भण्डारी नै राष्ट्रपति बन्ने निश्चित

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, फाल्गुन २३, २०७४

काठमाडौं– संघीय संसदमा सबैभन्दा ठूलो दल नेकपा एमालेले राष्ट्रपति विद्यादेवि भण्डारीलाई नै पुनः राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
हिजो मंगलबार अबेर राति सम्पन्न एमाले स्थायी समिति बैठकले भण्डारीलाई राष्ट्रपतिमा दोहोर्याउने निर्णय गरेको हो । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका थिए ।
संघीय गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति चयनका लागि अर्को साता निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरूले अपराह्न ३ बजेसम्ममा मतदान गरिसक्नेछन् । आयोगले मतदाता सूचि प्रकाशित गरिसकेको छ ।
पार्टी एकिकरण घोषणा गरिसकेको एमाले र नेकपा माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीले लिने सहमति भईसकेको छ ।