निमोनियाका कारण विदा भए सितारवादक वैद्य

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र १९, २०७४

काठमाडौं– लोकप्रिय सितारवादक विजय वैद्यको आईतवार उपचारका क्रममा निधन भएको छ। उनी ६२ वर्षका थिए । निमोनियाबाट ग्रसित उनको उपचारका क्रममा महाराजगञ्जस्थित शिक्षण अस्पतालमा आईतबार राती साँढे १२ बजे निधन भएको उनको छोरा क्षितज वैद्यले जानकारी गराएका छन् । उनका अनुसार वैद्या झन्डै १८ दिनदेखि अस्पतालमा भर्ना भएका थिए । आइतवार नै पशुपति आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।

अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त सांगीतक समुह ‘सुरसुधा’ का संस्थापक सितारवादसमेत रहेका वैद्यले सुरसुधा छोडेपछि विजय वैद्य एण्ड फ्रेण्डस नाम राखेर नयाँ समुह स्थापना गरेका थिए । वैद्यले रक स्टार म्युजिक अफ पिस, च्यान्ट अफ हिमालयलगायतका एल्बमहरु निकालेर सांगीतिक यात्रालाई निरन्तरता दिएका थिए । उनको परीवारमा आमा, श्रीमती र एक छोरा छन् ।