कहलियो । हाय रे समयको खेल ∕ जोसंग हुर्के बढे उही मेरोलागि बिरानो हुने समय आयो ।

सुपारी समेत खादैन भनेको मान्छे रक्सीले हल्लिदै विवाहको पहिलो रात मेरो समिपमा आएर मसंग श्रीमानको हक जमाउदै भन्यो सरी ल साथीसंगको जमघटमा हल्का पिए । कति सजिलै भनिदियो उसले हल्का पिए भनेर उसलाई के थाहा उसको त्यो व्यवहारले मेरो मन कति भक्कानियो ।

घर पुगेर सबै परिवारलाई ढोगाउन सुरु गरे । म कठपुतली झैं उनीहरूको ईशारामा नाच्दै गए । मेरो सिउदो रातो रगंले रंगिएको थियो । शिरदेखि पाउसम्म सिंगारिएकी बेहुली हेर्न सबै तछाडमछाड गर्दै थिए । बेहुलीको निधार ठूलो रहेछ भाग्यमानी रहिछे । कुन कुनाबाट आवाज आयो ठम्याउन सकिन तर सोचे निधार ठूलो हुदैमा भाग्यमानी हुने भए ठूला निधार हुने जतिले आफ्नै भाग्यले खान पाउथे होलान् दुःख किन गर्नुपथ्यो ? विवाह भोज खान आएकाहरू विस्तारै विलिन हुन थाले । मेरो श्रीमानको ट्याग पाएका व्यक्ति अझै आँखा अगाडि देखिएनन् । थकै र निन्द्राले चुर भएकी म कतिखेर निदाए पत्तै भएन । रातको दुई बजे ढोका खुल्यो, मसंग कोठामा कोही थिएन । ढोका खोल्ने अरु कोही नभएर मेरो श्रीमान थियो । झसंग भए म  जमिन भूकम्प आएजसरी हल्लिदैं थियो । त्यो आधा रातमा मेरो सामु उमात्रै थिएन उसंगै रक्सीको गन्धपनि थियो । सुपारी समेत खादैन भनेको मान्छे रक्सीले हल्लिदै विवाहको पहिलो रात मेरो समिपमा आएर मसंग श्रीमानको हक जमाउदै भन्यो सरी ल साथीसंगको जमघटमा हल्का पिए । कति सजिलै भनिदियो उसले हल्का पिए भनेर उसलाई के थाहा उसको त्यो व्यवहारले मेरो मन कति भक्कानियो । मध्य रातमा हल्ला खल्ला गरेर भाडभैलो मचाउन मलाई मेरो संस्कारले दिएन । चुपचाप सुत्ने कोशिष गरें । ओल्टेकोल्टे गर्दागर्दै बल्ल बल्ल बिहान भयो । सोझै सासुसंग गएर कराउन मन लाग्यो । आमाजुसंग झगडा गर्न मनलाग्यो, चिच्याउन मन लाग्यो तर सकिन ।

आमाजु, जेठाजु, सासु ससुरा, जेठानी सबैले भरिपूर्ण थियो घर । बिहान भान्सामा चिया पकाउदै गर्दा मैले साहस बटुलेर सोधें तपाईको छोराले सबैथोक खानुहुन्छ । खान हुने, नहुने सबै । यति हँुदाहँुदै सुपारीपनि खादैंन भनेर किन ढाट्नु भयो ? उमेरले ४५ मात्र पुगेकी मेरी सासु कड्किदै भनिन् कहाबाट खान्छ मेरो छोराले नचाहिने कुरा ? फेरि अहिलेको जमानामा खायो त के बिग्रियो । हो रक्सी पिउदैमा केही बिग्रिन्न तर समय हुन्छ जे कुराकोपनि, विवाहको रात कुनचाहि श्रीमान साथीसंग जमघट गरेर श्रीमतीलाई एक्लै कोठामा छोड्छ मलाई भन्नुस् । यती भनीसक्दा मेरो आखाबाट आशु झरिसकेको थियो । मनले भन्यो छोड्दे आश्मा अब तेरो घर यही हो त जसरीपनि यहा बस्नुपर्छ । मस्तिष्कले भन्यो हैन त बुझ्ने केटी होस्, आफ्नो जीवन जसरी खुसी हुन्छ त्यही गर् । मैले केही निर्णय लिन सकिन ।

असिम मसंग औपचारिक कुरा बाहेक अरु केही भन्दैन थियो । बिहान उठेर उसलाई चिया बनाइदिनु, उसको घरको सम्पूर्ण काम मेसिन जसरी गर्नु मेरो दिनचार्या थियो । न म असिमसंग कतै घुम्न जान पाउथें न त उसंग मनको कुरा खोल्न नै । पढाई, जिन्दगी सबै बर्बाद भो मेरो । असिम र उसको परिवारले मसंग बिहे गर्न बोलेका झुट एकएक गरी अगाडि आउन थाल्यो । एसएलसी मात्र उर्तीण गरेको मान्छेले ईन्जिनियर बनेर मसंग विवाह गर्न सक्थ्यो भने अरु जेपनि गर्न सक्थ्यो ।

ऊ र मसंगै हुने मौका कहिल्यै भएन । एउटै छानामुनी बसेरपनि अलग थियौं हामी । हरबखत मोबाईलमै आखा हुन्थ्यो उसको । ऊ घर आईपुग्दा घरका सबैजाना सुतिसकेका हुन्थे । म उसको प्रतिक्षामा भोको पेट बसिरहन्थें । कहिले ऊ बाहिरै खाएर आउथ्यो, कहिले आउदै आउथेन ।

एकदिन मोबाईल कोठामै छोडेर पसलसम्म गएको थियो । उसको मोबाईलमा घण्टी बज्यो । उसको फोन उठाउने दुस्साहस मैले गर्नसकिन । तर मोबाईलमा सेभ भएको नामले मेरो मुटु जोडसंग थर्कियो । मुख रातो रातो भयो । फोन सेभ गरेको नाम थियो ‘स्वीटी’ ।

नारीले जति सक्षम भएपनि सबैकुरा सहेरै बस्नुपर्ने रहेछ । मैले सहेरै बसें । दिन महिना हुदैं बर्ष बित्यो । सबथोक परिवर्तन भयो । मेरो आफ्नो शरीर सुकेर हेर्न लायककै थिएन । यतिसबै हँुदापनि मैले आफ्नो बुवा आमालाई केही भनिन । तर सत्य कतिदिन लुक्छ र ? आमाले असिमलाई एकदिन कुनै केटीसंग गाडिमा देख्नुभएछ । मलाई तुरुन्तै फोन गरेर आमाले यो कुरा सुनाउनु भयो । मैले आमाको कुरामा खासै ध्यानदिइन जे जस्तो भएपनि म समाजको अगाडि बाजा बजाएर भित्र्याईएकी उसकी श्रीमती थिए । उसले मलाई बेवास्ता गरेपनि अरुसंग सम्बन्ध गास्छ भन्ने अलिकतिपनि मेरो मनमा थिएन । एउटी महिलाले सबैकुरा बाड्न सक्छे तर आफ्नो श्रीमान अरुसंग बाड्न सक्दिन । आमाको कुरालाई मैले खासै चासो दिइन ।

असिम र मेरोबीचमा केहीकुरा हुदैंन थियो । ऊ कहा जान्छ, के काम गर्छ, कोसंग दिनभरी हुन्छ मैले केही पत्तो पाउदिन थिए । उसलेपनि मेरो निजी जीवनमा केही हस्तक्षेप गर्दैनथ्यो र मैलेपनि गर्दिनथें । असिम एकदिन मोबाईल कोठामै छोडेर पसलसम्म गएको थियो । उसको मोबाईलमा घण्टी बज्यो । उसको फोन उठाउने दुस्साहस मैले गर्नसकिन । तर मोबाईलमा सेभ भएको नामले मेरो मुटु जोडसंग थर्कियो । मुख रातो रातो भयो । फोन सेभ गरेको नाम थियो ‘स्वीटी’ । मैले त्यसदिन उसको मोबाईल पूरै चेक गरें । जुन नामबाट फोन आएको थियो असिमको मोबाईलमा त्यही नामबाट आएको कयौं म्यासेजहरू थिए । म विश्वस्त भए असिमको अरु कसैसंग सम्बन्ध छ भन्ने कुरामा । यति थाहा हुदाहुदै म असिमसंग बस्नु भनेको आफ्नो जीवन ध्वस्त गर्नु झैं थियो मेरोलागि ।

एकबर्षसम्म बन्न नसकेको सम्बन्धलाई अदालतको १५ मिनेटको बयानले बनाउछ भन्ने आशापनि थिएन । हेर्दाहेर्दै सम्बन्ध विलिन भयो । मेरो र असिमको गन्तव्य परिवर्तन भयो ।

मैले निर्णय गरें अब मैले असिमलाई छोड्नैपर्छ । जोसंग मेरो एकपलपनि खुसीसाथ बितेन उसंग पूरै भविष्य कसरी बित्न सक्छ ? मैले अरु केही सोचिन । डिभोर्सको निर्णय असिमको कानसम्म पुर्याईदिए । यसैपनि कसैलाई मप्रति कुनै दयाभाव थिएन आखिर सबैको कामदार जस्तै भएर त बसेकी थिए म । भित्र कसको मनमा के चल्यो थाहा पाईन । तर असिमको परिवारहरू कसैको आँखामा पश्चाताप थिएन । हेर्दा यस्तो लाग्थ्यो मानौं उनीहरू आफ्नो जीवनमा बसेको काडालाइ सजिलै पन्छाउदै थिए । मैले एकपटकपनि कसैको मुख हेरिन । सिधै हिडे आफ्नो बाटो । सोझै अदालत जान मन थियो तर गइन । आफ्नो माईती कहलिएको घरमा फेरि पाईला टेकें निरिह बनेर ।

आफूले घर छोडेपनि असिमले मसंग क्षमा माग्छ की भन्ने झिनो आशा पलाएको थियो ममा । नभन्दै मोबाईलमा घण्टी बज्यो । असिमले गरेको रहेछ । अचम्म लाग्यो जुन व्यक्तिले एक बर्षसम्म अपरिचित जस्तो व्यवहार गर्यो उसैले आज मलाई श्रीमती भनेर फोन गर्यो । उसले बोलायो मलाई भेट्न तर म गईन । किनकी उसलाई आफ्नो सम्बन्ध बचाउनभन्दा ईज्जत बचाउनु थियो त्यसैले बोलायो मलाई तर मायाले हैन ।  मैले आफ्नै खुशी दाउमा राखेर कसैको ईज्जत जोगाउन जरुरी ठानिन ।

डिभोर्सको दिन असिम आफ्नो बुवा र आमाको साथमा अदालत आयो अनि म आफ्नो आमा बुवाको साथमा । समयले एकबर्षमै कस्तो कोल्टे फेर्यो । जसले सम्बन्ध गासिदिएका थिए आज उही आमाबाबु निरिह भएर आफ्नो सन्तानको सम्बन्ध विच्छेद गराउदै थिए । मलाई अलिकतीपनि पछुतो थिएन । जुन व्यक्ति कहिल्यै मेरो श्रीमान बन्न सकेन उसंग बस्नुभन्दा बरु छुटिनु नै मेरोलागि धेरै उत्तम थियो । मैले असिमको आखामा आखा जुधाएर हेरें । सायद पश्चातापको भूमरीमा जलिरहेको थियो ऊ ।

मैले सरासर गएर डिभोर्स पेपरमा सहि गरिदिए । अदालतलाई बयान दिन जरुरी ठानिन । एकबर्षसम्म बन्न नसकेको सम्बन्धलाई अदालतको १५ मिनेटको बयानले बनाउछ भन्ने आशापनि थिएन । हेर्दाहेर्दै सम्बन्ध विलिन भयो । मेरो र असिमको गन्तव्य परिवर्तन भयो । आजबाट हामी नदीका दुई किनारा झैं भयौं जसको भेट असम्भव थियो ।

हातमा भएको चिया सेलाईसकेछ । सोच्दा सोच्दै कहा पुगेछु म । फेरि विगतले एकपटक झक्झकाएर गयो । घडिमा ८ बजिसकेको थियो । अफिसकोलागि तयार हुदैं गर्दापनि किनकिन आज मानसपटलमा विगत घुमीरह्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार