सिके राउतसँगको सहमति खारेज गर्न विवेकशील साझाको माग

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, फाल्गुन २८, २०७५

काठमाडौं– सरकारले २४ फागुनमा सिके राउतसँग गरेको ११ बुँदे सहमति खारेज गर्न विवेकशील साझाले माग गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै साझाले सहमतिको मसी सुक्न नपाउँदै राउत समूहले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र एकतामा खलल पुर्‍याउने खालका गतिविधि गरेको भन्दै कडा कारबाहीको माग समेत गरेको हो ।

“विखण्डनकारी, देशद्रोही र हिंसात्मक कुनै पनि समूहलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउने सरकारको प्रयासलाई साझा पार्टी सधैं स्वागत गर्दछ ।” विज्ञप्तिमा भनिएको छ, “तर, राउतले अखण्ड नेपालप्रति जनाएको प्रतिवद्धता जेलबाट मुक्त हुने चालको रूपमा प्रयोग हुनु अत्यन्तै निन्दनीय छ ।”

सहमतिमा प्रधानमन्त्रीको बहकाउपूर्ण संलग्नता, पर्याप्त गृहकार्यको अभाव र प्रयोग गरिएको आपत्तिजनक भाषाशैलीले सरकारको चरम लापरवाही र गैरजिम्मेवारीपन उजागर गरेको पनि साझाले जनाएको छ ।