डेंगु रोग नियन्त्रण गर्न सरकारले तत्काल राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

काठमाडौं-  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रण गर्न सरकारले तत्काल राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने माग गरेको छ । देशभर डेंगुका रोगीको संख्या बढेको भन्दै नियन्त्रण गर्न सरकारले राष्ट्रिय संकटको घोषणा गर्नुपर्ने माग गरेको हो ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका राधेश्याम अधिकारीले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय संकट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले यसका विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्नुभयो ।

डेंगु फैलने क्रमलाई राष्ट्रिय संकटका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्दै उहाँले ६१ जिल्लामा फैलिएको रोग राष्ट्रिय महामारी नै भएको बताउनुभयो । सांसद अधिकारीले भन्नुभयो– ‘स्वास्थ्यको संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? कति मान्छे मरेपछि यसले महामारीको रूप लिन्छ ?’

‘सरकार कहाँ छ के गर्दै छ ? यसको महामारी रोक्न सरकारले के गर्दै छ ? स्वास्थ्य मन्त्रालय, सेना र प्रहरीको भूमिका के हो  ? उहाँले भन्नुभयो ।

डेंगु रोग परीक्षणको नाममा निजी अस्पतालहरूले चर्को शुल्क असुलिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै परीक्षण शुल्क तोक्न पनि सरकारसँग माग गर्नुभयो । सत्तारुढ दल नेकपाका सांसद कोमल वलीले तीन तहका सरकारले आपसमा सहकार्य गरी डेंगु रोगको नियन्त्रणमा तत्परता देखाउन सरकारले विशेष अभियान थाल्नुपर्ने बताउनुभयो ।