आज घटस्थापना, दशैं प्रारम्भ

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, अशोज १२, २०७६

काठमाडौं- बडादशैंको पहिलो दिन आज आइतबार घरघरमा जमरा राखिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदामा घरघरमा जमरा राखेसँगै दशैं शुरू हुने गर्दछ।

देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलका रूपमा प्रयोग गर्ने चलन छ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ। त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेंलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ।

घटस्थापनाको पहिलो दिन नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट बालुवा या माटो ल्याई जमरा राखिन्छ। जमरा राख्नुपूर्व पूजाकोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ।

घटस्थापनाको साइत आज आइतबार बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।२१ गते मंगलबार टीकाको साइत पनि १० बजेर ३५ जाँदा उत्तम रहेको समितिले जनाएको छ।

घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ।