सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, पुस २२, २०७६

नेपाल बाहिरबाट नेपाल भ्रमण वर्षको प्रचार प्रसार गर्ने उदेश्य सहित अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण बर्ष २०२० को बिबिध कार्यक्रम सहित उद्घाटन सम्पन्न भएको छ । ७ जनवरी मंगलबारको दिन बिहान ११ बजे सिड्नीको ब्यापारिक एबं पर्यटकिय केन्द्र ‘सर्कुलर कि’ मा  नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओडिआले संयुक्त रुपमा नेपाल भ्रमण वर्षको शुभारम्भको उद्घाटन गरेका थिए।

बिहानैबाट सिड्नीका विभिन्न स्थानबाट आ-आफ्नो सांस्कृतिक बिबिधता झल्कने पहिरन सहित सर्कुलर कि आइपुगेका नेपाली हरु निकै संयमित भइ कार्यक्रममा सहभागी बनेका थिए । अष्ट्रेलिया यति बेला आगोलागी र डढेलोबाट आक्रान्त बनेको दुखद समयमा उपस्थित मध्येका स्वयंसेवकहरु डढेलो पीडितका लागि सहयोग जुटाउन  स्याल्भेसन आर्मीका चन्दा संकलन कन्टेनरहरु बोकेका थिए भने अन्य स्वयंसेवकहरु ले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरेका थिए । यसै गरि  कार्यक्रममा नेपालका पर्यटनमन्त्री भट्टराईले आफ्नो भ्रमण बर्ष उदघाटन बक्तब्यको सुरु मै अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनता अष्ट्रेलियाको यो दुःखमा साथमा रहेको बताएका थिए । उनले यहाँ भएका आफ्ना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न पनि आग्रह गरेका थिए । न्यु साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओडिआले अष्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताउदै नेपाल भ्रमण बर्ष २०२० को सफलताको कामना गरेका थिए ।

यसै गरि उक्त कार्यक्रममा परेडको कुनै कार्यक्रम नरहेको तर औपचारिक कार्यक्रमको समाप्ति पछि ओपेरा हाउस तिर जान लागेको नेपालीहरु को समुहलाई यति ठुलो संख्यामा एकै चोटि अगाडी बढ्दा पैदल यात्री लाई समेत मर्का पर्ने कारण देखाउदै त्यहाँको सुरक्षामा खटेका सुरक्षाकर्मीले रोकेको कुरालाई अतिरन्जित गरि आएका समाचारहरु प्रति पर्यटनमन्त्री भट्टराईले सामाजिक संजाल मार्फत समेत चासो व्यक्त गरेका छन् ।  पर्यटनमन्त्री भट्टराईले अष्ट्रेलियाको सिड्नीमा नेपाली राजदुतावासको आयोजना तथा एनआरएनए लगायतका संघ संस्थाहरु को  सहयोगमा नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ कार्यक्रम भब्य रुपमा सम्पन्न भएको जानकारी फेसबुक स्टाटसमार्फत दिएका छन् । न्यू साउथ वेल्स स्टेटका सभामुख सहित अष्ट्रेलियाका पक्ष र प्रतिपक्षी दल र नगरपालिकाका प्रतिनिधि सहितको उपस्थितिमा भएको कार्यक्रममा वहाँहरुका तर्फबाट शुभकामना मन्तब्य पनि ब्यक्त भएको थियो । मौन जुलुस मार्फत पर्यटन बर्षको प्रबर्द्धन पनि गरिएको थियो । केही सञ्चारमाध्यममा उक्त कार्यक्रमलाई प्रहरीले रोकेको समाचार प्रकाशित भएपछि मन्त्री भट्टराईले लेखेका छन् – ‘भएको यही हो । काल्पनिक र गलत समाचार सम्प्रेसण गरेर मुलुकको प्रतिष्ठा र मित्र राष्ट्रसँगको सम्बन्धमा किन खेल्न खोजिएको हो ? नियत गम्भीर छ।’