संघीय संसदमा प्रधानमन्त्री ओलीको यस्तो भनाइ

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नहुने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आज आइतबारको बैठकलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय विकासको अभियान सत्ता पक्षको मात्र नभई हामी सबैको साझा यात्रा भएको तथा यस यात्राको अगुवाइ सत्ता पक्षले गर्ला, प्रधानमन्त्री भएकाले मैले गर्नुपर्ला । तर सबैको यात्रा यही भएको धारणा व्यक्त गर्नु भयो ।
एमाले अध्यक्ष समेत रहेका ओलीले आफू प्रधानमन्त्री हुनका लागि प्रधानमन्त्री नभएको बताउनु भयो । उहाँको भनाइ थियो – ‘म भ्रष्टाचार गर्दिनँ, हुन दिन्नँ । दमनकारी शासक होइन, जनताको सेवक हुँ ।’
देशलाई अगाडि बढाउने हो भने सहमतिका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो–‘हामी शान्ति चाहन्छौं, स्थिरता, स्थायित्व र शान्ति होस् अनिमात्र विकास गर्न सक्छौँ । सामान्य अवस्थामा पक्ष र प्रतिपक्ष भएर विवाद गर्न सक्छौँ । तर यतिबेला सत्ता पक्ष र प्रतिपक्ष भएर जसरी पनि विरोध गर्ने सुविधा छैन । प्रतिपक्ष पनि सहयोगी हुनुपर्छ ।’

लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई अंगीकार गर्दै, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, समावेशीता, समानुपातिक प्रतिनिधित्व र त्यसका लागि आवश्यक पर्ने कार्यहरु, आवधिक निर्वाचन, संवैधानिक प्रतिपक्ष, प्रतिपक्ष हुने अधिकारसहितको राजनीतिक प्रणाली स्थापना भएको प्रधानमन्त्रीको भनाइ थियो ।

संविधानबमोजिम एक महिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आफू विश्वासको मत लिन उपस्थित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो,’म प्रधानमन्त्रीका लागि प्रधानमन्त्री भएको होइन । म भ्रष्टाचार गर्न प्रधानमन्त्री भएको होइन । म जनताको सेवक हुन चाहन्छु । म दमनकारी होइन, सबैलाई समान व्यवहार गर्छु ।’

आफूलाई प्रतिनिधिसभाका सदस्यले विश्वासको मत दिन नपर्ने कुनै पनि कारण नभएको स्पष्ट पार्दै प्रतिपक्षले पनि विश्वासको मत दिनसक्ने उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले प्रदेश नं २ मा संघीय समाजवादी फोरम र राजपा नेपालको सरकार भए पनि एमाले र माओवादी केन्द्रले विश्वासको मत दिएको उदाहरण पेश गर्नुभयो । देशको सम्मान बढाउन दलहरुले आफूलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुभएको स्पष्ट पार्दै उहाँले नेपालको हित र चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शान्तिपूर्ण वातावरणमा मात्रै समृद्धिको आधार तयार हुने भन्दै प्रधानमन्त्रीले समृद्धिका लागि कृषि, व्यापार, ऊर्जा, वैदेशिक सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।