काठमाडौंमा भूकम्पको धक्का, ५.२ रेक्टर मापन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६

काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार करिब बिहान ६ः३० बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नुवाकोट, धादिङलगायतका क्षेत्रमा पनि महसुस भएको छ ।

भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।

चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् ।

तर भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।

२०७२ वैशाख १२ गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएको थियो । त्यसयता निरन्तर भूकम्पको धक्का महसुस भएको छ । आज गएको भूकम्प गोरखा भूकम्पको पराकम्पन हो या नयाँ भूकम्प भन्नेबारे पनि केही खुलेको छैन ।