पुरानै स्थानबाट डा.केसीको अनसन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, साउन ४, २०७५

काठमाडौं– तीन साता अघिदेखि जुम्लामा आमरण अनसन बस्नुभएका प्रा.डा.गोविन्द केसीलाई सरकारले हिजो सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याई शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको छ ।
डा.केसीलाई यातना दिने मनसायले हेलिकोप्टरमा ३ घण्टा २० मिनेट घुमाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नरोकी टुडीखेलमा रोकेर सास्ती दिएको चिकित्सकहरुले आरोप लगाएका छन् ।
उहाँलाई लिन त्रिवि शिक्षण अस्पतालको एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कुरिरहेको थियो । चिकित्सा शिक्षा सर्वसाधारण जनताको पहुँचमा हुनुपर्ने माग राखी अनसनरत डा। केसीलाई मानसिक रुपमा दबाब दिएर त्रासमा पारी काठमाडौ ल्याइएको चिकित्सकहरूको दावी छ ।
उहाँलाई काठमाडौँ ल्याउने नाममा अनसन बसेको जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहानदेखि सुरक्षाकर्मीको तैनाथ गरी धरपकड, लाठी, अश्रुग्यास, गोली चलाएर बिरामी र बिरामी कुरुवालाई समेत घाइते बनाएको छ । उपचारका लागि आएका बिरामीलाई अस्पतालभित्र प्रवेश नै नदिई अन्धाधुन्घ लाठी र अश्रुग्यास हान्नुका साथै प्रहरीले गोली समेत चलाएको बताइन्छ ।
काठमाडौंको त्रिबि शिक्षण अस्पताललाई पनि सुरक्षा घेराभित्र राखिएको थियो । अस्पताल परिसरमा दिउसैदेखि चिकित्सक, शुभचिन्तक, विद्यार्थी, नागरिक समाज, संचारकर्मीहरुको भीड लागेको थियो । ठूलो संख्यामा जनमानसको भीडदेखि अतालिएको सरकारले डा।केसीलाई टुँडिडखेलमा लगेर रातपरेपछि झारेको भन्दै नागरिक समाजका अगुवाहरुले कडा टिप्पणी गरेका छन् । आक्रोसित सर्वसाधारणले यस्तो सरकार चाहिन्न जनतालाई अनावश्यक दुःख दिन पाइन्न भन्दै बिरोध समेत गरेका थिए ।
यसैबीच डा।केसी विगतमा झैँ अस्पतालको गणेशमान भवनमा अनसन बस्नुभएको छ । उहाँले आइसीयूमा बस्न नमानेपछि सोही स्थानमा राखिएको हो । उहाँको स्वास्थ्यलाई ध्यानमा राखी अनसनस्थलमा मोनिटर, अक्सिजन लगायतको सम्पूर्ण व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।