२१ बुँदे घोषणापत्रसहित काँग्रेस सभापतिहरुको भेला सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार ८, २०७५

काठमाडौं– २१ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै कांग्रेस जिल्ला सभापतिहरुको भेला सकिएको छ । तीन दिनसम्म मकवानपुरको हेटौँडामा सञ्चालन भएको भेलाले सरकार सर्वसत्तावाद उन्मुख भएको निष्कर्ष निकाल्दै सरकारले जनविरोधी चरित्र देखाएकोले त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।
‘कम्यूनिष्ट सरकारबाट संचार जगतमा थालिएको निषेध र नियन्त्रणकारी हस्तक्षेप, स्वतन्त्र न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, नागरिकको सम्पतिको हकलाई कुण्ठित गर्ने प्रयत्न , राष्ट्रसेवक कर्मचारी र शैक्षिक क्षेत्रमाथिको अन्यायपूर्ण आतंक , ट्रेड युनियन अधिकार खोस्ने प्रपन्च, पेसागत सामाजिक एवं गैरसरकारी संघसंस्थामाथिको नियन्त्रणकारी रबैया, मौलाउदै गएको दण्डहिनता आदिबाट वर्तमान सरकार सर्वसत्तावाद उन्मूख रहेको प्रष्ट छ’, जारी घोषणपत्रमा भनिएको छ,– अतः लोकतान्त्रिक गणतन्त्र, संघियता, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायप्रणाली, ट्रेड युनियन अधिकार, विद्यमान कानून अन्तर्गत रही निर्वाध पेसा ब्यबसाय गर्ने अधिकार लगायत लोकतन्त्रका स्थापित मूल्यमान्यताको रक्षाका लागि नेपाली कांग्रेस दृढतापुर्वक उभिने प्रण गर्दछ ।’
भेलाले महासमितिको बैठकको स्थान र मिति अबिलम्ब तोक्न केन्द्रीय कार्य समितिलाई अनुरोध गरेको छ । साथै, प्रत्येक दुई वर्षमा जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजना गर्ने व्यवस्थाका लागि पनि अनुरोध गरेको छ ।
पार्टी भित्र आन्तरिक सम्वाद घनिभूत गर्दै पारस्परिक एकता , सहअस्तित्व र सहकार्यका साथ पार्टी संरचनाका सबै तहमा विधानसम्मत प्रकृयालाई अक्षरश कार्यान्वयन गरी पार्टी संगठनलाई थप क्रियाशील तुल्याउन पार्टी नेतृत्वलाई आग्रह गरिएको छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा सरकारको सर्वसत्तावादी र जनविरोधी प्रवृतिका विरुद्ध पार्टीको प्रस्तुति थप प्रभावकारी बनाउने तथा संबिधानसम्मत हुने गरि सबै तहको संरचना निर्माण गर्न आबश्यक कार्यविधि बनाउन केन्द्रिय कार्यसमितिलाई भेलाले अनुरोध गरेको छ ।
तत्कालीन एमालेको राष्ट्रवाद नक्कली भएको काँग्रेसको ठहर छ । ‘तत्कालिन एमालेको नक्कली राष्ट्रवाद सरकारमा पुगेपछि लम्पसारवादमा परिणत भएको आम नागरिकको मत रहेको भेला ठहर गर्दछ’, घोषणापत्रमा भनिएको छ ।