श्रीस्वस्थानी व्रत सुरु

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, पुस २५, २०७६

काठमाडौं – पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा (एक महिना) सम्म विशेष गरी हिन्दू महिलाहरूद्वारा लिइने श्रीस्वस्थानी व्रत र माघस्नान शुक्रबारदेखि सुरु भएको छ ।

सत्य युगमा हिमालयपुत्री पार्वतीले ‘महादेव पति पाऊँ’ भनी सो व्रत बसेकी र उनको इच्छा पूर्ण भएको मान्यतामा आधारित रही श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको हो ।

यो अवधिमा व्रत गर्नाले सुखशान्ति, समृद्धि मिल्नुका साथै सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ । व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको प्रसंग स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघमाहात्म्यमा उल्लेख छ । उक्त पुराणका अनुसार महादेवपत्नी सतीदेवीले बाबुले आफ्ना पति महादेवलाई गाली असह्य भएपछि यज्ञकुण्डमा हाम फाली प्राण त्याग गरेकी थिइन् । पछि हिमालय पर्वत र मेनकाकी पुत्री पार्वतीको रूपमा उनको जन्म भएको र सानैदेखि ‘महादेव पति पाऊँ’ भन्ने कामनासहित व्रत गरेको उल्लेख छ । तर, विवाह गर्ने बेला भएपछि हिमालयले भगवान् विष्णुसँग पार्वतीको विवाह गरिदिने भए ।

त्यसैले पार्वती भागेर एकान्तमा गई महादेवको ध्यान गर्न थालिन् ।  विष्णुुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएका र पार्वतीले विधिपूर्वक एक महिनासम्म सो व्रत गरी महादेव पति पाएको उल्लेख छ । तसर्थ व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएकाले सोही परम्परालाई आधार मानी श्रीस्वस्थानी व्रतकथा लोकचलनमा आएको पण्डित नरनाथ अधिकारी बताउँछन्। श्रीस्वस्थानी व्रत पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने भए पनि व्रत गर्ने पुरुष वा महिलाले अघिल्लै दिन बिहान सबेरै उठी हातखुट्टाका नङ काट्ने, स्नान गर्ने र ‘शुद्ध वस्त्र लगाएर एक छाक सात्विक भोजन गर्ने गर्दछन् ।

व्रत अवधिभर बिहान माघस्नान गरी मध्याह्न कालमा श्रीमहादेवको पूजाआराधना र अघ्र्य दिने चलन छ । त्यस्तै बेलुका प्रत्येक दिन स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार–अगस्त्य संवाद भएको श्रीस्वस्थानी व्रत कथा सुन्ने–सुनाउने गरिन्छ । सो क्रम माघ शुक्ल पूर्णिमाको दिनसम्म गरिन्छ र अन्त्यमा साङ्गे गर्ने चलन रहेको छ । साङ्गेका दिन तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिंग बीचमा स्थापना गरी श्रीस्वस्थानी देवीको पूजा गर्ने चलन रहेको प. अधिकारी बताउँछन्। पूजामा सेलरोटी, सुपारी, फलफूल, बेलीपुष्प, पान, जनाई, अक्षता, आरतीबत्ती, भेटी, जौ, तिल आदि पदार्थ १०८ का दरले चढाई पूजास्थललाई १०८ फेरा नै घुमेर ढोग्नुपर्ने परम्परा रहेको छ ।

अन्त्यमा मनोकामना पूर्ण होस्’ भनुर अघ्र्य दिई ती १०८ प्रसादमध्येबाट ८/८ वटा प्रसाद (आठ रोटी, आठ पान, आठ अक्षता, आठ कुड्का सुपारीआदि सगुनसहित) आफ्ना पतिलाई दिनू, पति नभए पुत्रलाई, पुत्र नभए मीतका छोरालाई, मीतको पनि छोरा नभए आफूले जुन कामना गरी व्रत गरेको हो, त्यो पूरा होस् भनेर जलाशयमा बगाइदिनू, सय/सय भाग प्रसाद आफूले ग्रहण गर्नू र सो दिन रातभर आफन्तजनसहित भजनकीर्तन गर्दै जाग्राम बस्नू भनेर श्रीस्वस्थानी व्रतकथामै उल्लेख गरिएको छ ।

यसरी विधिपूर्वक व्रत गरेमा स्वस्थानी देवीको व्रतप्रभावले बिछोडिएका जोडीको पुनर्मिलन हुने, रुग्ण भए ठीक हुने र बिहे नभएकाले इच्छा गरेअनुरूप पति वा पत्नी पाउने, बिहे भएकाले सौभाग्य प्राप्त गर्ने, विधवा वा विधुर भइसकेकाले अर्को जन्ममा दाम्पत्य जीवनको सुखभोग प्राप्त गर्न पाउने स्वस्थानी महात्म्यमा बताइएको छ । स्वस्थानी कथामै व्रतपछि बिछोडिएका नाग–नागिनीको पुनर्मिलन भएको, चन्द्रावतीले अहंकार गरी स्वस्थानीको प्रसादको अपमान गरेकी र कुष्ठरोगले पीडित भएकी अनि स्वस्थानी व्रतकै प्रभावले उनको र नवराजको पुनर्मिलन भएको उल्लेख छ ।

त्यस्तै गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार स्वस्थानी व्रत गर्दा छोरा नवराज फर्किएर आएका, उनी लावण्य देश (हालको साँखु क्षेत्र) को राजा भएको कथासमेत वर्णन गरिएको छ । उक्त अवधिमा काठमाडौंको साँखुस्थित शालीनदीपरिसरमा माघस्नानसहित माधवनारायण मेला लाग्ने गरेको छ। साथै पशुपति क्षेत्रअन्तर्गत गौरीघाट, गुह्येश्वरी र सतीदेवीका अंग पतन भएका विभिन्न शक्तिपीठका साथै महादेव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

मृगस्थली, शालीनदी, लावण्यदेशलगायत स्थल व्रतकथामा उल्लेख गरिएको र विषयवस्तु तथा घटना पनि नेपालकै सेरोफेरोमा घटेको भनी स्कन्द पुराणमा उल्लेख छ । माघ महिनाभर शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरे अनन्य पुण्य मिल्ने धार्मिक विश्वास छ । माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शास्त्रोक्त मन्त्रोच्चारण गरी नित्यपूजा गर्नुपर्ने परम्परा रहेको छ ।