नयाँ वर्षदेखि सुर्खेत–काठमाडौं सिधा उडान

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र २१, २०७४

काठमाडौं– नयाँ वर्ष २०७५ प्रारम्भसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट राजधानी काठमाडौसम्म नियमित हवाई सेवा प्रारम्भ हुने भएको छ । आज बुधवार सुर्खेतमा बुद्ध एयरको ४७ सिटे मध्य जहाजले सफल परीक्षण गरेलगत्तै सुर्खेत–काठमाडौं नियमित हवाई उडानको थालनी भएको हो । पहिलो पटक सुर्खेत विमानस्थलमा ठूलो जहाजले अवतरण गरेको हो ।
धावनमार्गसहित अन्य प्राविधिक दृष्टिले ४७ सिटे जहाजहरु सहजतापूर्वक अवतरण हुने भएकोले बुद्ध एयरले बैशाख १ गतेदेखि सुर्खेत काठमाडौं नियमित सिधा उडान गर्ने जनाएको छ ।
आज बुधवार विहान १० बजे बुद्ध एयरको ४७ सिट विमान प्राविधिक तथा विज्ञसहितको टोलीले सुर्खेत विमानस्थलको अवलोकन गरेको थियो । अवलोकनपछि विमानका फलाइट इन्जिनियर उदयकृष्ण श्रेष्ठले परीक्षण उडान सफल भएकोले नियमित उडान गर्न कुनै कठिनाइ नभएको जानकारी दिएका छन् ।