कोरोना भाइरस : मृतकको संख्या १४ हजार ६ सय

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, चैत्र १०, २०७६

काठमाडौं- विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या साढे १४ हजार नाघेको छ।

सोमबार बिहान साढे सात बजेसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १४ हजार ६ सय ४१ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

कोरोना भाइसका कारण इटालीमा गएको २४ घन्टामा ६ सय ५१ जनाको मृत्यु भएको छ। कोरोना भाइरसको उद्गम थलो चीनमा गएको २४ घन्टामा यसको संक्रमणबाट ९ जनाले ज्यान गुमाए
अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५४ सय ७६ पुगेको छ। त्यहाँ ५९ हजार १ सय ३८ जना संक्रमित उपचारको क्रममा छन्।

अहिलेसम्म विश्वका १८८ देशमा कोरोना संक्रमण फैलिइसकेको छ। विश्वका ३ लाख ३६ हजार ८ सय ३८ जनामा यसको संक्रमण पुष्टी भएको छ। ९७ हजार ६ सय ३६ जना भने उपचार पछि निको भएका छन्।

गएको २४ घन्टामा स्पेनमा ३७५, अमेरिकामा ११७, इरानमा १२९, फ्रान्समा ११२, युकेमा ४८, नेदरल्याण्डमा ४३, स्वीटजरल्यान्डमा १८, इन्डोनेसियामा १०, भारतमा २ जनाले ज्यान गुमाएका छन्।

हिजो थप दुईको मृत्यु भएपछि भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। त्यहाँ ३ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ।