प्रधानन्यायाधीशमा जोशी अस्विकृत

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, साउन १८, २०७५

काठमाडौं– कायममुकाम प्रधानन्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेको छ । जोशीको नाममाथि समितिमा सर्वसम्मती नभएपछि मतदान मार्फत दुईतीहाई मतबाट जोशीको नाम अस्वीकृत भएको हो ।
समितिमा मतदान हुने भएपछि नेपाली कांग्रेसका सांसदहरु मतदान प्रक्रियामा सहभागी नभई बाहिरिएका थिए । १५ सदस्यीय समितिमा नेकपाका ९, नेपाली कांग्रेसका ४, संघीय समाजवादी फोरमकाा १ र राजपाका १ सांसद सदस्य छन् । जोशीको विपक्षमा १० र पक्षमा शून्य मत परेको छ ।

समितिले उनको नाम अनुमोदन नभएको जानकारी संवैधानिक परिषदलाई दिनेछ । सर्वोच्च अदालतबाट तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि जोशी वरिष्ठताका आधारमा कायममुकायम प्रधानन्यायाधीश छन् ।

जोशीले समितिमा पेश गरेको कार्ययोजनासँग समितिका अधिकांश सदस्य असन्तुष्ट थिए भने उनका शैक्षिक प्रमाणपत्र समेत विवादमा परेका छन् ।