देशैभरी बाढीको खतरा, विभिन्न शहर जलमग्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार १८, २०७५

काठमाडौं– आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण तराईका कतिपय शहरहरु जलमग्न भएका खबरहरु प्राप्त हुन थालेका छन् । पश्चिमको बर्दिया, नेपालगञ्ज, मध्य नेपालको वीरगञ्ज तथा पूर्वी नेपालको विराटनगर वर्षाबाट बढि पैभावित भएको बताइन्छ ।
लगातारको बर्षाले मुलुकका बिभिन्न नदीमा बाढीको जोखिम बढेको छ । १२ घण्टायता मुलुकको पश्चिम क्षेत्रमा वर्षा जारी रहेको तथा आज दिउँसो पनि यो क्रम जारी रहने भएकाले बबई र राप्ती नदी आसपासको क्षेत्रमा बाढीको जोखिम बढेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बाढीको जोखिमसँगै सर्वसाधारणलाई सर्तक रहन आह्वान गरिएको छ । त्यस्तै कर्णाली र पश्चिम राप्तीमा पनि पानीको सतह बढ्ने क्रम जारी रहेको बिभागले जनाएको छ । बिभागका मौसमविद् सुवास रिमालका अनुसार आज पनि पश्चिमी भेगमा भीषण वर्षा हुने सम्भावना छ । राजधानी लगायत पुर्वी क्षेत्रमा समेत वर्षा हुने महाशाखाले जनाएको छ ।
अविरल वर्षाले बबई नदीको सतह बढेसँगै बर्दियाका बिभिन्न स्थान जलमग्न भएका छन् । बर्दिया प्रशासनले सतर्क रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कर्णालीमा भने जलस्तर बढेको छैन । अविरल वर्षाले गुलरिया लगायत जिल्लाका अधिकांश ठाउ‘ डुवानमा परेको प्रहरीले जनाएको छ । निर्माणाधिन गुलरिया९राजापुर सडक खण्ड अन्तर्गत गमक्कामा यातायात सेवा ठप्प भएको छ । निर्माणाधिन पुल नजिक बनाइएको डाईभर्सन डुवानमा परेकोले आउजाउ ठप्प भएको हो ।
अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । पानी जमेपछि बिहानै विद्यालय तथा कलेज जाने विद्यार्थी जान सकेका छैनन् भने पैदलयात्रीलाई अप्ठेरो भएको छ । पालगञ्जका विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो । वर्षाले राप्ती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् । बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न जिल्ला विपत् व्यवस्थापन समितिले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
रातिदेखि भइरहेको अविरल वर्षाका कारण आर्थिक राजधानी वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् । वीरगञ्जको मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती ब्यहोरेका छन् ।