प्रधानमन्त्री ओली र बगंलादेशी राष्ट्रपतिबीच भेटवार्ता

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, कार्तिक २७, २०७६

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओली र बगंलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच बुधबार भेटवार्ता भएको छ ।

काठमाडौंको मेरियट होटलमा भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी छन् ।

मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदले बुधबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग पनि भेट गरेका छन् ।

यसैगरी, बङ्गलादेशका राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज गरेको शिष्टाचार भेटमा उनले आर्थिक साझेदारीका लागि पर्यटन र उर्जालगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताएका हुन् । सम्मानित विशिष्ट अतिथि राष्ट्रपति हमिद नेपालको औपचारिक सद्भावना भ्रमणमा छन् ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति हमिदसँगको भेटमा भएका कुराकानीबारे बारे जानकारी दिँदै दुई देशबीच जनस्तरको सम्बन्ध विस्तारका साथै व्यापार प्रवद्र्धनका विषयमा कुराकानी भएको बताए ।

तिमिल्सिनाका अनुसार दुई देशबीचको उच्चस्तरीय भ्रमणलाई नियमित गर्नेबारे दुबै पक्षबाट जोड दिइएको थियो । व्यापार बढाउन र व्यापार घाटा कम गर्न दुबै देशले प्रयास गर्ने विषयमा पनि कुराकानी भएको थियो । व्यापार घाटा कम गर्न ऊर्जाको ब्यापार प्रवद्र्धन गर्ने कृषि उत्पादन बढाउन प्रेरित गर्ने आदिबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

दुई देशबीचको जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन सांसदहरुको भ्रमण आदान–प्रदानलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा भएको बङ्गलादेशी राष्ट्रपतिको भ्रमणले बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सहयोग पुग्ने र यसलाई अझ विस्तृत रुपमा अघि बढाइनुपर्छ भन्नेमा राष्ट्रपति हमिदले विशेष जोड दिएका थिए ।