प्रदेश ३ को नाम अब बाग्मती प्रदेश

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, पुस २७, २०७६

काठमाडौं- अन्ततः करिव दुई वर्षपछि प्रदेश(३ को नाम र राजधानी टुंगो लागेको छ ।  आज बसेको प्रदेश सभा बैठकले नाम र राजधानीको टुंगो लगाएको हो । प्रदेश सभाले प्रदेशको नाम बाग्मती राख्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ भने राजधानी हेटौंडा राख्ने विषय दुई तिहाइले पारित गरेको हो ।

११० सदस्य रहेको प्रदेश सभामा मतदानमा १०८ सदस्य सहभागी भएका थिए । प्रदेशको नाम बाग्मती राख्ने विषयमा १०८ मतदान भएको प्रदेश-३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

तर, राजधानी हेटौंडाका पक्षमा भने १०५ मत परेको थियो । राजधानी धुलिखेल राख्ने प्रस्तावमा एक स्वतन्त्रसहित तीन सांसदले मतदान गरेका थिए ।

प्रदेश–३ का सभामुख श्रेष्ठले राजधानी हेटौंडा कायम होस् भन्ने प्रस्तावको पक्षमा १०५ मत खसेकाले दुई तिहाइ मतले पारित भएको घोषणा गरे ।

नेकपा, कांग्रेस, राप्रपा, राप्रपा संयुक्तले राजधानी हेटौंडा र नाम बाग्मती राख्ने संयुक्त प्रस्ताव पेश गरेपछि निर्णयका लागि मतदान गरिएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नाम बाग्मती राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।

यसअघि १३ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश–३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्न प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको थियो । केन्द्रको निर्णय अनुरूप नेकपा प्रदेश–३ संसदीय दलको बैठकले त्यसैलाई निर्णय गरेको थियो ।

सात प्रदेशमध्ये अब प्रदेश १,२ र ५ ले नाम र राजधानी टुंग्गाउन बाँकी छ ।