सङ्क्रमित भेटिएपछि सरकार थप रणनीतिमा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, चैत्र १२, २०७६
काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड–१९ पोजिटिभ देखिएपछि थप रणनीति अपनाउने भएको छ ।
कोरोना भाइरसको नमूना परीक्षणका क्रममा विदेशबाट आएकामा पोजिटिभ देखिएपछि थप रणनीति अपनाउन लागिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले अपनाइएको रणनीतिलाई थप मजबुत बनाउँदै लगिने बताउनुभयो ।
आज खाडी मुलुकबाट आएका एक जनामा नमूना परीक्षणका क्रममा कोभिड–१९ पोजिटिभ देखिएको हो ।
यसअघि फ्रान्सबाट कतार हुँदै आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजिटिभ देखिएको हो । उनीहरु दुवैको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।
यसअघि चीनबाट आएका एक जनामा सङ्क्रमण देखिए पनि उपचारपछि निको भएको थियो ।
‘‘हिजोसम्म एउटा मात्र केस थियो । उहाँलाई हामीले निको बनाएर पठाएका थियौँ तर अहिले लगातार थप दुई वटा केस देखिन थालेपछि अब हामीले केही रणनीति बनाउनुपर्ने हुन्छ’, डा. देवकोटाले भन्नुभयो ।
उहाँका अनुसार पहिलो रणनीतिमा अहिले बाहिरबाट मानिसलाई अत्यन्त व्यवस्थित गरेर होम क्वारेन्टाइनमा राख्ने र त्यसबाट अरुलाई सार्न नदिने तथा क्वारेन्टाइनमा बसेकालाई केही समस्या परेमा तिनको उपचार सरकारले गर्छ ।
उहाँले विदेशबाट आएका सबैको परीक्षण गर्न जरुरी छैन भन्दै सबै आ-आफ्ना घरमा बसे भने सङ्क्रमण फैलिन नपाउने बताउनुभयो ।
‘विदेशबाट आएका सबै न सङ्क्रमित हुनुहुन्छ न त नमूना परीक्षण जरुरी रहेको छ । उनीहरु आफ्नै घरमा एक्लै बसून् भनेर लकडाउन गरिएको हो’, उहाँले भन्नुभयो- ‘विदेशबाट आएकाको लक्षण देखियो भने आइसोलेशनमा राखेर परीक्षण गर्ने हो ।’
उहाँले अझै पनि कोभिड–१९ पोजिटिभ देखिन सक्ने बताउनुभयो । ‘कोभिड–१९ पोजिटिभ  देखिन सक्छ भनेर नै हामी तयारी अवस्थामा बस्नका लागि लकडाउन गरिएको हो । देखिएकोलाई सरकारले उपचार गर्ने र बाँकी घर-घरमा बस्ने हो ’, उहाँले भन्नुभयो ।
कोभिड–१९ पोजिटिभ बढ्दै गए भने अस्पतालमा तयारीलाई तीव्रता दिइने बताउँदै डा. देवकोटाले अस्पतालमा सघन उपचार कक्ष थप गरेर सङ्क्रमितको उपचार गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा थप १० सघन उपचार कक्ष निर्माण शुरु गरिएको छ ।
यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको एउटा भवनमा र बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताललाई पनि छुट्टै कोरोनाका बिरामी राख्नका लागि अस्पताल बनाउन थालिएकाले अहिले देखिएका समस्या समाधान गर्न सकिने उहाँको भनाइ थियो ।
उहाँका अनुसार अहिलेको शुक्रराज अस्पतालमा एक हप्तामा चार हजार जनाको नमूना परीक्षण गर्न सक्ने क्षमता छ ।
सरकारले खरिपाटीमा एक हजार शय्या निर्माण गर्ने निर्णयको कार्यान्वयन हुँदैछ ।
निजी अस्पताल पनि छुट्टै भवन दिन सक्ने बनाउन मन्त्रालयले चिठी पठाएकाले बिरामी राख्न समस्या नहुने उहाँको भनाइ थियो ।
रोकथाममा चुनौती मन्त्रालयका प्रवक्ता डा. देवकोटाले कोरोना भाइरस रोकथाम गर्न केही चुनौतीसमेत रहेको बताउनुभयो ।
कतिपय अस्पतालले बिरामीको नमूना नै परीक्षण नगरी फर्काउने (रिफर) गर्ने गरेकाले केही चुनौती थपिएको उहाँको धारणा थियो ।
‘यदि सम्भावित सङ्क्रमित हो भने आइसोलेशनमा राख्नुपर्छ’, उहाँले भन्नुभयो,- ‘ तर अस्पतालले आइसोलेशनमा नराखेर रिफर गर्ने गरेका छन् । त्यस्तो गर्न मिल्दैन । अस्पतालको आफ्नै आइसोलेशन वार्डमा त्यस्ता सङ्क्रमितलाई राख्नुपर्छ ।’
विश्वव्यापी सामग्रीको सङ्कट भएका बेला व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) केही अस्पतालले  बनाइरहेको समेत उहाँले जानकारी दिँदै लुकाइएका सामग्री आफूहरुले खोजी गरिहेको बताउनुभो ।
‘जे जति छ, त्यो हामीलाई दिनुहोस् । लुकाउन पाइँदैन’, उहाँले भन्नुभयो- ‘लुकाएको थाहा पाए हामी खोज्छाँ।’
उहाँले अपुग सामग्री चीनबाट ल्याउने प्रक्रिया रहेको पनि जानकारी दिनुभयो ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट उत्पन्न भएको कोभिड–१९ अहिले विश्वभरि नै महामारीका रुपमा फैलिएको छ । अहिलेसम्म स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा ६८७ जनाको कोभिड–१९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ तथा तीन जनामा पोजिटिभ देखिएको छ ।