‘यी सामान लोग्ने बोक्छन् । हाम्लाई क्यै नाइ !’
ताल्चा विमानस्थलमा भारी बोक्न नपाएकोमा आइमाईहरु रिसाए । केटाहरु भारी बोकेर लम्केका थिए लुइँलुइँ ।
केटाहरुलाई ‘लोग्ने’ भनेका थिए ती भरिया आइमाईले ।
हामीसँग अरु तीन केटा थपिए– रमेश रोकाया, हेमराज रोकाया र धर्मराज रोकाया । दक्षिण पट्टिको धुलाम्मे बाटो नाघेर पश्चिमी तेर्पेतिर हामी लाग्यौँ ।
‘कर्णालीको विकट भनेको यै होला !’
खिटिक–खिटिक फोटो खिच्ने रोमनाथ ज्ञवाली मेरा अघिपछि भइरहेका छन् । झन् अघिदेखि नै लापत्तिएका प्रेमबहादुर गुरुङ त लामो क्यामेरा बोकेर मभन्दा धेरै पछाडि नै छन् ।
मैले नेपालगन्जमै भएभरका लुगा ठूलो धोक्रामा पठाएकोले झोला सजिलो छ पछाडि । उही ज्यान मात्र लस्काउन सक्नु पर्यो ।
निकै तल आएपछि बाटो पश्चिमतिर पसारियो । मास्तिर घना वन पातलिँदै थियो । दक्षिणतिर अनौठा पहाड र चेपमा कुदेको देखिरहेको छु बाटो ।
दीपक बहादुर बुढा हाम्रा अगुवा छन् यो घुमघाममा । सबैले मानेका छौँ उनको अह्राइसिकाइ ।
‘याँ आएका बड्डा गल्न लागे । घोडा पठाऊ चाँडो–चाँडो !’
उनी मोबाइल थिचिरहेका छन् ।
तर राम्रो खबर उता नपुगेको कि उनले बताउन नसकेका— त्यै कुरा घरीघरी हामी सुनिरहेका छौँ ।
घाम र चिसो हावाले पिरती गाँसेको गाँसेकै छ । त्यसको मार पर्यो हामीलाई । पानी नपरेर छारो उडेको छ बेपत्तैले ।
बाटाभरि डाले चुकका बोट थिए । चुत्रोका काँडे पोथ्रा थिए बाटैभरि ।
रारा राष्ट्रिय निकुञ्जको साँध भएर गइरहेका छौँ हामी । छानी–छानी रुख लडाएको देखेर मन विरक्तियो हुनसम्म । वनभरि रुखका फेदमा बन्चरो चलाएको हामीले पनि सुन्यौँ ।
ज्ञवाली त बेला–बेला ‘को हो रुख काट्ने ?’ भन्दै पनि हिँडिरहेका हुन्थे । उनी त निक्कै खिन्न लाग्थे वन फँडानी देख्दा ।
‘यै तालले हो भने राराको मूल सुकिहाल्छ नि !’
मैले उनको चिन्तालाई सघाएँ ।
दक्षिणतिर झ्यारी गाउँ रहेछ । झुरुप्प घरैघर । माटोले छानो छाइएका घरहरुमा अगाडिपट्टि ठूलो भर्याङ तेर्सिएका थिए । त्यै एउटा खाँबो जस्तोमा सिँडी थियो । पाइला मात्र अडिने खुड्किलो ।
गरैगरा थिए दक्षिण–पश्चिमतिर ।
‘चार महिना भो पानी नपर्या । खडेरीले हाम्लाई भोकमरी थप पन्र्या भो !’
बाटामा धनरुपा बूढाले भनिन् ।
रिग्मु धारामा चियापानी खाइयो । चाउचाउ उमालेर खान लाग्दा मुर्मा गाउँबाट आएका तन्नेरीले कोखिलाबाट तीन–चार ठूला–ठूला रोट्टा झिकेर तेर्साए–‘बड्डा, खाऊ !’
खाइयो, मज्जैले खाइयो ।
डढेलो लगाएका डाँडाहरु जतासुकै देखिन्थे । हावा हुइँकिएर धुँवाको मुस्लो जतासुकै फैलेको देखिन्थ्यो । रुखा पहाड हेरेर मनभित्र खिन्नको बादल छोडेन गर्जिन ।
साथी भयो तेर्पे बाटो ।
अनौठा रुख, बिरुवा र पोथ्रासँग चिनाजानी भइरहेको थियो । भन्नलाई तीन घन्टामा रारा किनारमा पुगिन्छ भने पनि बाटो हेर्दा त्यो छाँट त्यति चाँडै आइपुग्लाजस्तो लागिरहेको थिएन मलाई ।
खुट्टाका दुबै कान्छी औँला च्यापिएर थला परेका ज्ञवाली मुस्किलले लस्किरहेका थिए । मेरो ज्यान घरी गर्मीले बाफिन्थ्यो, घरी चिसोले सिताङ्गे । लाउने र खोल्ने रफ्तारमा थिएँ म ।
लेकाली चराका बथान भुरुर्र–भुरुर्र वेग हान्थे अकासमा । पहाडको छायाँ नाघेर अर्को छायाँ झन् पर पुग्थ्यो । पहाडपछि पहाड । भीरपछि भीर । खोँचपछि खोँच । आँखाले देखिरहेका थिए । काला र खरिखुन्ने चुचुरामा कताकति हिउँको छरछार पारिएको भेट्थे आँखाले ।
‘ए, काँ पो पुगेँ म त !’
मनले चिच्याए पनि किलकिले बाहिर आउन दिइन ।
बाटो निकै तेर्छो छ । घरी–घरी उकालो छ दम्साइलो । उत्तरतिर निकुञ्जको वन । दक्षिणतिर नि बस्ती, खेत र मान्छेको चहलपहल देखापर्छ हलुका ।
कुइनेटोबाट उकालो लाग्दा अँगाला भरिका रुख सोत्र्याम्म–सोत्र्याम्म लडाएका देखिए– पाखैभरि ।
‘यै तालले वन रित्तिन के बेर ?’
ज्ञवालीको चिन्तामा गुरुङ पनि थपिए ।
हामी लडेका र आगो लगाइएका रुख नाघ्दै मास्तिरको पाखोमा आइपुग्यौँ ।
लौ हाम्रा झिटिगुन्टा त बाटामा पो !
‘अघि गएका केटा काँ गए ?’
मैले सोधेँ अत्तालिएर ।
‘यसो एक चरन देउडा खेलूम् भनेर तन्नेरी गा’ हन् ।’
बुढाले बताए ।
मैले आँखा च्यातेर हेरेँ– दुईतीन तरुनीहरु गाई धपाउँदै तल चौरमा आइरहेका देखिए ।
सल्लीपिरको उकालो नाघेर तल देखियो टार । त्यहाँ धुँवा पुत्ताइरहेको देखियो । चार पाँच केटाकेटी खेलिरहेका थिए । त्यहीँबाट पारि चङ्खेलीको लेक पनि देखियो ।
पुरानो एक रुपियाँको नोटमा राखिएको रहेछ चङ्खेलीको तस्वीर । वनैवन र देखिने अरु डाँडाले नयाँ छाप पार्न थाले मनमा ।
तीन घन्टा नाघेछ– हिँडेको बाटो ।
‘घोडा आएनन् । बड्डालाई गाह्रो भो है ?’
आदर गरिरहेका छन् बुढा ।
तै चौर आयो । हिँड्नलाई सजिलो भयो निकै नै । घोडा, बाख«ा चरिरहेका चौर देख्ता मनभरि खुसी छायो ।
सबै सुकेर पहेँलै भएको छ । त्यही सुख्खा घाँस पनि जरै लाएर खाइरहेका थिए– घोडा, बाख«ा र भेडाका बथान ।
‘बर्खामा यहाँ पूmल देख्न पाइन्छन् हजारौँ रङका । यहाँ नफुल्ने पूmल दुनियाँमा कहीँ पनि हुँदैनन् ।’
दीपक बोलिरहेछन् उज्यालो अनुहारमा ।
म जाडोले काट्ठिएको हातले आँखा पुच्छु, गाला छाम्छु र चस्मा पुच्छु । कानका लोती हत्केलाले तताउँछु । नाकेडाँडीमा कर्णालीको चिसोले लिपपोत गरिरहेकै छ पटक–पटक ।
‘यहाँ किन विमानस्थल नबनाएको होला ?’
यो प्रश्न ज्ञवाली, बुढा र नयाँघरेको एक साथ थियो ।
सम्भवतः अघि जाने गुरुङको पनि थियो होला । उनी हामीभन्दा निकै अघि गइरसकेथे लम्की–लम्की ।
ताल्चा विमानस्थल त जबरजस्ती भीर सम्याएर बनेको लाग्थ्यो । यो छत्तीस सालमा बनाउन सुरु गरे पनि अहिलेसम्म पूर्ण रुपमा बनिसकेकै छैन । यहाँ बनेको भए तालको प्रचार र पर्यटकको धुइरो लाग्ने कुरामा विमति थिएन । फेरि कालोपत्रे मात्र गरिदिए– अरु टन्टै साफ !
तर किन हो– त्यो हुन पाएनछ ।
‘साथी हो, मलाई त चौरमै लडीबडी गर्न मन लाग्यो !’
मैले खुसी रोक्न नसकी भनेँ ।
साथीहरु हाँसे ।
हामीतिर आइरहेका थिए भेडाका बथान र ठूला–ठूला भोटे कुकुरहरु । चिल्ला र सुकिला घोडाहरुको बगाल चौरको दक्षिणी र पश्चिमी कुनामा देखियो ।
कुनै समय ताल यहाँसम्म थियो कि जस्तो लाग्थ्यो । अथवा माटो पहिरेर ताल यहीँबाट परतिर धकेलिएको हो कि भन्ने भान लाग्थ्यो ।
अब घाम पनि हरायो ।
घना वन झन् टुप्लुकियो नजिकै । हरियो जङ्गल र गोधूलिको घामलाई बामपुड्क्याउने सुन्दरता लापत्ता थियो यस बेला । मन त पुगेछ रमाएर कहाँ… कहाँ… !
‘अझै एक घन्टा लम्किनु पर्ला बड्डा ।’
काठे पुलहरु धमाधम देखा परे । मास्तिरबाट रसाएर आएका कुलकुले सङ्ला मूलहरु सामु परे ।
‘हैन, यो वनमा कसले माटो खनेको ? हलो जोते झैं जसरी !’
ज्ञवालीले सोधे ।

पर… पर… सम्म पौडिरहेका हाँसको बथानले अकास ढाकेर उड्ने र फेरि ताल ढाक्ने गरिरहेका थिए । एकदम चकमन्न संसार । पानीले हरेक कुरालाई कोमल बनाएको छ ।

‘यो त बँदेलले खनेको नि !’
दीपकले बताए ।
ओहो, जताततै खेत खनेजस्तो देखियो । बँदेलले आफ्नो आहारा खोज्न दा¥हा धसेको रहेछ– वनैभरि ।
अब त झन् खुट्टा लम्काउनु प¥यो । म त नजानिँदो गरी भित्र–भित्रै डराएँ, अत्तालिएँ । ओर्लिरहेको साँझमा घना जङ्गलले घेरिरहँदा ढुक्क कसरी पो हुनु !
खुट्टा र ढुकढुकी एकै साथ चले ।
‘बेलैमा जङ्गल काट्नु पर्ला !’
बुढाले चिमोट्न छोडेका छैनन् ।
निकै लम्केपछि देखियो– नीलो रारा ।
ओहो, अद्भूत रारा !
डुब्दो घाममा राराको ढलपल–ढलपल । लहरले नुहाएर बसिरहेको रारा । किरमिरे छालको वारिपारि पौडिरहेका पहाडै पहाडको तस्वीर । किनार पुगेर फर्किरहेका लयालु लहरहरु ।
पहाडका तरेलीले घेरिएको छ रारा । हरियो वनले यो रारा सुरक्षित छ ।
हाँसका बथान डुबुल्किएर आलोकित थिए । पहाडको उत्ताल छायाँ राराको लहरमा उत्रिन्छन्, डुब्छन् ।
मैले राराको पानीले अनुहार धोएर भनेँ– ‘अर्को कुन सौन्दर्य होला !’
म निकै बेर हराएँ । मेरो मन समाहित भयो– राराको गहिराइमा ।
मेरा आँखाले राराको रङलाई पढ्न खोजिरहे… खोजिरहे ।
हामीले निकै बेर राराको कञ्चन पानीलाई निहाल्यौँ । पानीको अटल गहिराईलाई नापिरह्यौँ… नापिरह्यौँ… । पानीमा मिसिएको लहरलाई पछ्याइरह्यौँ… पछ्याइरह्यौँ… ।
पर… पर… सम्म पौडिरहेका हाँसको बथानले अकास ढाकेर उड्ने र फेरि ताल ढाक्ने गरिरहेका थिए । एकदम चकमन्न संसार । पानीले हरेक कुरालाई कोमल बनाएको छ । हरेक तरलतामा झन्–झन् तरल बन्छ ।
‘के संसारबाट बिटुलिन यति टाढा आएर बसेको ?’
तालसँग विदा हुने बेलामा मेरा ओठ बोले ।
कुदिरहेका छौँ हामी । भालुको डर छ, बँदेलको डर छ, बाघको डर छ । साँझले बेर्रिएका पहाड र वनमा अर्कै रुप देखा पर्न थाले ।
तालको उत्तरपट्टि सेनाको क्याम्प देखियो । अरु केही सरकारी अड्डा पनि आँखासामु परे । उत्तरी किनार भएर बाटो गएको पनि देखियो प्रष्टसँग ।
‘भोलिका दिनमा हेरुँला बड्डा । छिटो जङ्गल कटौँ ।’
दीपकले हतारो देखाए ।
म पनि अत्तालिएको थिएँ ।
औँलाको पीडाले रन्थनिएका ज्ञवाली हामीले ‘छिटो कि छिटो’ भनिरहँदा उनी झनै रिस र पीडाले पिल्सिएका हुँदा हुन् ।
दक्षिणपट्टिको किनार भएर हामी हिँडिरह्यौँ सास फुलाई–फुलाई ।
सल्लीपिरले बाटो रोके पनि हामी लम्किहाल्थ्यौँ । खुट्टा खस्थे स्वात्त–स्वात्त ।
निकै अघि छुट्टिएका साथीहरु हामीलाई कुरेर बसेका रहेछन् बाटोमा । उनीहरु भेटेपछि मनमा आश उम्रियो ।
पश्चिमी पाटोमा तालको पानी निस्कँदो रहेछ । यसलाई गाउँलेहरु निजार भन्दा रहेछन् ।
त्यही कुलकुलाएको खोलाको साथी भएर हामी फेरि लाग्यौँ पश्चिमतिरै ।
ताल, वन र खोलोसँगै मान्छेको खलबल ।
अघिको स्वाँ–स्वाँ केही कम भयो । जाडो र चिसोले भुलभुल आँसु उमा¥यो आँखामा ।
कठै, मेरो कोट । आफैंले डाउन ज्याकेट खोज्यो !
झमक्क गाढा अँधेरी साँझ । मान्छे कोही पनि नचिनिने भएपछि हामी माझघट्ट पुग्यौँ । तीनचार घर थिए त्यहाँ । हाम्रो बसोबास यहीँ हो कि भनेको– फेरि साथीहरुले अँध्यारोमा कराए– ‘बड्डाहरुलाई उता राख्ने, उता !’
बिसाइएका झोला फेरि काँधमा बोकेर पश्चिमतिर लाग्यौँ । जीउले जिस्काएको ठानेर गुत्थ प¥यो ।
ओह्रालो झरेर उक्ले लगत्तै फराकिलो आँगनमा पुग्यौँ ।
घरमूली रहेछन्— नन्दसिंह रोकाय ।
अब हाम्रो एक साता यै घरमा किलो गाडिने भो ।
०००
६ मंसिर, २०७२ ।
राति बडेमानको स्लिपिङ ब्याग भित्र पसेथेँ । म ब्यूँझदा त बाघ गर्जेजस्तो लाग्दैथ्यो ।
पल्लो खाटमा ज्ञवाली र झन् पल्लोमा दीपक थिए । मसँगै जोडिएको दक्षिणतिरको कोठामा गुरुङ थिए ।
बिहान पाँच बजे सबैको घुराइ ‘रिले रेस’ मा गुन्जायमान थियो । शायद नब्यूझिँदा त मै पनि त्यसको अर्को सदस्य थिएँ हुँला ।
बाहिर आएर अकास हेरेँ । जून धेरै तल आएको थियो । जाडो राराको पानीमा मिसिएर आएकोले होला– धेरै बेर बाहिर बस्ने हालत थिएन । भयानक स्याँठले लाछलुछ पा¥यो ज्यानलाई ।
निकै उज्यालो भएपछि अँगेनोमा घुस्रियौँ ।
घोडा मच्चा चिया खुबै खाइयो थपी–थपी । पीरो–पीरो हुने एकखालको घाँस घोडाले खाँदो रहेछ । त्यसलाई चियाको रुपमा खाने गरिँदो रहेछ– घोडा मच्चा ।
मेरो गिलासमा नन्दकी पत्नी कलाले थपेकोथपेकै गरिन्— त्यो चिया ।
हिउँ नपरेर सबै बुङबुङी धुलो थियो । ठाउँ–ठाउँमा ढुङ्गा समेत चोइटिएर खस्न थालेका छन् रे– तातो र गर्मीले । पानी नपरेर जौं समेत नउम्रेको बाटो हिँड्नेहरु बताइरहेथे ।
पर्वतीय प्रशिक्षण प्रतिष्ठानको पर्यटन तालिममा सहभागी भएकोले समाज, मानिस र संस्कृति पढ्ने मेरो रहर छ । मौका मिल्यो कि कुरा गरिहाल्न मन गर्थें म त ।
गम, करान, सोरु र खत्याड गरी चार भेग रहेछन् रारा वरिपरि । गम भेग अलिक सुगम, करान निकै सुख्खा क्षेत्र रहेछ । सोरु भेग पनि निकै उराठिलो मानिँदो रहेछ भने खत्याड भेग केही रसिलो रहेछ ।
जतिखेरै दाउरा बालिने चुलोमा रसिलो पोसिलो पाक्ने कम देखेँ । झोल, पानी र दूधमोही लगभग शून्य नै थियो ।
रोट्टा र बुगुल्टो खाना खाएका देखिन्थे सबैका घरतिर । हामीले हरेक जसो छाकमा मह र रोटी नै खायौँ ।
सिमी खुबै झल्दो रहेछ यहाँ । अरुहरु सुख्खा खान्थे तर साथीहरुले झोल हालेको पकाउन जोडबल गरे । सुरुप्प–सुरुप्प खुबै खाइयो– खैरो र सेतो सिमीको रस ।
एक साँझ त मकै र सिमी मिसाइएको कोल खाइयो । गरीबले मात्र खान्छन् रे कोल ! तर यो त फाइदा हो भन्दा, अरुहरु खान रुचाउँदैनथे ।
माझघट्ट भएर मानिसहरु ताल्चा र गमगढी जाँदा रहेछन् । गौँडो रहेछ यो ठाउँ ।
निकुञ्ज बनेपछि यो ताल छेवैका रारा र छाब्रु गाउँ २०३५ सालमा मधेसमा सारिएछ ।
अहिले गावर, चिसापानी र रजानामा बस्ती सारिएकाहरु आफन्त भेट्न हरेक वर्षजस्तो यता आउँछन् रे ।
बाटोमा भेटिनेहरु आइमाईलाई सोद्धा भन्थे– ‘तल्तिर गा’हन् ।’
हरेक लोग्ने मान्छेहरु कामका लागि नेपालगन्ज, सुर्खेत वा सीमापार जाँदा रहेछन् । ‘तल्तिर’ भनेको ठाउँ त्यै रहेछ ।
०००
म त फुर्सद मिल्यो कि रारा तालतिर गैहाल्थेँ । कहिले को, कहिले को साथी बनी पनि हाल्थे ।
मैले साँझमा पनि हेरेँ ताललाई, बिहान पनि हेरेँ, मध्य दिउँसो पनि हेरेँ । रारा हरेक क्षणमा फरक लाग्थ्यो । हरेक समयको रारा भिन्न लाग्थ्यो र बेग्लै लाग्थ्यो । यो हरेक कोणबाट अप्रतीम लाग्थ्यो ।
पश्चिमपट्टि राराको पानी जाने सानो खोल्सो थियो । त्यत्रो रहको पानी निकास हुने ठाउँ निकै सानो लाग्थ्यो ।
पानी गएनिर यो ठाउँ निजार पुल रहेछ । त्यस वरपर लागुड, तेलाई, सिमापानी, बगई गाडा, मिलिचौर, भदाली, काकचुच्चा ठाउँका नाम थिए । यस्तै बताडिल, रारा महादेव, हुटु, सैन ओखरबोट, हिम तालछेउका ठाउँ रहेछन् ।
राराका चारै कुनामा चुच्चेमारा, मुर्माटप, मालिका र ठाकुरज्यू गरी चार किल्लाजस्ता भयानक अग्ला थुम्काहरु ठडिएका छन् । कुनै हरिया, कुनै कालै पल्टेका थिए गजधुम्मे थुम्काहरु ।
तालका उत्तरी किनारमा सेनाको टुकडी रहेछ । हामीलाई सहसेनानी ध्रुव कुमार विष्टले हार्दिकता देखाए । ताल छेवैमा लटरम्म फलेका स्याउ चखाए उनले ।
करप्प टोक्दा महका पत्रे–पत्रे तह थिए रसिला स्याउमा । जिब्रैमा झुन्डिए टोकेका स्याउदाना ।
‘बड्डा, ताल फन्को मार्ने मन गर्या हन् ।’
विष्टलाई भनेछन् देवीकृष्ण रोकायाले ।
अनि हामी ताललाई फन्को मार्न सकेका थियौँ । सेनाका जोसिला गोताखोरले निकै कुशल पारामा नाउ चलाए । हामी यस्तै आधी घन्टा जल विहारमा रमायौँ ।
सङ्लो पानीमा डुङगा हेलाउनुको आनन्दी नै बेग्लै ।
दिउँसो हावा बेस्सरी चल्ने हुनाले बिहान मात्र यो औसर जुट्दो रहेछ । हामी बिहानै गएका कारणले ‘चान्स’ पाएका थियौँ— नौका चढ्ने ।
तालका उत्तरतिर चङ्खेली र बेउलाबेउली हिमालको सुन्दरता झनै मोहक थियो ।
सेता हिमालमा अनेक लस्करले मनमा उज्यालो ओर्लिन्थ्यो, हर्ष चम्किन्थ्यो र खुसी खित्काउँथ्यो । जीवन लाग्थ्यो जीवन जस्तो । नशा–नशामा एउटा उल्लासको झरी पथ्र्यो झमझमी ।
तालको कथा सुनाए देवीकृष्णले ।
‘उहिल्यै एउटा जोगी गाउँमा आएछन् । पानी खान माग्दा एउटी बूढीले भनिछन्, यहाँ साह्रै दुःख छ पानीको । अनि जोगीले आफ्नो त्रिशूल प्रहार गरेपछि पानीको मूल फुटी यो ताल बनेको रे !’
उनका कुरा सुनेँ ।

तालको लहरमा वरिपरिको हरियो ढलपल गथ्र्यो । उत्तरतिरबाट सोहोरिएको लहरले चिसो ल्याउँथ्यो । दक्षिणपट्टिबाट जरैदेखि बढारिएको छालले घोलघाल पाथ्र्यो त्यो चिसोलाई । रारामा छ अद्भूत सुन्दरता, शालीनता र सौम्यता ।

सत्य के थियो थाहा छैन– तर राराको मूलबारे अहिलेसम्म कसैले पनि पत्तो पाउन सकेका रहेछन् । निकास भने पश्चिमी निजार रहेछ ।
राराको पानी भुलभुलाएर किनार छोइरहेको देख्दा सबै वेदना गुमनाम हुन्छन् । राराको लहर ढलपल–ढलपल गर्दा जम्मै हैरानी लापत्ता हुन्छन् । राराको छालले चारै सुरमा चुम्बन गर्दा पुरै दिग्दारी बेपत्ता हुन्छन् ।
राराका वरिपरि वन बुट्यान देखिन्थे औधी घना । औषधि र गुणकारी ती रुखपातले रारामा पानीको ‘जल भेला’ पारिरहेको लाग्थ्यो । तालको लहरमा वरिपरिको हरियो ढलपल गथ्र्यो । उत्तरतिरबाट सोहोरिएको लहरले चिसो ल्याउँथ्यो । दक्षिणपट्टिबाट जरैदेखि बढारिएको छालले घोलघाल पाथ्र्यो त्यो चिसोलाई ।
रारामा छ अद्भूत सुन्दरता, शालीनता र सौम्यता ।
मन नअघाउने, आँखा नथाक्ने र चेतना नगल्ने । राराले दिने उपहार यै, कोसेली यै । खुट्टा ठाउँको ठाउँमै बसेर आँखाले पिएको पिएकै गर्छन् । अचल मनले राराको लहरमा पानीको सम्पूर्णता भेट्छन्, देख्छन् र अनुभूत गर्छन् ।
रारालाई फन्को मारेदेखि पुरै एक दिन लाग्ने रहेछ । एक झमट त मन पनि गरेका थियौं हामीले । तर घोडा परे बड्किहाल्ने । अनि चम्किइहाल्ने घोडाबाट चढ्ने र उक्लिने साहस भएन हामीसँग ।
‘ठाउँ–ठाउँमा घोडा नि लोट्छन् । झर्नै पर्छ !’
वीरबहादुर कामीले भनेका थिए ।
त्यै भएर रारा प्रदक्षिणा गर्ने साहस आएन हामीलाई ।
ठाउँ–ठाउँमा बाटो बिग्रिएर, ढुङ्गा खसेका र रुखका जराले हिँड्नै पर्ने कुरा पनि सुनियो ।
रारासँग दुईटा हिमालको गहिरो नाता देखेँ । सिस्ने र कान्जिरोवा हिमालको अग्लाइले रारासँग बात मारेजस्तो देखिन्थ्यो । उत्तरपट्टि टल्ल टल्केका यी दुवै हिमालले बोलेको भाषा र राराको लहरले निकालेको स्वरमा केही न केही नातो छ जस्तो मैले मानेँ ।
सास साटेर बाँचे जस्तो, सपना बाँडेर बाँचे जस्तो— हिमाल र राराले ।
उत्ताउला लहरहरुसँग हिमालबाट आएका हावाले पटक–पटक कानेखुसी गरे जस्तो लाग्यो । अनि ती छालमा हाँसका बथानले डुबुल्की मार्दा फेरि उत्पातको चित्रले आँखामा ठाउँ पाउँथे ।
रारा छेउमा चराको कति धेरै खलबल ! पन्छी लीला देखेर अवाक् हुन्थेँ म त ।
एक साँझ साथीहरुले ताल छेउमै देउडा घन्काए–
रातो कोद्या सुकाइ राख्नु
बास आई चिनुँला
लाइराख्नु कम्पनी माला
रारा देई चिनुँला ।
केटाका जवाफ केटीहरुले यसरी दिएथे–
जार लाउँदा जरेनी लाउँदा
भोट्याका जन्तर
मेरो माया राखिदिया
कलेजी अन्तर ।
रारासँग रङैरङको लुकामारी हुँदो रहेछ । राराले सबै खाले रङको घुम्टो ओढेको लाग्थ्यो मलाई । मैले हरेकसँग राराले अँगालो हालेको भेटेँ ।
०००
माझघट्टमा बास थियो हाम्रो ।
धेरैजसो गाउँलेहरु माथि मुर्मा गाउँतिर बस्दा रहेछन् । खेतीपाती, चरन, खर्क र अन्नपात यतै थियो ।
धामी, झाँक्री औधी मान्ने मुगुका गाउँमा छाउपडीको कहालीलाग्दो कथा रोकिएको थिएन । मैले तालिममा आएका हजारमती शाही, जानुकला रावल र कला रोकायाका मुखैबाट छाती भरिने कुरा सुनेँ ।
ती सबैले आपूmहरु छुई हुँदा गोठमा सुत्नु परेको कथा सुनाए । तिनले सुत्केरी हुँदा गाई र भैंसीसँगै रात बिताउनु परेको कथा बताए ।
‘हिउँ परेको बेलामा पिँडीसम्म हिउँ आउँथ्यो, तर म बाहिरै बसेर रात कटाएँ ।’
दिलमाया शाहीले अतीत सुनाएकी थिइन् ।
‘भर्खर जन्मेको सालनाल सहितको बच्चा लिएर गोबरलाई थिचथाच पारी त्यसमै मैले हप्तौँ बस्नु परेको थियो ।’
रावलको इतिहास सुनेँ ।
‘छुई हुँदा पानी थाप्न जाँदा, मैले अर्को महिना घरभित्र पस्नै पाइनँ ।’
देउरुपाको पीडा थियो ।
राराको सङ्लो पानीमा तैरिएका आँसुहरु हुन् यी । सिस्ने हिमालको उज्यालोमा पोतिएका काला धब्बाहरु हुन् यी । कान्जिरोवाका हिउँचुलीमा पोतिएका घृणाका बोली हुन् यी ।
०००
मंसीर १०, २०७२ ।
मनले नमान्दा–नमान्दै पनि हामी सबै रारा छेउमा पुग्यौँ । बिदाबारीको दिन भएकाले आँखामा अँध्यारो र मनमा खिन्नता आएकै थियो ।
साता दिनसम्म एउटै खालको साँझ–बिहान मैले भोगेको थिएँ ।
तालिम लिन सिमिकोट, कालिकोट, डोल्पा, जुम्लाबाट आएकाहरु घर पुग्न हतारिएका थिए । बादलको लम्कीझम्की हेर्दा हिउँ ओर्लिन आँटे–आँटे जस्तो लाग्थ्यो । त्यै भएर सबै आत्तिएका होलान् ।
दिउँसो भएपछि हामी लाग्यौँ– गोठीजिउलातिर ।
तीन घोडामा हाम्रा झोला र खाजासामल कसिए टनटनी । दीपक, रोमनाथसँग मेरा गोडा फटाफट लम्किए ।
छातीमा थियो– राराको सङ्लो तस्वीर !
०००

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

बालकथा : जंगल र रूख

/सोम, मंसिर १८, २०७४

गन्तव्य

/शनि, कार्तिक १८, २०७४