गैरआवासीय नेपाली सङ्घको मतदान सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, कार्तिक १, २०७६

काठमाडौँ-  गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियाअन्तर्गत मतदान सकिएको छ । बिहिबार  बिहान १० बजेदेखि शुरु भएको मतदान साँझ ६ बजेसम्म चलेको थियो ।

निर्वाचनमा शुरुमा विद्युतीय मेशिनबाट मतदान हुने भनिएता पनि विवाद भएपछि मतपत्र प्रयोग गरिएको थियो । निर्वाचनमा ४२ पदका लागि ७६ जना प्रतिस्पर्धी रहनुभएको छ ।

नयाँ नेतृत्वका लागि अध्यक्षमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा भइरहेको छ भने महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराउनुभएको थियो । निर्वाचनले दुई वर्षका लागि ४२ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

निर्वाचनमा करीब दुई हजार ५०० मतदाता रहेका छन् । यसैबीच पूर्वनिर्धारित कार्यतालिकाअनुरुप आज साँझ हुने भनिएको सङ्घको समापन समारोह नहुने भएको छ । मतगणनाको परिणामपश्चात् मात्रै समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

आज शुक्रवार साँझसम्ममा मत परिणाम सार्वजनिक हुने अनुमान गरिएको छ ।