जनकपुरको होटलमा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, असार ५, २०७६

जनकपुर- जनकपुरस्थित एक होटलमा आधा दर्जनभन्दा बढी ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटल पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

बिहीबार बिहान करिब ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका-२, कदम चोकस्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ गरी ३ वटा होटल जलेर पूर्णरुपमा नष्ट भएका प्रहरीले जनाएको छ ।

होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाइ छ ।

ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो । आगलागीबाट भएको क्षतिबारे तत्कालै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।

होटल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो । एकाबिहानै स्थानीयहरु सुतिरहेको समयमा सुरुमा एउटा ग्याँस सिलिण्डर विस्फोट भएको थियो ।

त्यसपछि आगोको मुस्लो देखखिएको स्थानीयहरु बताउाछन्। आगलागीका कारण थप ग्यास सिलिण्डरसमेत विस्फोट भएको बताइएको छ ।

सिलिण्डर विस्फोटको आवाज शक्तिशाली सुनिएको स्थानीयले बताए। जसले गर्दा सो वरपरका सर्वसाधारणहरु घटनास्थल पुगेका थिए ।

घटनास्थलमा प्रहरीहरुको टोली पुगेको छ भने घटना अनुसन्धान गरेर यकिन क्षतिको विवरण र घटनाबारे थप पुष्टि गर्ने धनुषा प्रहरीले जनाएको छ। अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।

होटलमा रातमा कोही पनि नबस्ने भएकोले कोही घाइते वा मानवीय क्षति भने हुन नपाएको बताइएको छ ।