कम्युनिष्ट पार्टिको ऐतिहासिक एकिकरण

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, जेष्ठ ३, २०७५

काठमाडौं– नेकपा एमाले तथा माओवादी केन्द्रबीच एकता भएसँगै नेपालमा विशाल कम्युनिष्ट पार्टीको स्थापना भएको छ । आज बिहीबार प्रधामन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको दुबै दलको संयुक्त बैठकले ‘नेपाल कम्युनिष्ट पार्टी’ को घोषणा गरेको छ । नयाँ पार्टीका केन्द्रीय सदस्यले आजै सामूहिक सपथ ग्रहण गरेका छन् । यसैबीच नयाँ दलले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ भने नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिएको छ ।
नयाँ पार्टीमा दुई जना सहअध्यक्ष र दुई जना बरिष्ठ नेता रहने छन् । कम्युनिष्ट पार्टीको ९ सदस्यीय केन्द्रीय कार्यालय पनि बिहीबार नै गठन भएको छ । ४५ सदस्यीय स्थायी समिति हुने कम्युनिष्ट पार्टीमा ४४१ जना केन्द्रीय सदस्य हुने छन् ।
एमालेका तर्फबाट २४१ र माओवादी केन्द्रका २०० जना मिलाएर नयाँ केन्द्रीय समिति बनेको हो । त्यस्तै एमालेका २६ र माओवादीका १९ जना सम्मिलित ४५ सदस्यीय स्थायी समिति बनेको छ । शीर्ष ९ नेता सम्मिलित केन्द्रीय कार्यालय बनाइएको छ । केन्द्रीय कार्यालयमा रहने ९ नेताको वरीयता पनि टुंगो लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली उक्त वरीयताको शीर्ष स्थानमा छन् । दोस्रो वरीयतामा पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसैगरी तेस्रोमा माधवकुमार नेपाल, चौथोमा झलनाथ खनाल, पाँचौमा वामदेव गौतम, छैठौंमा नारायणकाजी श्रेष्ठ, सातौंमा ईश्वर पोखरेल, आठौंमा रामबहादुर थापा र नवौं स्थानमा बिष्णु पौडेल छन् । बिष्णु पौडेललाई पार्टीको महासचिव र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिने सहमति भएको छ ।
संघीय संसदका दुबै सदनमा यो दलसँग ६० प्रतिशतभन्दा बढी बहमुत छ । उपल्लो सदनका ५९ सदस्यमध्ये कम्युनिष्ट पार्टीका ४२ जना सांसद छन् ।
तल्लो सदन प्रतिनिधि सभाका २७५ सांसदमध्ये यो दलसँग ६३ दशमलव ५ प्रतिशत अर्थात् १७४ जना सांसद छन् । राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधि सभाका सभामुख र उपसभामुख पनि यही दलका छन् ।
मंसिरमा भएको प्रतिनिधि सभामा यो दलले झन्डै ४७ प्रतिशत लोकप्रिय मत पाएको छ । ९५ लाख ४४ हजार ७ सय ७९ मतमध्ये कम्युनिष्ट पार्टीले ४४ लाख ७७ हजार २ सय १५ मत पाएको छ ।
प्रदेश नम्बर २ बाहेक ६ प्रदेशमा कम्युनिष्ट पार्टीको सरकार छ । ती ६ वटै प्रदेश सभामा सभामुख र उपसभामुख पनि यही पार्टीका छन् । सात प्रदेशका ५५० प्रदेश सभा सदस्यमध्ये कम्युनिष्ट पार्टीका ३५१ जना सांसद छन् ।
स्थानीय तहको चुनावमा एमाले र माओवादी छुट्टाछुट्टै लडेका थिए । ७५३ स्थानीय तहका ३५ हजार ४१ पदमध्ये १९ हजार ५ सय ४०मा कम्युनिष्ट पार्टीका जनप्रतिनिधि छन् ।