गुठी विधेयक फिर्ता भएपछि राजधानीमा आज खबरदारी सभा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार ४, २०७६

काठमाडौं- राजधानीमा आज बुधबार गुठी विस्थापन गर्ने विधेयकका विरुद्ध लाखौंको जनप्रदर्शन हुने सम्पूर्ण तयारी पूरा भएपछि सरकारले विवादास्पद उक्त विधेयक फिर्ता लिने घोषणा गर्यो ।

यद्यपि, विगत १० दिनदेखि निरन्तर प्रहरी प्रशासनको दमनका बाबजुद यसको विरोधमा आन्दोलन गर्दै आएका राजधानीबासी आन्दोलन फिर्ता लिने पक्षमा छैनन् । उनीहरू भन्छन्– ‘विरोध सभा अब बृहत् खबरदारी सभामा परिणत हुनेछ, तर आन्दोलन रोकिदैंन ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले हिजो दुई सूत्रीय विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभामा दर्ता गरिएको गुठीसम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी गराउनुभएको छ। गुठीप्रेमी आन्दोलनकारीको भनाइ छ– ‘सरकारको नियत गलत भएको मन्त्रीको भाषाले प्रमाणित गर्दछ, आन्दोलनकारीलाई भ्रम सिर्जना गर्ने, जनतालाई उत्तेजित पार्ने र वातावरण बिथोल्ने भन्दै गाली गरिएको छ, यसले सरकार केबल आजको विशाल जनप्रदर्शनलाई निस्तेज पार्न मात्र त खोजिरहेको छैन भन्ने प्रमाणित गर्दछ ।’

मन्त्री अर्यालको वक्तव्यको आशय छ– ‘गुठीसम्बन्धी विधेयक मोहीको हितमा थियो। राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित बनाउने सरकारको उद्देश्य थियो, तर भ्रम सिर्जना गर्नेहरूले पूरा हुन दिएनन्।’ आन्दोलनकारीको भनाइ छ– ‘सरकारका तर्फबाट आन्दोलनकारीलाई सामन्ती र भाडाका मान्छे जस्ता गालीगलौजको भाषा पनि प्रयोग भएको छ, यस प्रकारका आपत्तिजनक व्यवहारका लागि सरकारले नागरिकसँग माफी माग्नुपर्छ ।’

सरकारले जनताको चाहनालाई स्वागत गर्दै विधेयक फिर्ता लिइएको जस्तो जनपक्षीय भाषा प्रयोग गर्न सकेको छैन । मंगलबार प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलनमा बोल्दै गुठी विधेयक फिर्ता लिएको सूचना सञ्चारमाध्यमबाट थाहा पाएको बताएर यस विषयलाई हल्कारूपमा चित्रण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले ‘माननीय मन्त्रीले केही सरोकारवालाहरूसँग परामर्श गर्न, विज्ञहरूको रायसुझाव लिनुपर्ने देखिएको र विधेयकबारे भ्रमपूर्ण वातावरण सिर्जना गरिएको भन्दै केही समयअघि विधेयक फिर्ता लिनुभएको कुरा मैले सञ्चारमाध्यमबाट थाहा पाएँ’ भनेर पत्रकारलाई जवाफ दिनुभएको थियो ।
मन्त्रालयले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ वैशाख १७ गते राष्ट्रिय सभामा दर्ता गराएको थियो ।

त्यसको दुई दिनपछि उक्त विधेयक सबै सांसदलाई अध्ययनका लागि वितरण गरिएको थियो । जेठ ६ गते सभाको बैठकमा प्रस्तुत उक्त विधेयकमाथि जेठ १३ मा सामान्य छलफल गरिएको थियो । त्यसपछि सांसदलाई विधेयकमाथि संशोधन हाल्न ७२ घन्टाको समय दिइएको थियो । राष्ट्रिय सभामा सत्ता र प्रतिपक्षका सांसदले उक्त विधेयकमाथि १ सय ८ वटा संशोधन हालेका छन् । सभाले उक्त विधेयकलाई विधायन समितिमा दफावार छलफलका लागि पठाउने तयारी गर्दै थियो । यसैबीच मन्त्री अर्यालले विधेयक फिर्ता लिने घोषणा गरे पनि फिर्ताको संसदीय प्रक्रिया भने शुरू भएको छैन ।

राष्ट्रिय सभाको आगामी बैठक असार १० गते बोलाइएको छ । सोही दिन अध्यक्षको अनुमतिले विधेयक फिर्ताको प्रस्ताव मन्त्रीले बैठकमा प्रस्तुत गर्ने सम्भावना छ ।
यसैबीच मंगलबार राजधानीमा आजको आमसभाको तयारीका सिलसिलामा मसाल जुलुस निस्किएको छ । यस्ता जुलुलुहरू काठमाडौं, ललितपुर र अन्य शहरमा पनि विगत साताभरि प्रदर्शन भइरहे ।