असोज ३ गते नेशनल डे मनाउने सरकारको निर्णय

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०७४

काठमाडौं– सरकारले प्रत्येक वर्षको असोज ३ गतेलाई राष्ट्रिय दिवस अर्थात ‘नेपाल डे’ को रुपमा मनाउने निर्णय गरेको छ । संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ लाई राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।
बास्कोटाले मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको बताए । २०७२ असोज ३ मा संविधानसभाबाट संविधान जारी भएको थियो । पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ लाई राष्ट्रिय एकताका दिवसका रुपमा यसअघि मनाउने गरिएकोमा जनआन्दोलन २०६२ र ६३ पछि राष्ट्रिय एकता दिवस मनाउन छाडिएको थियो ।