इरानमा रहेका नेपालीबारे सरकारको चासो

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, पुस २२, २०७६

काठमाडौं- इरान र अमेरिकाबीचको पछिल्लो सम्बन्ध युद्धमा परिणत हुने चर्चा भइरहेका बेला सरकारले इराकमा रहेका नेपालीबारे चासो लिएको छ । उक्त मुलुकमा रहेका नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन सरकारले ध्यानाकर्षण गराएको हो ।

इरानसहित इराक, खाडी र मध्यपूर्वी मुलुकमा रहेका नेपालीको अवस्था बुझ्न र पछिल्लो सूचना नियमित अद्यावधिक गराउन परराष्ट्रले सम्बन्धित दूतावासलाई निर्देशन दिएको हो ।

‘इरान र आसपासका मुलुकमा हाम्रा नागरिक भएकाले नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ, अप्ठ्यारो परिस्थिति सिर्जना भए सहयोग लिन अनुरोध गरेका छौं ।’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता भरतराज पौडेलले भन्नुभयो ।

इरानलाई पाकिस्तानस्थित नेपाली दूतावास र इराकलाई कुवेत दूतावासले नियाल्दै आएको छ ।

असुरक्षाका कारण जनाउँदै सरकारले इरान र इराकमा श्रम अनुमति नदिए पनि भारतसहित अन्य मुलुक हुँदै रोजगारका लागि यी मुलुक पुग्ने नेपालीको संख्या वर्षेनी थपिइरहेको छ ।

रोजगार प्रतिबन्धित सूचीमा रहेकाले इरान र इराकमा रहेका नेपालीबारे आधिकारिक तथ्यांक उपलब्ध हुन नसकेको पौडेलले बताउनुभयो ।

इरान र अमेरिकाबीचको सम्बन्ध चिसिन थालेपछि पाकिस्तानस्थित नेपाली दूतावासलाई त्यहाँ रहेका नेपालीले पछिल्लो सुरक्षा अवस्था ‘ब्रिफिङ’ गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

अमेरिकाले गत शुक्रबार इरानका शक्तिशाली जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि अहिले विश्वको ध्यान इरान–अमेरिकातर्फ सोझिएको छ ।

इराकले हत्याको बदला लिने चेतावनी दिन थालेपछि पश्चिम एसिया र खाडी क्षेत्रमा भय र अस्थिरता बढिरहेको छ ।

उक्त क्षेत्रमा बिकसित हुनसक्ने परिस्थतिबारे सतर्क रहन जरुरी रहेको ठहर गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवबीच आइतवार छलफल भएको थियो ।

वैदेशिक रोजगार विभाग, यस्ता विषय नियाल्ने दुवै मन्त्रालय मातहतका महाशाखा प्रमुखहरू छलफलमा सहभागी थिए ।

बैदेशिक रोजगारका सिलसिलामा इराकमा करिव १५ हजार र इरानमा एक हजारका हाराहारीमा नेपाली रहेको अनुमान गरिएको
गैर आवासीय नेपाली संघ (एनआरएनए)का निवर्तमान मध्यपूर्व उपसंयोजक गोपाल कँडेलले बताउनुभयो।

खाडी तथा मध्यपूर्वी मुलुकमा करिव २० लाख नेपाली रहेको अनुमान गरिएको छ ।

इरान–अमेरिका तनाव युद्धतर्फ मोडिएमा रोजगारका लागि अन्य छिमेकी मुलुकमा पुगेका नेपाली प्रत्यक्ष प्रभावित बन्ने बैदेशिक रोजगार विभागको ठहर छ ।

दुई मुलुकको तनावका कारणले इन्धनको अन्तर्राष्ट्रिय मूल्यसमेत प्रभावित बन्ने र नेपालमा समेत त्यसको असर पर्ने विश्लेषण गर्न थालिएको छ ।