पुरानै अवस्थामा गद्दी बैठक

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, असार १६, २०७५

काठमाडौं– भूकम्पबाट क्षतिग्रस्त भएको हनुमान ढोका दरबार क्षेत्रमा रहेको ‘नियो क्लासिकल’ शैलीमा निर्माण गरिएको ११० वर्ष पुरानो ऐतिहासिक ‘गद्दी बैठक’ पुरानै अवस्थामा तयार भएको छ ।
पुरातत्व विभागको रेखदेखमा नेपाली प्रविधिको प्रयोग गरी सबलीकरण रेक्ट्रोफिटिङ गर्ने कार्य सम्पन्न भएको हो ।
२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि पटक पटक गएका परकम्पबाट हनुमान दरबार क्षेत्रमा रहेका मठ मन्दिर, दरबार, सत्तललगायत क्षतिग्रस्त भएका थिए ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार यो दरबार निर्माण सुरु भएको दुई वर्ष पुगेको छ, तोकिएको समयमै निर्माण कार्य सम्पन्न भएको पहिलो ठूलो योजना हो ।
गद्दी बैठक प्रवेश कक्षमा राखिएको शिलालेखमा सन् २०१७ को अक्टुबरमा काम सुरु भई सन् २०१८ मा निर्माण कार्य सम्पन्न भएको उल्लेख छ । हनुमान ढोका दरबार क्षेत्रमा रहेको यो आकर्षक ऐतिहासिक स्मारकलाई ‘गद्दी बैठक’ भनिन्छ ।
यो गद्दी बैठक संवत् १९६५ मा राजा पृथ्वी वीरविक्रम शाहको शासनकालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा निर्माण भएको शिलालेखमा उल्लेख गरिएको छ ।
विभागका अनुसार, अमेरिकी राजदूतको संस्कृति संरक्षण कोषमार्फत पुनःस्थापना तथा भूकम्प प्रतिरोधी क्षमता वृद्धिका लागि ‘मियामोटो ग्लोबल डिजास्टर रिलिफ’को आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको हो ।