बल्ल मिल्यो नेकपाको राजनीतिक कार्यदिशा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, असार १६, २०७६

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को कार्यदिशा विवाद मिलेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलपश्चात् विवाद मिलेको हो । पार्टीको राजनीतिक कार्यदिशा ‘जनताको जनवाद’ नै रहने सहमति जुटेको छ ।

कार्यदिशाको विवाद मिलेसँगै पार्टी एकताको बाँकी काम टुंगो लगाउन आन्तरिक तयारीमा शीर्ष नेता जुटेका छन् । अध्यक्षद्वय ओली, दाहाल तथा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल एकताको बाँकी काम टुंगो लगाउने तयारीमा जुटेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १३ महिनापछि कार्यदिशामा विवाद बल्झेको थियो । कार्यदिशाको विवाद मिलेसँगै एकताको बाँकी काम टुंगो लाग्ने निश्चित भएको छ ।
३ जेठ २०७५ मा दुई पार्टीबीच एकीकरण घोषणा गर्दै एकीकृत पार्टीको कार्यदिशा ‘जनताको जनवाद’ हुने घोषणा भएको थियो । तत्कालीन एमाले जनताको बहुदलीय जनवाद ९जवज० र माओवादी केन्द्रले २१औं शताब्दीको जनवाद र माओवादी कार्यदिशा छोड्दै जनताको जनवादमा सहमति गरेर पार्टी एकता गरेका थिए । दुवै पार्टीले मान्दै आएको कार्यदिशा तत्कालका लागि छोड्ने र महाधिवेशनमा बहसमा लैजाने गरी सहमति गरेका थिए ।

अन्तरिम कालका लागि समाजवाद उन्मुख जनताको जनवादमा सहमति भए पनि अहिले पार्टीको सम्पूर्ण एकता टुंगो नलाग्दै विवाद सुरु भएको थियो । नेकपा स्रोतका अनुसार अहिले जनताको जनवाद नै राजनीतिक कार्यदिशा रहनेमा सहमति भएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एमालेले अवलम्बन गर्दै आएको जवजलाई पार्टीको कार्यदिशा बनाउनुपर्ने लबिङ गरेका थिए । यसैगरी, अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकताका क्रममा भएको सहमतिअनुसार जनताको जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनुपर्ने अडान राखेका थिए ।
पार्टी एकता गर्ने समयमा भएको सहमतिअनुसार जनताको जनवादलाई पार्टी सचिवालय र स्थायी कमिटी बैठकले समेत पारित गरिसकेको छ । तर, सचिवालय र स्थायी कमिटी बैठकले पारित गरिसकेको विषयमा मतभेद सुरु भएपछि त्यसको प्रभाव पार्टी एकताको बाँकी काम टुंगो लगाउने विषयमा परेको थियो ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले पार्टीको राजनीतिक कार्यदिशा विवाद मिलेको बताए । विगतमा भएको सहमतिअनुसार नै अगाडि बढ्ने उनले बताए । उनले पार्टी शीर्ष नेताबीच भएको पटक–पटकको छलफलपश्चात् सहमति जुटेको बताए । राजनीतिक प्रतिवेदन सामान्य संशोधनपछि छाप्न पठाउने र दुई दिनपछि सचिवालय बैठक बोलाउने ओली–दाहालबीच सहमति भएको छ ।

नेकपा वरिष्ठ नेताद्वय नेपाल, खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेता सचिवालय र स्थायी कमिटीले पारित गरेका विषयमा सामान्य भाषा सम्पादन गरेर छाप्न पठाउनुपर्ने पक्षमा छन् ।
पार्टीको कार्यदिशाका विषयमा सहमति जुटेसँगै एकताको बाँकी काम टुंगो लगाउने निश्चित भएको छ । अहिले शीर्ष तहका नेता एकताको बाँकी काम टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेका छन् ।
नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले एकताको बाँकी काम टुंगो लगाउन शीर्ष नेताबीच गम्भीर छलफल भइरहेको बताए । छिटट्ट नै सबै तहका कमिटी एवं नेताले ठोस जिम्मेवारी पाउने उनले बताए । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला तथा जनवर्गीय संगठनको एकता टुंगो लगाएको नेकपामा अहिले जिम्मेवारी बाँडफाँटमा टुंगो लगाउने तयारी भइरहेको छ । पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभाग गठन र आयोगको गठन अझै टुंगो लागेको छैन । जिल्ला इन्चार्ज, सहइन्चार्ज र विभागको नेतृत्व टुंगो लगाउने विषयमा पार्टीभित्र विवाद छ ।