आईजीपी खनालको आजबाट पदावधि सकियो, ज्ञवाली नयाँ आईजीपी !

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, माघ २८, २०७६

काठमाडौं-  सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी)  ठाकुर ज्ञवालीलाई नयाँ महानिरीक्षक (आईजीपी)  बनाउने भएको छ ।

मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नै आईजीपी बनाउने गरी तयारी थालेको स्रोतले जानकारी दिएको छ । उनी आईजीपी भए पाँच महिना सो पदमा रहनेछन् ।

आईजीपी सर्वेन्द्र खनालले मंगलबारदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश पाउँदै छन् । आजबाट आइजीपी खनाल, तीनजना एआइजी र १८ जना डिआइजीले एकै साथ अवकाश पाएका छन् ।

अबको नयाँ महानिरीक्षक डिआइजीबाट सिधै हुनेछ । महानिरीक्षक खनाल अवकाशमा जाने भएपछि नयाँ आइजीपीका लागि दौडधुप भइरहेको छ । २७ औँ प्रहरी महानिरीक्षकका लागि प्रदेश १ का डिआइजी ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका डिआइजी तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका डिआइजी सूर्यप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा छ ।

आईजीपी नियुक्त गर्ने विषयमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाबीच सोमबार छलफल भएको थियो ।